अर्थ

मिठाइमा प्रतिबन्धित रसायन

काठमाडौं – मानव स्वास्थ्यलाई असर गर्ने अखाद्य रसायनको प्रयोग गरेको भन्दै चल्तीका मिठाइ पसललाई कारबाही गरे पनि त्यसको प्रयोग बन्द नभएको पाइएको छ । सरकारको कारबाही खुकुलो हुँदा अखाद्य वस्तुको प्रयोग निरन्तर भएको पाइएको हो। 

त्यसको पछिल्लो उदाहरण काठमाडौं, बानेश्वरस्थित चल्तीको संगम स्विट्स एन्ड स्न्याक्स हो । सरकारले मंगलबार उक्त पसल र कारखानाको अनुगमन गर्दा मानव स्वास्थ्यलाई गम्भीर असर गर्ने हाइड्रो नामको रसायन प्रयोग भएको पाइएको छ । मिठाइ राम्रो र चम्किलो देखाउन संगमले उक्त रसायन प्रयोग गरेको भेटिएको छ। 

मानव स्वास्थ्यलाई हानिकारक भन्दै प्रतिबन्ध लगाइएको हाइड्रो रसायन मिठाइमा प्रयोग भएको पाइएपछि सरकारले संगम स्विट्समा सिलबन्दी गरेर उत्पादन रोक्का गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मंगलबार संगम स्विट्स पसल र कारखाना अनुगमन गर्दा हाइड्रो रसायनसहित अखाद्य वस्तु प्रयोग भएको भेटेको हो । उक्त मिठाइ पसलले खाद्य उत्पादनको न्यूनतम मापदण्ड पूरा नगरेको र अखाद्य वस्तु प्रयोग भएको पाइएकाले सिलबन्दी गरिएको विभागका महानिर्देशक संजीवकुमार कर्णले बताए। 

‘संगम स्विट्सको कारखाना अनुगमन गर्दा मिठाइमा हाइड्रो रसायन प्रयोग भएको भेटियो,’ विभागका महानिर्देशक कर्णले नागरिकसँग भने, ‘कारखानामा अखाद्य वस्तु प्रयोग भएको भेटिएपछि उक्त पसल बन्द गराएका छौं।’

उपभोक्ता संघ, जिल्ला प्रशासन कार्यालय र विभागका प्रतिनिधिसहितका टोलीले संगम स्विट्सको बानेश्वर पसलमा अनुगमन गरेको थियो । पसलको अनुगमन गर्दा पसल सफा नभएको, अखाद्य वस्तु प्रयोग भएको, म्याद नाघेका खाद्यान्न प्रयोग भएको पाइएको थियो । पसल अनुगमन गर्दा शंकास्पद वस्तु भेटिएपछि मिलन चोकमा रहेको उक्त पसलको कारखानामा अनुगमन गर्न गएको महानिर्देशक कर्णले बताए । कारखानाको अनुगमन गर्दा हाइड्रो रसायन प्रयोग भएको पाइएको थियो। 

हाइड्रो रसायन मिठाइलाई सफा र चम्किलो बनाउन प्रयोग हुने कर्णले बताए । यसको प्रयोगले मिठाइमा चिनीको मात्रा देखिँदैन भने सफा देखिन्छ । यो रसायन मिठाइको लागि बनाइएको चास्नीमा प्रयोग गरिन्छ । यो रसायन प्रयोग गर्दा चिनीबाट बनाइने चास्नीमा चिनीको मात्रा हटाएर चास्नीलाई सफा बनाउने कर्णले बताए । हाइड्रो प्रतिबन्धित रसायनमध्ये पर्छ । मानव स्वास्थ्यमा नकारात्मक असर पर्ने भएकाले यो रसायनको प्रयोगलाई प्रतिबन्ध लगाइएको महानिर्देशक कर्णले बताए।

उक्त कारखाना र गोदाममा म्याद नाघेका ६ वर्ष पुराना डेसिकेटेड कोकोनट पाउडर समेत भेटिएको थियो । कारखानामा मिठाइ बनाउने तेल पनि सफा र शुद्ध नभएको पाइएको छ । एकपटक प्रयोग गरेको तेललाई कैयैं दिनसम्म निरन्तर प्रयोग गरेर कालो भएको अवस्थामा भेटिएको थियो । मिठाइ बनाउन प्रयोग भइरहेको फ्राई आयल र घिउ पोलारिमिटरले परीक्षण गर्दा पोला भ्यालु उच्च पाइएको थियो। 

गुणस्तर मापदण्ड अनुरुप नपाइएका घिउ तथा तेल नष्ट गरिएको र म्याद नाघेका १३ प्याकेट डेसिकेटेड कोकोनट पाउडर जफत गरिएको विभागले जनाएको छ ।  कारखानाको अनुगमन गर्दा उत्पादनस्थलको भुइँको टायल फुटेको, फोहर जमेको, पानी निकास राम्रो नभएको पाइएको थियो। 

उक्त मिठाइ पसललाई खाद्य ऐन बमोजिम कारबाही गरिने कर्णले बताए । खाद्य ऐन बमोजिम मुद्दा दायर गरिने र कारखानालाई सुधार गरेर सञ्चालन गर्ने वातावरण बनाएमा अवस्था हेरेर खोलिने उनले जानकारी गराए। 

पछिल्लो समयमा अखाद्य वस्तु र रसायन प्रयोग घट्दै गएको कर्णको दाबी छ । उनका अनुसार केही समयअघि हाइड्रो रसायनको प्रयोग अत्याधिक थियो । सरकारले जनचेतना जगाउने र प्रयोग गर्नेलाई कारबाही सुरु गरेपछि यसको प्रयोग कम भएको कर्णले बताए। 

‘कतिपयले नजानेर प्रयोग गरिरहेको छन् भने कतिपयले जानीजानी प्रयोग गरेको पाइएको छ,’ कर्णले भने, ‘संगम धेरै वर्ष पुरानो पसल भएकाले यसले जानीजानी प्रयोग गरेको देखिन्छ ।’ अखाद्य रङको प्रयोग कम हुँदै गए पनि कतिपयले फाट्टफुट्ट प्रयोग गरिरहेको उनले बताए । गत आर्थिक वर्षमा विभागले अनुगमन गरिएको मध्ये कैफियत भेटिएका दुई सय ३४ विरुद्ध मुद्दा दायर गरिएको कर्णले बताए। 

 

प्रकाशित: १७ आश्विन २०७५ ०५:२३ बुधबार

संगम_स्विट्स अखाद्य_रसायन सिलबन्दी