अर्थ

माथिल्लो मैलुङ दसैंपछि निर्माण सुरु हुने

रसुवा – रसुवाको उत्तरगया गाउँपालिका–१ मा निर्माण हुन लागेको माथिल्लो मैलुङ जलविद्युत् आयोजनाको निर्माण कार्य दसैंपछि सुरु हुने भएको छ । आयोजना निर्माणका लागि अहिले आयोजनास्थलसम्म सडक खन्ने काम भइरहेको छ । त्रिशुली खोला र मैलुङ खोलाको दोभानदेखि रहरेखर्कसम्म सडक निर्माण भइरहेको आयोजनाले जनाएको छ । आयोजना स्थलमा जानका लागि ७ किलोमिटर सडक खन्नुपर्ने आयोजनाका इन्जिनियर किशोर गौतमले बताए। 

‘आयोजना स्थलसम्म सडक खन्ने काम गरिरहेका छौं,’इन्जिनियर गौतमले भने, दसैंलगत्तै सिभिलतर्फको कामका लागि ठेक्का प्रक्रियामा जान्छौं ।’ सिभिलको काम सुरु भएको करिब १० महिनापछि हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकलको काम सुरु हुनेछ। 

आयोजनाले दिएको जानकारी अनुसार एक हजार आठ सय ५५ मिटर मुुख्य सुरुङ निर्माण हुनेछ । एक हजार मिटर पेनस्टक निर्माण हुने आयोजनाले जानकारी दिएको छ । सिभिलतर्फको काम २०७७ असारभित्र सम्पन्न हुने बताइएको छ । १४.३ मेगावाट क्षमताको आयोजनाले २०७८असारमा विद्युत् उत्पादन सुरु गर्नेछ। 

उत्पादन भएको विद्युत् नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको थ्रिबी हवमा जोडिनेछ । त्यहाँसम्म आयोजना आफैंले प्रसारण लाइन निर्माण गर्नुपर्ने हुन्छ । थ्रिबी हबसम्म आयोजनाले करिब १५ किलोमिटर लामो प्रसारण लाइन निर्माण गर्नुपर्ने उनले बताए।

निर्माण पूरा भएपछि आयोजनाले वार्षिक रूपमा सात करोड ९६ लाख ७० हजार चार सय ८३ किलोवाट घन्टा विद्युत् उत्पादन गर्नेछ । २५ प्रतिशत स्वपुँजी लगानी हुने छ । सानिमा हाइड्रो समूहको मुख्य लगानीमा आयोजना निर्माण हुन लागेको हो। 

यो आयोजना निर्माणका लागि करिब एक अर्ब ८७ करोड ५० लाख लाग्ने आयोजनाले जनाएको छ । आयोजना निर्माणका लागि २०६८ भदौ २३ गते पिपिए भएको थियो । मोनलिया पावर लिमिटेडले निर्माणको जिम्मा लिएको थियो । यो कम्पनीले पछि सानिमा हाइड्रो समूहलाई नामसारी गरेको हो। 

२०७२ साउन १ गते निर्माण सम्पन्न गर्ने गरी मोनलियाले प्रक्रिया अघि बढाएको थियो । तोकिएको समयमा निर्माण कार्य सुरु नभए पछि सानिमाले निर्माण गर्न लागेको हो । आयोजना निर्माणका लागि सिद्धार्थ बैंक लिमिटेडको अगुवाइमा नेपाल एसबिआई बैंकले ऋण लगानी गरेको छ।

 

प्रकाशित: १७ आश्विन २०७५ ०५:०५ बुधबार

माथिल्लो_मैलुङ_जलविद्युत्_आयोजना रसुवा