अर्थ

हुवावे विश्वस्तरको ब्रान्ड बन्ने तयारीमा

सेनजेन (चीन) - तीन दशकअघि चीनमा स्थापना भएको हुवावे टेक्नोलोजी कम्पनी अहिले विश्वस्तरकोे ब्रान्ड बन्ने तयारीमा जुटेको छ।

सन् १९८७ मा चीनको सेनजेन सहरमा एक पूर्वसुरक्षा अधिकारीको एकल प्रयासमा खोलिएको यो कम्पनी अहिले एक सय ७० भन्दा धेरै मुलुक र क्षेत्रहरुमा पुगिसकेको छ। अहिले हुवावे संसारकै सबैभन्दा ठूलो दूरसञ्चरका उपकरण आपूर्ति गर्ने कम्पनी बनिसकेको छ। नेपालको सरकारी स्वामित्वको नेपाल टेलिकमले पनि कतिपय उपकरणहरु हुवावेकै लिने गरेको छ। निजी क्षेत्रको अर्को प्रमुख दूरसञ्चार कम्पनी एनसेलले पनि हुवावेको उपकरण र प्रविधि प्रयोगमा ल्याएको छ।

दूरसञ्चारको उपकरण मात्र होइन राजस्वका क्षेत्रमा पनि यो संसारका ठूला कम्पनीमध्येमा परेको छ। कम्पनीका अनुसार गत आर्थिक वर्ष (१०१७ ) सम्ममा यो कम्पनीमा प्रत्यक्ष रुपमा एक लाख ८० हजार कर्मचारीले काम गरिरहेका छन् । कम्पनीको राजस्व ९२ अर्ब र खुद नाफा सात अर्ब अमेरिकी डलर बराबर छ।

हुवावे कन्जुमर बिजनेस ग्रुपको ग्लोबल प्रडक्ट मार्केटिङ प्रमुख क्लेमेन्ट वोङका अनुसार कम्पनीले विशेष गरी चारवटा क्षेत्रमा काम गरिरहेको छ । उनका अनुसार पछिल्लो समयमा कम्पनीले टेलिकम नेटवर्क, आइटी, स्मार्ट डिभाइस र स्याटेलाइट सेवाका क्षेत्रमा अनुसन्धान गर्ने, उच्च स्तरीय तथा गुणस्तरीय उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ।

‘प्रत्येक व्यक्ति, घर र संस्थालाई एक आपसमा डिजिटल प्रविधिले जोडेर विश्वलाई नै अब्बल बनाउने कम्पनीको प्रमुख उद्देश्य हो,’ प्रमुख वोङले गत साता चीनको सेन्जेनमा नेपाली सञ्चारकर्मीहरुसँग भने, ‘यही उद्देश्य पूरा गर्न कम्पनीले अर्बौं रुपैयाँ अनुसन्धान र उत्पादनमा लगानी गरिरहेको छ।’

हुवावेले दूरसञ्चारको क्षेत्रमा आफ्नो २० वर्षे अनुभव प्रयोग गर्दै ‘हुवावे क्लाउड’ सर्भिसका नामबाट स्याटेलाइट सेवा पनि सुरु गरेको छ। वोङका अनुसार गत जुलाई २०१८ मा मात्र कम्पनीले एक सय २० स्याटेलाइट सार्वजनिक गरिसकेको छ।

स्याटेलाइट सेवाले साना तथा मझौला व्यवसायीदेखि ठूला व्यावसायिक घरानाहरुलाई आफ्ना व्यवसाय विस्तार गर्न र आइपर्ने समस्या समाधान गर्न सहयोग पु¥याइरहेको हङको दाबी छ। ‘उद्योग, इ–कमर्स, गेमिङ, इन्टरनेटजस्ता दुई सयभन्दा बढी क्षेत्रमा स्याटेलाइट सेवाले सहयोग गरेको छ,’ वोङले भने। उनका अनुसार स्याटेलाइट सेवाका २० भन्दा बढी विश्वव्यापी पार्टनर छन् भने एक सयभन्दा बढी देश वा क्षेत्रमा सेवा पुगेको छ। 

हुवावेले आफ्ना उत्पादन तथा सेवालाई उच्च गुणस्तरीय बनाउन विश्वका विभिन्न क्षेत्रमा अनुसन्धान केन्द्र स्थापना गरेर काम गरिरहेको छ । कतिपय विश्वका प्रतिष्ठित अनुसन्धान केन्द्रहरुसँग मिलेर काम गर्दै आएको छ । कम्पनीका अनुसार चीनमा मात्र चार स्थानमा अनुसन्धान तथा विकास केन्द्रहरु स्थापना गरिएका छन् । यस्तै विश्वका अन्य स्थानमध्ये अमेरिकाको सिल्कन भ्याली, सियटल र बोस्टनमा पनि यस्ता केन्द्र खोलिएका छन् । अमेरिकाबाहेक क्यानडा, जर्मनी, फ्रान्स, रसिया र भारतमा पनि हुवावेले अनुसन्धान तथा विकास केन्द्र स्थापना गरेको छ । हुवावेले अहिले ३६ ‘ज्याइन्ट इन्नोभेसन सेन्टर’ र १४ वटा अनुसन्धान तथा विकास केन्द्र स्थापना गरेर काम गरिरहेको छ। 

ग्लोबल प्रडक्ट मार्केटिङ प्रमुख वोङका अनुसार हुवावेको अहिले एक सय ७० मुलुकमा नेटवर्क पुगिसकेको छ । यस्तै एक हजार पाँच सय नेटवर्क तयार गरिएको छ । ‘विश्वको जनसंख्याको एक तिहाइ हुवावे नेटवर्कबाट जोडिएको छ,’ वोङको दाबी छ । हुवावेसँग अहिलेसम्म संस्था, उद्योग, समुदायलगायत गरी तीन सय ६० भन्दा बढी सक्रिय सदस्य छन्।

हुवावेले उपभोक्ता र व्यवसायी दुवैका लागि उत्पादनहरु बजारमा ल्याएको छ । उपभोक्ताका लागि स्मार्टफोन, कम्प्युटर र ट्याब्लेट, घडी, मोबाइल ब्रोडब्यान्ड लगायत छन् भने व्यापार व्यवसायका लागि पनि अन्य विभिन्न उपकरण उत्पादन गर्दै आएको छ।  

दूरसञ्चार उपकरण उत्पादनका साथै नेटवर्किङ र स्याटेलाइट  सेवा बेचिरहेको हुवावेले पछिल्लो समय बजार र उपभोक्ताको माग अनुसार स्मार्टफोन पनि उत्पादन र बिक्री वितरण गरिरहेको छ । हुवावेले पी २०, नोभा, मेट, पी १० र वाई सिरिजमा विभिन्न किसिमका स्मार्टफोन उत्पादन र बिक्री–वितरण गर्दै आएको हो । पी २० सिरिजमध्येका केही उत्पादन नेपाली बजारमा अहिलेसम्म आइसकेका छैनन्।

प्रकाशित: १६ आश्विन २०७५ ०६:३५ मंगलबार

चीन हुवावे_टेक्नोलोजी