काठमाडौं – राष्ट्रिय अपांग महासंघ नेपालले चन्द्रागिरि हिल्स लिमिटेडलाई पहुँचयुक्ततातर्फको ‘इनोभेटिभ अवार्ड’ प्रदान गरेको छ। आइतबार आयोजित कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले उक्त अवार्ड वितरण गरिन्। चन्द्रागिरि हिल्सका महाप्रबन्धक अभिषेकविक्रम शाहले अवार्ड ग्रहण गरेका थिए।
काठमाडौंको दक्षिण–पश्चिममा अवस्थित चन्द्रागिरिमा निर्माण भएको एकीकृत पर्यटकीय गन्तव्य चन्द्रागिरि हिल्स परिसरका मुख्य संरचना अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा बालबालिकामैत्री बनाइएको छ। पहुँचयुक्तता प्रवद्र्धन गर्ने -याम्प, पदमार्ग, शौचालय, विद्युतीय गाडी तथा ह्विलचियर लगायत सुविधाले पर्यटक तथा तीर्थयात्रीलाई ऐतिहासिक दर्शनीय तथा रमणीय स्थल भ्रमण गर्न सहज बनाएको छ । नेपालको पर्यटन प्रवद्र्धनमा यस्तो इनोभेटिभ कार्य गरेबापत चन्द्रागिरि हिल्सलाई अवार्ड प्रदान गरिएको महासंघले जानकारी दिएको छ। महासंघले पहिलोपटक यो अवार्ड प्रदान गरेको हो । चन्द्रागिरि हिल्ससँगै अन्य तीन संस्थालाई पनि सम्मान गरिएको थियो।
मन्त्री थापाले अपांगतामैत्री संरचना निर्माणमा चन्द्रागिरि एउटा नमूना परियोजना भएको बताइन्। कम्पनीका महाप्रबन्धक शाहले चन्द्रागिरि परिसरमा निर्माणाधीन रिसोर्टमा समेत अपांगतामैत्री संरचना निर्माण गरिएको जानकारी दिए। यसबाट फरक क्षमता भएका व्यक्तिका लागिसमेत चन्द्रागिरि रोजाइमा पर्ने विश्वास व्यक्त गरे।
कम्पनीले चन्द्रागिरि डाँडामा भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यूटावर, चिल्ड्रेन पार्क र सेमिनार हललगायतका पूर्वाधार निर्माण गरी एकीकृत पर्यटकीय गन्तव्यको रुपमा सञ्चालन गरिरहेको छ।
प्रकाशित: १५ आश्विन २०७५ ०५:४९ सोमबार