अर्थ

लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था २० वर्षमा

काठमाडौं  – लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड २० वर्षमा प्रवेश गरेको छ।

उक्त अवसरमा आयोजित कार्यक्रममा संस्थाका प्रमुख कार्याकारी निर्देशक सुरेन्द्र भण्डारीले आर्थिक विकासको मेरुदण्ड मानिएको सहकारी क्षेत्रको समग्र विकास गर्न संस्थाले थप नयाँ योजना अघि बढाउँदै  लैजाने बताए।

ललितपुरको चापागाउँ, काठमाडौंको चाबहिल र भक्तपुरको कौशलटार गरी ३ ठाउँमा  सदस्य सुविधा काउन्टर सञ्चालन गरेको संस्थाले हालसम्म तीन सयलाई रोजगारी दिएको उनले बताए।

डिभिजन सहकारी कार्यालय ललितपुरमा २०५६ साल भदौ १८ गते  दर्ता भई २०५६ साल असोज १५ गतेबाट कारोबार सुरु गरेको संस्थाले सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा संस्थाको मुख्य लगानीमा सञ्चालित लालीगुराँस राष्ट्रिय उच्च मावि÷कलेज प्रालिमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको जनाएको छ।

त्यसैगरी, संस्थाको मुख्य लगानीमा सञ्चालित लालीगुराँस हस्पिटल प्रालिले  प्रत्येक महिना निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने गरेको छ। संस्थाले बहुउद्देश्यीय लगानीअन्तर्गत स्वास्थ्य क्षेत्रतर्फ ललितपुर, ताल्छिलेखमा लालीगुराँस हस्पिटल प्रालि, शिक्षातर्फ काठमाडौं, नयाँ बानेश्वरमा लालीगुराँस राष्ट्रिय उच्च मावि÷कलेज प्रालि, ऊर्जा क्षेत्रतर्फ सिन्धुपाल्चोकको लार्चामा भैरवकुण्ड हाइड्रोपावर लिमिटेड, डेरी परियोजनातर्फ चितवन खैरहनीमा श्री लालीगुराँस डेरी फार्म एन्ड रिसर्च सेन्टर तथा अन्य क्षेत्रतर्फ जय लालीगुराँस इन्भेस्टमेन्ट ट्रेडिङ कम्पनी लगायत अन्य विभिन्न संघ–संस्था तथा कम्पनीमा लगानी गरेको जनाएको छ।

कायकारी निर्देशक भण्डारीले हाल तीन स्थानमा रहेको सदस्य सुविधा काउन्टरलाई विस्तार गरी विभिन्न जिल्ला र राजधानीको अन्य केही स्थानमा पु-याउने तयारी भइरहेको जानकारी दिए। संस्थाले भविष्यमा डेरी उद्योग सञ्चालन गर्ने तयारी गरेको छ । संस्थाले कर्मचारीको क्षमता बढाउन तालिम पनि सञ्चालन गर्दै आएकोे जनाएको छ।

प्रकाशित: १५ आश्विन २०७५ ०५:३९ सोमबार

लालीगुराँस_बहुउद्देश्यीय_सहकारी