काठमाडौं – रिलिजको संघारमा रहेको फिल्म ‘छक्का पञ्जा ३ का’ कलाकार दीपकराज गिरी र निर्देशक दीपाश्री निरौलाले शनिबार रोबोटबाट सेवा दिने केकेएफसी नामको रेस्टुरेन्टको दोस्रो आउटलेट उद्घाटन गरेका छन्। नेपालमै रोबोटले सेवा दिने पहिलो रेस्टुरेन्टको रुपमा केकेएफसीको पहिलो ब्रान्च पिपुल्स प्लाजामा एक वर्षअघि खुलेको थियो। दोस्रो ब्रान्च मैतिदेवीमा उद्घाटन गरिएको हो।
सो रेस्टुरेन्टमा रोबोटले खानाको अर्डर लिने र रोबोटले नै टेबुलमा ल्याएर दिने गरेको छ। विगत एक दशकदेखि रेस्टुरेन्ट व्यवसायमा संलग्न चन्दनकुमार र रन्जित शाहले सञ्चालन गरेको केकेएफसी रेस्टुरेन्टले फास्ट फुड कुजिनअन्तर्गत क्रिस्पी फ्राइड चिकेन, ग्रिल्ड चिकेन, बर्गर र हटडग लगायत परिकार पस्किँदै आएको छ।
साहका तीन दाजुभाइको संयुक्त प्रयासले रोबोट प्रविधि जडित रेस्टुरेन्टलाई नेपालमा सम्भव तुल्याएको हो। अन्य मुलुकमा रोबोट प्रविधि जडित रेस्टुरेन्ट सञ्चालनमा आइसके पनि नेपालमा केकेएफसीले पहिलो पल्ट ल्याएको हो।
ग्राहकलाई छिटो र छरितो सेवा दिन सकियोस् र नयाँ अनुभव पनि हासिल होस् भन्ने उद्देश्यले रोबोट जडित रेस्टुरेन्ट सञ्चालनमा ल्याएको चन्दनले बताए। शाहले दसैंअघि नै सिभिल मलमा तेस्रो आउटलेट खोल्ने तयारी रहेको जनाएका छन्।
प्रकाशित: १४ आश्विन २०७५ ०५:५६ आइतबार