अर्थ

विरूवा राेप्दै मुख्यमन्त्रीले भने : निजगढ विमानस्थलको डिपिआर नबनेसम्म रुख काट्न दिन्नौं

वीरगन्ज– प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बारामा प्रस्तावित दोस्रो विमानस्थलको ‘डीपीआर’ (डिटेल प्रोजेक्ट रिपोर्ट) अर्थात बिस्तृत योजना प्रतिवेदन बनाएर मात्र रुखहरु कटान गर्नुपर्ने बताएका छन्। प्रदेश सरकारको योजना अनुसार ‘हरित प्रदेश अभियान’ शुभारम्भ गर्दै शुक्रबार बिहान पर्साको पर्सागढी नगरपालिकास्थित सबैया बनमा बृक्षारोपणको क्रममा मुख्यमन्त्री राउतले यस्तो बताएका हुन्। 

अभियान शुभारम्भ गर्नका निम्ति राखिएको समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले ‘डिपिआर’ नबनेसम्म रुख काट्न नमिल्ने बताए। प्रदेश २ मा पर्ने राष्ट्रिय बनको जग्ग्गा रुख फडानीपछि अतिक्रमणमा पर्ने जोखिम उनले औंल्याए। यसअघि राष्ट्रिय महत्वका भनिएका विभिन्न योजनाहरुमा भएको ढिलाईको प्रसंग जोड्दै मुख्यमन्त्री राउतले ‘डिपिआर’ नबनाई जंगल फडानी गरेमा भुमाफियाले चलखेल गर्ने बताए। ‘प्रस्तावित विमानस्थलको डिपिआर नबनाई रुख कटान गर्न खोजियो भने प्रदेश सरकारले त्यो गर्नदिँदैन’, मुख्यमन्त्री राउतले भने, ‘डीपीआर बनेकै छैन, रुख कटान गर्न माफियाहरुले शक्ति लगाउँदै छन्।’ 

देश संघीय संरचनामा गइसकेकोले कुनै पनि प्रदेशको भु–क्षेत्रभित्र गरिने कार्यहरुका लागि संघीय (केन्द्र) सरकारले सम्बन्धित प्रदेशसंग समन्वय गर्नुपर्ने र सहमति लिनुपर्ने उनले जिकिर गरे। ‘हरित प्रदेश अभियान’ अन्तर्गत प्रदेश २ सरकारले यहाँका आठै जिल्लामा शुक्रबार ५० हजार बिरुवा रोपेको छ। प्रदेश सरकारका मन्त्रीहरु अलग अलग कार्यक्रमबीच ८ वटै जिल्लामा एकै साथ बृक्षारोपण गरेका हुन्। 

भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनालले बारामा, कृषि राज्यमन्त्री गोगेन्द्र राय रौतहटमा, उद्योगमन्त्री रामनरेश राय सर्लाहीमा, समाजिक विकास मन्त्री नवल किशोर साह महोत्तरीमा, आन्तरिक मामिला तथ कानु्न मन्त्री ज्ञानेन्द्र यादव धनुषामा, आर्थिक मामिला तथा योजना मन्त्री विजय यादव सिरहमा र राज्य मन्त्री उषा यादवको नेतृत्वमा सप्तरीमा बृक्षारोपण गरिएको मुख्यमन्त्रीका स्वकीय सचिव दिपक यादवले बताए। 

यो अभियान देखावटी नभएर प्रदेशको पहिचान बनाउने उद्देश्यसाथ सुरु गरिएको मुख्यमन्त्री राउतले बताए। प्रदेश सरकारले नीति तथा कार्यक्रममा राखेको ‘हरित प्रदेश योजना’ अन्तर्गत यो अभियान प्रदेशभर एकसाथ सुरु गरेको छ। योजना कार्यान्वयनका लागि एकै दिन प्रदेशका आठै जिल्लामा पचास हजार बिरुवा रोप्ने प्रदेश सरकारले गरेको निर्णय शुक्रबारबाट कार्यान्वयनमा आएको हो।

प्रकाशित: १२ आश्विन २०७५ ०८:५४ शुक्रबार

निजगढ_विमानस्थल मुख्यमन्त्री_लालबाबु_राउत रुख_कटान