अर्थ

अमेरिकी डलरको प्रभाव धेरै दिन टिक्दैन :अर्थशास्त्री डा. शर्मा (भिडियाे)

काठमाडाैं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिएका सुधार सम्बन्धी केही नीतिले विश्व अर्थतन्त्रमा बलियो बन्दै गएको अमेरिकी डलरको प्रभाव विश्व बजारमा लामो समय नटिक्ने योजना आयोगका पूर्व उपाध्यक्ष तथा अर्थशास्त्री डा. शंकर शर्माले बताएका छन्। अमेरिकामा बैंकहरुले ब्याज दरमा बृद्दी गर्नु तथा चीन, जापान लगायतका देश बाट आउने सामानको भन्सार दरमा भएको बृद्दीले पनि विगत केही महिनायता डलर निरन्तर उकालो लागेको शर्माको बुझाइ छ। नागरिक सँग कुरागर्दै पूर्व उपाध्यक्ष शर्माले भने-‘केही समयलाई अमेरिकी अर्थतन्त्र बलियो भएको देखिए पनि व्यापार युद्दले मजबुत बनेको अमेरिकी अर्थतन्त्र धेरै समय टिक्दैन।'

भारतीय मुद्रा कमजोर हुनु तथा भारत सँग जोडिएकाले नेपाली मुद्रा पनि अवमुल्यन हुनु स्वाभाविक भएको शर्माको भनाइ छ। तर भारतीय रुपैया सँग स्थिर रहेको नेपाली रुपैयाको अवमुल्यन भएको भन्दै यसलाई समायोजन गर्नुपर्ने आवाज उठिरहेका बेला अर्थविद् शर्मा अहिले नेपाली मुद्रा अवमुल्यन गर्ने वा अधिमुल्यन गर्ने विषयमा प्रवेश गर्नु उचित नहुने धारणा राख्छन। नेपाली मुद्रा अवमुल्यन भएपनि नेपालमा सबै भन्दा धेरै भारतीय लगानी हुनु र नेपालको धेरै व्यापार भारत सँगै हुने भएकाले बिना अध्ययन दुइ देशको मुद्रा समायोजन गर्न उपयुक्त नहुने शर्माको सुझाव छ।

डलर बलियो हुँदा नेपाललाई भने घाटा/नाफा दुवै हुने गरेको छ। वैदेशिक रोजगारमा रहेका नेपालीले रेमिट्यान्स पठाउन राम्रो दर पाउछन,त्यस्तै पर्यटनमा मद्दत पुग्छ,नेपाल भित्रिने प्रत्यक्ष लगानी बढ्छ। यसै बेला नेपाल बाट सामान निर्यात गर्दा नेपालले फाइदा लिन सक्छ। तर डलरको मुल्यमा आएको बृद्दीले नेपालले धेरै घाटा पनि व्यहोर्नु पर्ने हुन्छ। नेपालमा निर्यात भन्दा आयात धेरै छ। यस्तो अवस्थामा विदेशी सामान आयात गरे वापत डलरमा रकम भुक्तानी गर्नुपर्ने भएकाले नेपालले ठुलो घाटा व्यहोर्छ।

उत्पादन लागत बढ्दै गए र तेलको मूल्य पनि लगातार बृद्दी हुँदै गए यसले मुलुककै आर्थिक बृद्दीमा समेत असर पर्ने शर्माको भनाइ छ।

प्रकाशित: ११ आश्विन २०७५ १५:३८ बिहीबार

डलर अर्थतन्त्र डा_शंकर_शर्मा