अर्थ

नेपाल एयरलाइन्सको नयाँ जहाज सिमकोटमा, परीक्षण उडान सफल

हुम्ला– चीनबाट ४ बर्ष अगाडि ल्याइएको नेपाल वायु सेवा निगमकाे वाइ१२ई जहाजले बुधवार सिमकोट विमानस्थलमा सफलतापूर्वक परीक्षण उडान गरेको छ। बिहान १० बजेर ३० मिनेटमा नेपाल एयरलाइन्सको वाइ१२ई जहाजले सिमकोट बिमानस्थलमा अबतरण गरेको हो। जहाज आएसँगै हुम्लावासी हर्षित भएका छन्। क्याप्टन नुरी शेर्पाको नेतृत्वमा हवाई बिभागका बिनय गिरी, नेपाल एयरलाइन्सका अप्रेसन इन्जिनियर विशाल पौडेल, किशोर आचार्य, सेफ्टिका आरके रौनियार, फलाइट अप्रेसन ईन्जिनियर पिएसजेबी राना, एफओ एमआर पाण्डे, क्याप्टेन यु घिमिरे, विमान परिचालक पि.ओली र लोड म्यान पि. बानियासहित ९ जनाको टोली परीक्षण उडानका लागि सिमकोट पुगेको थियो।

कर्णालीका जुफाल, जुम्ला, ताल्चा र सिमकोट विमानस्थलमा परीक्षण उडान भर्न सफल भएपनि नियमित उडान गर्न अझै केही समय लाग्ने नेपाल एयरलाईन्सका अप्रेसन डाइरेक्टर रबीन्द्र कुमार शेरचनले बताए। कर्णालीका जुफाल, जुम्ला, ताल्चा, सिमकोट, सोलुखुम्बुको लुक्ला र मुस्ताङ्गको जोमसोममा व्यवसायिक उडान भर्नका लागि नेपाल एयरलाइन्सले बुधवारसम्म जोमसोम बाहेक अरु सबै बिमानस्थलमा परीक्षण उडान गरिसकेको छ। वाइ १२ जहाजले एक साथ कर्णालीका सिमकोट, ताल्चा, जुम्ला र जुफालमा सफल परीक्षण उडान भरेको र अहिले परीक्षण उडानका लागि मात्र अनुमति लिएको भएपनि केही दिनमै हवाई बिभागबाट नियमित उडानका लागि अनुमति लिई दशैं भन्दा अगाडि नै सबै ठाउँमा उडान भर्ने शेरचनले बताए। 

यसअघि सो जहाजले हिमाली जिल्लाका विमानस्थलमा उडान भर्न सक्ने वा नसक्ने द्धिबिधा रहेकोमा त्यो हटेको र बिमानले जोमसोम बाहेक अरु सबै बिमानस्थलमा सफल परीक्षण उडान भरेको नेपाल एयरलाइन्स क्षेत्रीय कार्यालय नेपालगञ्जका क्षेत्रीय प्रबन्धक मुक्तीराम पाण्डेले बताए। यससँगै अब कर्णालीका दुर्गम जिल्लामा वाइ१२ई जहाजले उडान भर्ने बाटो खुलेको छ। यी क्षेत्रमा नियमित फलाइटको नेपालगञ्ज कार्यालयले पहल गरिरहेको र तत्काल  ब्यवस्था गर्न केन्द्रलाई पत्राचार गर्ने उनको भनाई छ। नेपाल एयरलाइन्सले अब कम्तीमा एउटा जहाज कर्णाली क्षेत्रमा राख्ने ब्यबस्था गरी कर्णालीमा सेवा दिन सकिने शेरचनको भनाई छ। 

हाल नेपाल एयरलाइन्ससंग ४ वटा वाइ१२ई र ३ वटा ट्विनटर विमान भएपनि नेपालगन्ज क्षेत्रमा मुस्किलले डेढ महिनाको एक पटक उडान भर्दा यात्रुहरु मर्कामा पर्दै आएका छन्। 

प्रकाशित: १० आश्विन २०७५ १६:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App