अर्थ

निजी क्षेत्रको सहकार्यमा सुपथ मूल्य पसल

फाइल फाेटाे

काठमाडौं – सरकारले यस वर्ष निजी क्षेत्रसँग सहकार्य गरेर चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । अहिलेसम्म सरकार आफैंले सञ्चालन गरिरहेकोमा यस वर्ष निजी क्षेत्रसँग मिलेर यस्ता पसल राख्न थालिएको हो।

उपभोक्तालाई सुपथ मूल्यमा सामान उपलब्ध होस् भनेर सरकारले निजी क्षेत्रसँग सहकार्य गर्न लागेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ । ‘यस वर्ष सहकारी तथा खुद्रा पसलसँग पनि सहकार्य गरेर सहुलियत पसल राख्ने तयारी छ,’ विभागका प्रवक्ता दिपक पोख्रेलले भने, ‘यसले उपभोक्तालाई थप सुविधा हुने अपेक्षा गरिएको छ।’

अहिलेसम्म सरकारले आफैं विभिन्न ठाउँमा सुपथ मूल्य पसल सञ्चालन गर्दै आए पनि निजी क्षेत्रसँग सहकार्य गरेको थिएन । यस वर्षदेखि काठमाडौं उपत्यका र बाहिरी जिल्लामा निजी र सरकारी निकायको सहकार्यमा सहुलियत पसल सञ्चालन गर्न लागिएको हो।

शुक्रबारदेखि मुलुकभर सहुलियत मूल्यका पसल सञ्चालनमा आउने छन् । नजिकिँदै गरेका पर्वहरुलाई लक्ष्य गरी उपभोक्तालाई सुपथ मूल्यमा दैनिक उपभोग्य सामान उपलब्ध गराउन सहुलियत पसल सञ्चालन गर्न लागेको हो।

सहुलियत पसल दसैं, तिहार र छठलाई मध्यनजर गरी असोज १२ देखि कात्तिक २७ गतेसम्म सञ्चालन गरिनेछ । उपत्यकाका १४ स्थानमा सहुलियत पसल सञ्चालन गर्ने तयारी छ । उपत्यकाबाहिर पनि यस्ता पसल सञ्चालन हुने पोख्रेलले बताए।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भदौ २६ गते बसेको बैठकले सुपथ मूल्य पसलमा निजी क्षेत्रलाई समेत सामेल गराउने निर्णय गरेको थियो । उक्त बैठकमा विभागसहित नेसनल ट्रेडिङ लिमिटेड, साल्ट ट्रेडिङ, नेपाल खाद्य संस्थान, दुग्ध विकास संस्थान लगायत संस्थान सहभागी थिए । निजी क्षेत्रबाट उत्पादक, आयातकर्ता, डिलर्स एवं खुद्रा बिक्रेता, सहकारी संस्थाका प्रतिनिधि सहभागी रहेको मन्त्रालयले जनाएको छ।

सरकारले सुहलियत पसल सञ्चालन गर्न चाहने इच्छुक निजी व्यवसायीलाई सात दिनभित्र सम्पर्क गर्न सोमबार सूचनामार्फत आग्रह गरेको छ।

सहुलियत मूल्य पसलमा दैनिक उपभोग्य सामान उपलब्ध हुनेछन् । तेल, घिउ, चामल, दाल, नुन, पनिर, खसी, बोका लगायत सामान उपलब्ध हुनेछन् । उपभोक्तालाई आवश्यक पर्ने सामान बजार मूल्यभन्दा सस्तोमा दिने विभागले जनाएको छ । चामलदेखि खसी–बोकामा छुट दिने विभागले जनाएको छ।

प्रकाशित: ९ आश्विन २०७५ ०७:०४ मंगलबार

चाडपर्व सुपथ_मूल्य_पसल