अर्थ

फर्निचर तथा फर्निसिङ एक्स्पोमा अवलोकनकर्ताको भीड

काठमाडौं – राजधानीमा जारी छैटौं फर्निचर तथा फर्निसिङ एक्स्पो ‘फर्नेक्स २०१८’ मा अवलोकनकर्ताको भीड लागेको छ। गत बिहीबारबाट भृकुटीमन्डपमा सुरु भएको एक्स्पो सोमबार (आज) सकिँदैछ । एक्स्पोको चौथौं दिन आइतबारसम्ममा ४० हजारभन्दा बढीले अवलोकन गरिसकेको आयोजकले जानकारी दिएको छ।

नेपाल फर्निचर तथा फर्निसिङ संघद्वारा आयोजित एक्स्पोमा सहभागी सबै प्रदर्शकले दसैंलक्षित छुटमा सामान उपलब्ध गराइरहेका छन् । उक्त छुटले पनि एक्स्पोमा अवलोकनकर्ताको संख्या बढाउन सहयोग पु-याएको एक्स्पोका संयोजक सुभेन्द्र जोशीले बताए।

एक्स्पोमा सयभन्दा बढी स्वेदेशी तथा विदेशी ब्रान्ड तथा कम्पनी सहभागी छन् । ती ब्रान्डले चाडपर्वलाई ध्यानमा राखेर स्टक क्लियरेन्सका साथै दसैं अफरका साथ फर्निचर तथा फर्निसिङका सामान बिक्रीवितरण गरिरहेका छन्।

एक्सपोमा प्रदर्शनीको अतिरिक्त अवोलकनकर्तालाई लक्की–ड्रमार्फत उपहारसमेत वितरण गरिने संयोजक जोशीले बताए । त्यस्तै, प्रदर्शनीस्थलमै वास्तुशास्त्रका साथै इन्टेरियर डिजाइनसम्बन्धी परामर्श समेत प्रदान गरिएको छ । रोबटिक प्रतिस्पर्धा एक्स्पोको अर्को आकर्षण बनेको छ । विगत वर्षका एक्स्पोको तुलनामा यसपटक प्रदर्शक तथा वस्तु र सेवामा धेरै फरक रहेका कारण अवलोकनकर्ताको भीड लागेको उनले बताए।

किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इन्टेरियर डिजाइनर, कार्पेट, मार्बललगायत सामग्री प्रदर्शनीको मुख्य आकर्षण बनेका छन् । यसका साथै कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेसन सामग्री, होम डेकोर, अफिस फर्निचर, होम अप्लाइन्सेज, मेसिनरी औजारका उत्पादनमा अवलोकनकर्ताको भीड देखिएको छ । एकै छाना मुनी आफूलाई आवश्यक सबै उत्पादन खाज्नेका कारण पनि एक्स्पोमा अवलोकर्ताको भीड देखिएको हो।

‘प्रदर्शनीमा फर्निचरको प्रदर्शनीमात्र नगरी अवलोकनकर्तालाई त्यसका उपयोगिता, प्रयोग विधि, बनोटका बारेमा पनि जानकारी गराइरहेका छौं,’ संयोजक जोशीले भने, ‘फर्निसिङ व्यवसायमा आधुनिक प्रविधि भिœयाउँदै फर्निचरजन्य उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउन एक्स्पोले टेवा पु-याउने अपेक्षा छ ।’ एक्स्पोमा ५० हजारभन्दा बढीले प्रत्यक्ष अवलोकन गर्ने आयोजकको आंकलन छ।

प्रकाशित: ८ आश्विन २०७५ ०६:४९ सोमबार

फर्निसिङ_एक्स्पो