अर्थ

अन्तर्राष्ट्रिय उडानका लागि तयार भयाे विराटनगर विमानस्थल

विराटनगर - अन्तर्राष्ट्रिय उडानका लागि विराटनगर विमानस्थलको पूर्वाधार तयार भइसकेको नागरिक उड्ययन प्राधिकरण विराटनगरले जनाएको छ। नागरिक उड्ययन प्राधिकरण विराटनगरका प्रमुख टेकनाथ सिटौलाका अनुसार विमानस्थलको रन वे देखि अन्य पूर्वाधार अन्तर्राष्ट्रिय उडानका लागि तयार भइसकेको छ। विराटनगर विमानस्थलबाट तत्कालै भारतका विभिन्न सहरमा सिधा हवाइसेवा सञ्चालन गर्न सकिनेछ।

विराटनगर विमानस्थलको पूर्वाधार तयारी हालतमा भए पनि अन्तर्राष्ट्रिय उडानका लागि विमान कम्पनीहरू नआएको सिटौलाले बताए। उनले भने ‘विमानस्थलको पूर्वाधार तयार भए पनि विमान कम्पनीहरू उडानका लागि तयार नहुँदा अन्तर्राष्ट्रिय उडान सञ्चालनको प्रकृया अघि बढ्न सकेको छैन।’ विमान कम्पनीहरू विराटनगरबाट अन्तर्राष्ट्रिय उडान गर्न आए भन्सार,अध्यागमन कार्यालय र क्वारेन्टाइनको व्यवस्था  तत्कालै गर्न सकिने सिटौलाले बताए। सिटौलाका अनुसार विराटनगर स्थित भन्सार कार्यालयबाट केहि कर्मचारी ल्याएर विराटनगर विमानस्थलमै भन्सारको व्यवस्था गर्न सकिने छ। ‘सबै पूर्वाधार जुटाउन खासै धेरै समस्या नभएकाले विमान कम्पनीहरू अन्तर्राष्ट्रिय उडानका लागि आए तत्कालै प्रकृया अघि बढाउन सकिन्छ’, सिटौलाले भने।

अन्तराष्ट्रिय उडान मात्रै हैन विराटनगर विमानस्थलबाट अन्तरप्रादेशिक उडान पनि सञ्चालनमा ल्याउन माग हुँदै आएको छ।नेपालका ६ वटै प्रदेशमा विराटनगरबाट सिधा हवाइसेवा सञ्चालन गर्न स्थानीयले माग  गरे पनि अझैसम्म काठमाडाैं बाहेक अन्य स्थानमा सिधा हवाइ सेवा सञ्चालनमा आउनसकेको छैन।

पूर्वी मोहडाको साढे ४ विघा अधिग्रहण
विराटनगर विमानस्थललाई सुरक्षित बनाउन पूर्वी मोहडा तर्फको साढे ४ विघा जग्गा अधिग्रहणको काम अन्तिम चरणमा पुगेको छ। जग्गा अधिग्रहणका लागि आवश्यक ७० करोड रुपैयाँ बजेट निकासा भइ धेरैजसो बितरण पनि भइसकेको मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीले जानकारी दिए। केसीका अनुसार ६६ जनाको नाममा रहेको ९० कित्ता जग्गा मध्ये ६० जनाले मुआब्जा बुझिसकेका छन्। अधिग्रहणमा जग्गा परेका ६ जना बैदेशिक रोजगारीको सिलसिलामा नेपाल बाहिर रहेका कारण मुआब्जा वितरण गर्न नसकिएको केसीले बताए। पूर्वी मोहडाको अधिग्रहण गरिएको जग्गा विमानस्थलको सेफ्टी मार्जिनका लागि राखिने प्राधिकरणले जनाएको छ। यस्तै यो जग्गामा रातीको उडान/अवतरणका लागि एप्रोच लाइट राख्ने प्रयोजनका लागि पनि प्रयोगमा ल्याइने प्राधिकरणले जनाएको छ।

प्रकाशित: ४ आश्विन २०७५ ११:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App