अर्थ

रसुवागढीमा सवारी नियमित नहुँदा आयात–निर्यात घट्यो

रसुवा–चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका। तस्बिर : नागरिक

रसुवा - चालु आर्थिक वर्षको पहिलो दुई महिनामा रसुवागढी नाकामा आयात तथा निर्यात दुवै घटेको छ । साउन र भदौ महिनामा नाका जोड्ने सडक अवरुद्ध हुँदा आयात तथा निर्यात घटेको हो।

सवारी साधन सञ्चालनमा कमि आएपछि राजस्व संकलन पनि प्रभावित भएको रसुवागढी भन्सार कार्यालयले जनाएको छ। कार्यालयले साउनमा ५० करोड र भदौ महिनामा ९० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो।

साउनमा २६ करोड राजस्व उठाएको कार्यालयले भदौमा १३ करोड ९० लाख रुपयाँ मात्रै उठाउन सकेको छ । ‘साउनमा केही समय सवारी सञ्चालनमा आयो जसका कारण राजस्व थोरै भए पनि राजस्व संकलन भएको थियो,’ प्रमुख भन्सार अधिकृत गोपाल कोइरालाले भने, ‘तर, भदौमा एक सातासम्म मात्रै सवारी सञ्चालन भयो।’

भदौमा १३ करोड ९० लाख १६ हजार राजस्व संकलन गरिएको कार्यालयले जनाएको छ । सवारी सञ्चालन नियमित भएमा असोज महिनामा गत महिनाको घाटा पूर्ति हुने उनले बताए । ‘सवारी साधन नियमित सञ्चालन भयो भने लक्ष्य पूरा गर्न कठिन हुँदैन,’ उनले भने, ‘अघिल्लो महिनाको घाटा सन्तुलनमा ल्याउन सकिन्छ।’

भूकम्पका कारण तातोपानी नाका बन्द भएपछि २०७२ मंसिरदेखि रसुवागढी नाकाबाट सामग्री आयात तथा निर्यात हुँदै आएको छ । रसुवागढी नाकालाई चीनले २०७४ भदौ १४ गते अन्तर्राष्ट्रिय नाका घोषणा गरेपछि आयात निर्यात तथा व्यापारिक कारोबार बढेको छ।

चीनबाट तयारी कपडा, स्याउ, लेडिज सेन्डल, रबर, प्लास्टिकका जुत्ता, चप्पल, हाते झोला, छालाको जुत्ता, मोटरको ब्याट्री, युपिएस, प्लास्टिकका सामग्री आयात हुने गरेको छ।

नेपालबाट चीनतर्फ धातुको मूर्ति, काठका सामग्री, अम्रिसोको कुचो, बाँसको मुडा, मेहन्दी, दन्तमन्जन, शृंगार सामान, चाउचाउ, पास्ता, जुस, जाम, चकलेट, उनी गलैंचा कार्पेट, चुइङगम, हेयर आयल, हेयर क्रिमलगायत वस्तु निकासी भइरहेको छ।

२०७१ सालदेखि औपचारिक रुपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक दुई सय ५० भन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेका छन्। चीनले अन्तर्राष्ट्रिय नाकाको रुपमा घोषणा गरेसँगै सीमामा व्यापारी, व्यावसायी र सवारीको चाप बढ्दै गएको छ।

रसुवागढी नाकाबाट चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दुरी पार गर्नुपर्छ।

प्रकाशित: ४ आश्विन २०७५ ०४:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App