अर्थ

पूरक बजेटको कुरै छैनः अर्थमन्त्री खतिवडा

तस्बिरः रासस

काठमाडौ– अर्थमन्त्री डा. युवराज खतिवडाले पूरक बजेटल्याउने विषयमा कुनै पनि छलफल नभएको बताएका छन्। अर्थमन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा खतिवडाले चालु बजेटको अर्धवार्षिक समीक्षा नभएसम्मका लागि पूरक बजेट आउने संभावना नरहेको स्पस्ट पारेका हुन्।
केही दिन पहिले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले पूरक बजेट ल्याएरै भएपनि सामाजिक सुरक्षाभत्तालगायतका लोकप्रिय कार्यक्रम ल्याउनुपर्ने धारणा सार्वजनिक गरेका थिए।

‘बजेटको अर्धवार्षिक समीक्षा गर्दा कुनै क्षेत्रमा खर्चगर्न पुगेन वा राजस्व संकलन उच्चभएर नयाँ क्षेत्रमा खर्चगर्नु पर्ने अवस्था आएमा पूरक बजेट ल्याउने हो’ खतिवडाले भने, यस विषयमा सरकारले अहिले छलफल नै गरेको छैन।’ 
पत्रकार सम्मेलनमा राजस्व सचिव शिशिरकुमार ढुँगानाले स्थानीय निकायमा देखिएका कर विवादबारे अध्ययन भइरहेको जनाउँदै केही दिनमै यसबारेको प्रतिवेदन आउने जानकारी गराए।
पत्रकारसम्मेलनमा अर्थमन्त्री खतिवडाले चालू अर्थिक वर्षको पहिलो २ महिनामा १ खर्व २० अर्ब रुपैयाँ राजस्व संकलन भएको जानकारी गराए। उनका अनुसार यो आय गतवर्षको सोही अवधिको तुलनामा ३७ प्रतिशतले बढि हो। समीक्षा अवधिमा १ खर्व ३ अर्व रुपैयाँ खर्च भएको छ। यसमध्ये ९६ अर्ब रुपैयाँ चालू र ७ अर्ब रुपैयाँ पूजीगत शिर्षकबाट खर्च भएको हो। 

प्रकाशित: २ आश्विन २०७५ ०९:१९ मंगलबार

पुरक_बजेट डा._युवराज_खतिवडा पुष्पकमल_दाहाल बजेट