अर्थ

सहकारीमार्फत आर्थिक समृद्धि

काठमाडौं – सरकारले तीन खम्बे अर्थनीति अंगिकार गरेकाले सहकारी क्षेत्र मुलुकको आर्थिक समृद्धिको सारथी बन्न सक्ने सहकारीका सरोकारवालाले बताएका छन् । सहकारीमार्फत पुँजी, सीप परिचालन गरेर उत्पादन बढाएर समृृद्धिमा पुग्न सकिने बताए।

नेपाल मर्चेन्ट कोअपरेटिभले शनिवार राजधानीमा आयोजना गरेको वार्षिक साधारण सभामा बोल्ने वक्ताले सहकारीको पुँजीलाई औद्योगिक, व्यावसायिक र उत्पादनमूलक क्षेत्रमा परिचालन गनुपर्नेमा जोड दिए। मुलुकमा रहेका साढे ३४ हजार सहकारीले सदस्यको आर्थिक अवस्थामा सुधार ल्याउन टेवा पुगेको बताउँदै सहकारी बैंकको विकल्पको रुपमा सेवा दिएको धारणा राखे।

कार्यक्रममा राष्ट्रिय सहकारी विकास बोर्डका सह–अध्यक्ष दक्ष पौडेलले सहकारी आर्थिक समृद्धिको सारथी बनेको बताए। ‘सहकारीले ठूलो पुँजी परिचलान गरेको छ,’ अध्यक्ष पौडेलले भने, ‘सदस्यको आर्थिक सशक्तीकरणमा टेवा पुगेको छ।’ नयाँ ऐनअनुसार अन्तर–सहकारी कारोबारलाई प्रोत्साहित गरेकाले सहकारी बैंकले जस्तै सेवा दिने बताए। ‘सहकारीले आधुनिक बैकिङमार्फत सेवा दिन थालेका छन्,’ उनले भने, ‘आर्थिक क्रियाकलापसँगै सामाजिक उत्तरदायित्व पूरा गरेका छन्।’

सहकारी क्षेत्रले आर्थिक रुपमा समृद्धिको यात्रातर्फ उन्मुख भएको नेसनल कोअपरेटिभ एलायन्सका सह–अध्यक्ष गोविन्दप्रसाद पौडेलले बताए । ‘सहकारीका ६० लाख सदस्यले ६ सय अर्ब रुपैयाँ परिचालन गरेका छन्,’ उनले भने, ‘सहकारी अब ठूलो आर्थिक कारोबार गर्ने क्षेत्रमा रुपान्त्रण भएको छ ।’ सहकारीको भावनाअनुसार लगानीको सुरक्षा गरेर प्रतिफल दिएर सदस्यको आर्थिक अवस्थामा सुधार ल्याउन टेवा पुग्ने बताए ।
सहकारी विज्ञ डा. ज्ञानेन्द्र पौडेलले संविधानमा उल्लेख भएको समाजवाद उन्मुख अर्थतन्त्र र दिगो विकास लक्ष्य प्राप्तिमा सहकारी क्षेत्र सहयोगी हुने बताए । ‘सहकारी आर्थिक विकासको मेरुदण्ड बन्दैछ,’ उनले भने, ‘वित्तीय पहुँच बढाउन सघाउ पुगेको छ । मुलुकको कुल ग्राहस्थ्य उत्पादनमा करिब तीन प्रतिशत र वित्तीय क्षेत्रमा १८ प्रतिशत सहकारी क्षेले योगदान पु¥याएकाले अझै व्यवस्थित गर्नुपर्ने पौडेलले बताए ।
कार्यक्रममा पूर्वसांसद लक्ष्मण राजवंशी, सरकारका पूर्व सचिव जीवनप्रभा निरौलाले सहकारीको सेवालाई समय सापेक्ष रुपमा प्रतिस्पर्धी र प्रभावकारी बनाउनु पर्ने बताए । सहकारीभित्र पारदर्शीता बढाउँदै लगानीको सुरक्षा गर्नुपर्नेमा जोड दिए । नेपाल मर्चेन्ट कोअपरेटिभल लिमिटेडका अध्यक्ष विश्वमोहन उझान्थाछेंले सदस्यको भावनाअनुसार सहकारी सञ्चालन गरेको बताए ।
 

प्रकाशित: ३१ भाद्र २०७५ ०६:०१ आइतबार

सहकारी आर्थिक_समृद्धि