अर्थ

विद्युत्का पोल र तार निर्माणमा बाधक

मानमत–कलैया–मटिअर्वा हुलाकी सडकखण्डअन्तर्गत बिशमरपुरमा पर्ने हुलाकी सडकबीचमा पहिलेदेखि गाडिएका विद्युतीय पोल र तार ।   तस्बिर: नागरिक

बारा – दुई लेनको मानमत–कलैया–मटिअर्वा हुलाकी सडक खण्डको निर्माण कार्यमा विद्युतीय पोल र तार बाधक बनेका छन् । विद्युतीय पोल र तार सार्न सम्बन्धित निकायलाई आग्रह गर्दा पनि सुनुवाइ नभएकाले सडक निर्माण कार्य ढिलाइ भइरहेको निर्माण कम्पनीको भनाइ छ।

सडकको मध्य भागदेखि दायाँ–बायाँ १५–१५ मिटरभित्रका पोल र तार सार्न नसक्दा उक्त सडकखण्डको निर्माण कार्य नै अवरुद्ध हुन पुगेको छ । उक्त सडकखण्ड निर्माणका लागि काठमाडौंको आशिष÷डिएस जेभी निर्माण कम्पनीले २०७६ वैशाखसम्म निर्माण सम्पन्न गर्नेगरी २०७३ कात्तिक ३ मा हुलाकी राजमार्ग निर्देशनालयसँग सम्झौता गरेको हुलाकी राजमार्ग आयोजना कार्यालयले जनाएको छ।

२७ किलोमिटरको उक्त सडकलाई निर्माण कम्पनीले दु्ई खण्डमा गरी करिब ४८ करोड ५८ लाख रुपैयाँमा ठेक्का सकार गरेको हुलाकी राजमार्ग आयोजनाका अधिकारीले जनाएका छन् । निर्माण कम्पनीका प्रतिनिधि निपेन्द्र कार्कीले उक्त सडकखण्डमा पर्ने घर र विद्युतीय पोल नहटाइएका कारण निर्माण कार्यले गति लिन नसकेको बताए । सडक क्षेत्रमा पर्ने घर र पोल नभएका स्थानमा मात्रै सडक निर्माण कार्यलाई तीव्रता दिइएको उनले बताए।

उक्त सडक खण्डका तार र पोल सडकको दुवै छेउमा व्यवस्थित तरिकाले राख्दा १५ करोड रुपैयाँ लाग्ने नेपाल विद्युत् प्राधिकरण कलैया वितरण केन्द्रको इस्टिमेटमा उल्लेख छ । उक्त रकम व्यवस्थापन गर्न सम्बन्धित निकायलाई जानकारीसमेत गराइएको निर्माण कम्पनीका प्रतिनिधि कार्कीले बताए।

‘सडक कुन तरिकाले निर्माण गर्ने भन्नेबारे सम्बन्धित निकायबाट डिजाइन उपल्बध गराउन ढिलाइ भयो,’ कार्कीले भने, ‘डिजाइन उपलब्ध भएपछि सडक निर्माण कार्यलाई प्राथमिकतामा राखेर काम अगाडि बढाइएको छ ।’ सडकको मध्य भागदेखि दायाँ–बायाँ १५–१५ मिटरभित्र पर्ने घर र पोल हटाउन अझै पनि ढिलाइ गरिए तोकिएको मितिमा काम सम्पन्न नहुने कार्कीले बताए । निर्माण सम्पन्न गर्न आठ महिना जति बाँकी रहेकामा समग्र कामको करिब ५० प्रतिशत मात्रै काम सम्पन्न भएको कार्कीको भनाइ छ।

तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले २०७३ पुस अन्तिम साता उक्त सडकखण्डको मटिअर्वामा शिलान्यास गरेका थिए । स्थानीयले उक्त सडकखण्डलाई विगत ४० वर्षदेखि कालोपत्रे गर्न माग गर्दै आएका छन्।

पूर्व–पश्चिम महेन्द्र राजमार्गको मानमतदेखि भारतसँगको सिमाना जोडिएको मटिअर्वासम्म करिब २७ किमि सडकखण्डमध्ये कलैया उपमहानगरपालिकाभित्र १८ किमिभन्दा बढी क्षेत्र पर्ने गरेको छ । सडक निर्माण कार्यका लागि विद्युतीय पोल र तार व्यवस्थित गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको कलैया उपमहानगरपालिका प्रमुख राजेश राय यादवले बताए।

कलैया बजारको मुख्य भाग भएर जाने उक्त सडकको निर्माण ढिलाइले कलैया बजार क्षेत्र नै कुरुप बनाएको कलैया उपमहानगरपालिका प्रमुख यादवको भनाइ छ । काठमाडौंसँग तराईका जिल्ला जोड्ने निर्माणाधीन तराई–मधेस फास्ट ट्र्याक सडक बनेपछि वीरगन्जबाट काठमाडौं जाँदा उक्त सडक प्रयोगमा आउने भएकाले जतिसक्दो छिटो निर्माण गर्नुपर्ने प्रमुख यादवले बताए। 

निर्माण कार्यमा समन्वय गरिरहेको हुलाकी राजमार्ग आयोजना एकाई कार्यालय वीरगन्जका प्रमुख अनुठालाल पटेलले सडक क्षेत्रभित्र पर्ने स्थानीयका घर, जग्गाको मुआब्जा र विद्युत्का पोल व्यवस्थापन गर्न जरुरी रहेको बताए । पोल भएका स्थानमा निर्माण कम्पनीले माटोसमेत राख्न नसकेको जानकारी सम्बन्धित निकायलाई गराइसकेको उनले बताए । 
पहिलो चरणमा सात मिटर चौडा दुई लेन सडक कालोपत्रे गर्नेगरी शिलान्यास गरिएको सडकखण्डमा भारतीय कन्सल्टेन्टहरुले सुरुमा गरेको डिजाइनमा सात किमि पक्की नाला, आठवटा पुलेसा र ६० वटा ह्युमपाइप कल्भर्ट रहेको हुलाकी आयोजनाका अधिकारीको भनाइ छ । अहिले फेरि भारतीय कन्सल्टेन्टले नयाँ डिजाइन गरेपछि कल्भर्ट र ह्युमपाइपको संख्या थपघट हुनसक्ने सम्भावना रहेको पटेलले बताए।

अहिले भारत सरकारले उपल्बध गराएको अनुदान रकमबाट बन्ने हुलाकी सडकको भारतीय पक्षबाट अनुगमन र निगरानी गर्ने छ । त्यस्तै नेपाली पक्षबाट सडकको ठेक्का लगाउने र त्यसलाई समयमै पूरा गर्ने कार्य गर्ने भारतीय र नेपाली पक्षबीच सम्झौता गरिएको आयोजनाका अधिकारीको भनाइ छ।

भारत सरकारको सहयोगमा हुलाकी राजमार्ग आयोजनाको वीरगन्ज–ठोरीअन्तर्गत पर्ने ५३ किमि, बाराको तामागढी–सिम्रौनगढ सडकखण्डको ३९ किमि र मानमत कलैया–मटिअर्वा सडकखण्डको २७ किमि सडक निर्माण कार्य अगाडि बढेको हुलाकी सडक निर्देशनालयले जनाएको छ।

प्रकाशित: २७ भाद्र २०७५ ०४:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App