अर्थ

एक डलर किन्न १ सय १६ रुपैयाँ

काठमाडौं – एक महिनायता अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरको भाउ दैनिकजसो बढेका कारण एक अमेरिकी डलर खरिद गर्न एक सय १६ रुपैयाँ २३ पैसा तिर्नुपर्ने भएको छ।

राष्ट्र बैंकले मंगलबारका लागि एक डलरको खरिद दर ११५.६३ रुपैयाँ र बिक्री दर ११६.२३ रुपैयाँ तोकेको छ । अमेरिकी डलरसँग नेपाली रुपैयाँमात्र नभएर संसारका लगभग सबै मुलुकका मुद्रा अवमुल्यन भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल ट्रम्पले चुनावका दौरानमा अगाडि सारेको ‘मेक अमेरिका ग्रेट अगेन’ को नाराअनुसार कतिपय क्षेत्रमा सुधारका काम भएकाले विश्वभर नै अमेरिकी डलरको मूल्य बढेको हो।

अमेरिकाले आयातित सामानमा भन्सार थप गर्दा उसलाई दोहोरो फाइदा भएको छ । पहिलो भन्सार थप भएपछि राजस्व बढेको छ । दोस्रो बन्द रहेका स्वदेशी उद्योगहरू फेरि सञ्चालनमा आउन थालेका छन् र रोजगारीका अवसर बढेका छन् । एक दशकयता अहिले अमेरिकामा बेरोजगारीको दर सबैभन्दा कम भएको छ । आर्थिक गतिविधि पनि बढेका कारण अर्थतन्त्र मजबुत बनेको छ । विभिन्न मुलुकमा गएका अमेरिकी लगानीकर्ता स्वदेशमा फर्कन थालेका छन् । विदेशी लगानीकर्ताले पनि अमेरिकामा लगानी गर्न थालेका छन् । यिनै प्रमुख कारणले अमेरिकी अर्थतन्त्र बलियो हुँदा डलरको भाउ संसारभर बढेको हो।

डलरको तुलनामा भारतीय मुद्रा पनि खस्केको छ । नेपाली र भारतीय रुपैयाँबीच स्थिर विनिमय दर रहेकाले भारुमा आएको उतारचढावको सीधा प्रभाव नेपालको विनिमय प्रणालीमा पर्छ । डलरसँग भारु जुन दरमा अवमुल्यन हुन्छ त्यहीअनुसार नेपाली मुद्राको अवमुल्यन गर्ने परम्परा छ । अर्थशास्त्रीहरूले आगामी दिनमा अझै अमेरिकी डलरको भाउ बढने बताउँदै आएका छन् । एक डलरबराबर एक सय २० रुपैयाँसम्म पुग्न सक्ने अर्थशास्त्रीहरूको आकलन छ।

फाइदा बेफाइदा के हुन्छ ?
डलर महँगिदा भारतको बाटो हुँदै आयात हुने पेट्रोलियम पदार्थको मूल्यमा पर्ने चापले ढुवानी लागत बढ्नेछ । यसले आन्तरिक उत्पादनको मूल्यमा समेत प्रभाव पार्नेछ । हवाई भाडामा हुने परिवर्तनले सडक सञ्जाल नपुगेका दुर्गम क्षेत्रको स्वास्थ्योपचार नराम्ररी प्रभावित हुनेछ । व्यापार घाटा चुलिनेछ । जनस्तरमा असमानता अझ बढाउनेछ।

डलर महँगिदा नेपाली उपभोक्ताले आयातित वस्तु तथा सेवामा मूल्यवृद्धिको सामना गर्नु परे पनि निकासीकर्तालाई भने फाइदा हुनेछ । त्यसैगरी पर्यटकसँग विदेशी मुद्रामा सेवाको मूल्य लिने पर्यटन व्यवसायी पनि यसबाट लाभान्वित हुनेछन् । विदेशबाट आउने रेमिट्यान्स डलरमै आउने हुँदा उक्त रकम प्राप्त गर्ने परिवारले साबिकको तुलनामा बढी पैसा पाउनेछन्।

निकासीकर्ताले पनि डलरमै भुक्तानी लिने हुँदा फाइदा लिन सक्ने भए पनि कच्चा पदार्थ आयात गर्दा डलरमै भुक्तानी गर्नुपर्ने भएकाले भने जस्तो नाफा लिन सक्दैनन् । डलर महँगिदा तेस्रो मुलुकबाट आयात हुने सामानको मूल्य बढ्नेछ । न्यून आय भएका नेपालीका लागि अब भारतबाहेक सबै मुलुकबाट आयात हुने सामानको भाउ उच्च दरले बढ्नेछ भने भारतबाटै आयात हुने कतिपय वस्तुको मूल्य पनि अकाशिनेछ । डलर महँगिदा नेपालीले खुसी मान्नुपर्ने एउटैमात्र विषय रेमिट्यान्सको प्रवाहमात्रै हो।

डलर महँगिदा सरकारमाथि पनि वित्तीय दायित्व थपिनेछ । विदेशी ऋणको साँवाब्याज भुक्तानी गर्दा महँगो डलर नै प्रयोग हुने हुँदा यसले सरकारको वित्तीय दायित्व बढाउँछ । बढ्दो रेमिट्यान्सले बैंकहरूमा लगानीयोग्य पुँजी (तरलता) भने बढाउनेछ।

प्रकाशित: २७ भाद्र २०७५ ०१:०९ बुधबार

डलरको_भाउ बजार