अर्थ

बिमा नहुँदा पर्यटकलाई नेपाल आउन अन्योल

पदयात्रा क्षेत्रमा हुने गरेको फेक रेस्क्यूबारे पोखरामा सोमबार व्यवसायीले गरेको छलफल। तस्बिरःसन्तोष/नागरिक

पोखरा - उच्च हिमाली भेगको पदयात्रामा जान चाहेका स्पेन र फ्रान्सका ४–४ जना पर्यटक अहिले नेपाल आउने, नआउने दोधारमा छन्। लेकसाइडस्थित सिस्ने रोभर ट्रेकिङ कम्पनीबाट बुकिङ गरेका उनीहरुले अहिलेसम्म यात्रा निश्चित गर्न सकेका छैनन्।

कारण हो, हिमाली भेगको पदयात्रामा जान चाहेका उनीहरुलाई त्यहाँका इन्स्योरेन्स कम्पनीले यात्रा अवधिको जोखिम मोल्ने गरी ‘ट्राभल इन्स्योरेन्स’ गर्न मानेका छैनन्। नेपालको पदयात्रामा जाँदा पर्यटकलाई जबर्जस्ती बिरामी बनाएर हेलिकोप्टरबाट उद्धार गर्न लगाइन्छ र त्यसको ठूलो मूल्य बिमाबापत भुक्तानी दाबी गरिन्छ भन्ने त्यहाँको बिमा कम्पनीले सन्देश पाएका छन्। त्यसैले त्यहाँका कम्पनीले पर्यटकको ट्राभल इन्स्योरेन्स गर्न मानेका छैनन्।

नेपालको पदयात्रामा फर्जी उद्धार (फेक रेस्क्यू) हुने भन्दै हिमाली भेगको पदयात्रामा जाँदा आइपर्ने जोखिम बेहोर्न बिमा कम्पनी तयार नभएपछि ती पाहुनाको यात्रा अन्योलग्रस्त बनेको हो। पाहुना बिमा नगरी आउन चाहँदैनन्, तर कम्पनी बिमा गर्न मान्दैन। कुनै पनि यात्रामा जाँदा विदेशीलाई आइपर्ने जोखिम कम गर्न बिमा गर्ने चलन छ। तर, अहिले नेपाल आउने विदेशीको बिमा गर्न कम्पनी तयार हुन छाडेको यहाँका व्यावसायीको भनाइ छ।

‘आगामी महिना उनीहरु नेपाल आउन चाहेका हुन्। तर, अहिलेसम्म बिमा हुन सकेको छैन,’ सिस्ने रोभरका सञ्चालक डम्बर केसी भन्छन्, ‘बिमा नगरी उनीहरु (पदयात्री) आउन नचाहने, तर बिमा गर्न कम्पनी तयार नहुने भएपछि पर्यटक अन्योलमा छन्।’ आफ्नो मुलुकमा बिमा नहुने भएपछि नेपालका कम्पनीबाट बिमा गराउन सकिन्छ कि सकिँदैन भनेर पर्यटकले सोधपुछ गरेको उनले बताए । ‘नेपालका कम्पनीले पनि उच्च हिमाली भेगको जोखिम मोल्ने गरी बिमा गर्न मानेनन् । कतै पनि बिमा नहुने अवस्था आएपछि ती पर्यटकको आगमन अनिश्चित छ,’ केसीले भने।

सिस्ने रोभरको यो एउटा उदाहरणमात्र हो। हिमाली भेगको पदयात्रामा हुने गरेको फर्जी उद्धारको सन्देशले विदेशी सञ्चारमाध्यममा महत्वपूर्ण स्थान पाएपछि महँगो रकम खर्चेर नेपाल आउन चाहेका विदेशी दोधारमा रहेको यहाँका व्यावसायीको भनाइ छ। फर्जी उद्धारमा संलग्न कम्पनीलाई सरकारले कारबाही नगर्दा अन्तर्राष्ट्रिय जगतमा नकारात्मक सन्देश फैलिएको छ,’ केसीले भने, ‘त्यो सन्देश चिर्ने गरी सरकारले फेक रेस्क्यूमा संलग्नलाई कारबाही गर्न ढिलाइ गरेको छ । त्यसको मार नेपालको पदयात्रा क्षेत्रले बेहोरेको छ।’

फर्जी उद्धारमा संलग्नलाई कारबाही गर्न नसकेको भन्दै यहाँका व्यवसायी सरकारसँग रुष्ट बनेका छन्। सरकारले फेक रेस्क्यूमा संलग्नलाई कारबाही नगर्दा सिजनको मुखमा रहेको पर्यटनले नोक्सानी खेप्नुपर्ने अवस्था आएको उनीहरुले बताए। ‘यस्तै अवस्था हो भने आगामी सिजनमा पर्यटक नआउने निश्चित छ,’ ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का पूर्वअध्यक्ष सोमबहादुर थापाले भने, ‘फेक रेस्क्यूमा संलग्नलाई काबाही नगर्दा पर्यटक नेपाल आउन डराइरहेका छन् ।’ फेक रेस्क्यू धन्दाको मारमा सिजनको पर्यटन परेको थापाको भनाइ छ।

थापाका अनुसार अक्टोबरदेखि सुरु हुने पदयात्रा सिजनका धेरै पर्यटक बिमाकै कारण नेपाल आउन डराइरहेका छन्। व्यावसायीले व्यक्तिगत रुपमा मुख खोल्न नसके पनि धेरैले समूहको बुकिङ रद्द गरेको सन्देश पाइसकेका छन्। ‘पदयात्रामा जाँदा जबर्जस्ती बिरामी बनाइन्छ। अनि हेलिकोप्टरबाट उद्धार गरेर अस्पतालमा उपचार गर्दाको महँगो शुल्क बिमा कम्पनीसँग भुक्तानी मागिन्छ भन्ने सन्देश फैलिएको छ,’ थापाले भने, ‘त्यसले गर्दा पर्यटक नेपाल आउन चाहेर पनि बिमा कम्पनीले मानेका छैनन्।’

व्यवसायीका अनुसार नेपालको प्राकृतिक सौन्दर्यसँग लोभिएका विदेशी बिमा नगरी नेपाल आउन चाहँदैनन्। नेपाल आउने पर्यटकमध्ये करिब ७५ प्रतिशत पदयात्रामा जाने अनुमान छ। त्यसैले विदेशीको आगमनलाई सुरक्षित गर्न पनि सरकारले तत्काल दोषीलाई कारबाही गर्नुपर्ने व्यवसायीको भनाइ छ।

फर्जी उद्धारमा संलग्न ट्रेकिङ कम्पनी, उद्धारमा सहभागी हेलिकोप्टर र बिरामीको उपचारमा संलग्न अस्पताललाई कारबाही नगर्दा विदेशीको नेपाल यात्रा अनिश्चित भएको छ। ‘सेप्टेम्बर १ सम्म ती कम्पनीलाई कारबाही नगरे नेपाल पठाउन नसकिने भन्दै विदेशी कम्पनीले समय दिएका थिए,’ थापाले भने, ‘तर नेपाल सरकारले अहिलेसम्म कारबाही गरेको छैन।’

फेक रेस्क्यू धन्दामा करिब डेढ दर्जन निकाय संलग्न रहेको भन्दै छानबिन समितिले प्रतिवेदन सरकारलाई बुझाए पनि अहिलेसम्म कसैलाई देखिने गरी कारबाही भएको छैन। त्यसले नेपालमा अराजकता मौलाएको प्रस्ट हुने थापाको भनाइ छ। व्यवसायीका अनुसार एक तिहाइ उद्धारका घटना नक्कली भएको प्रतिवेदनमा उल्लेख छ। फर्जी उद्धारको करोडौं रकम बिमाबापत दाबी गरिएको पनि प्रतिवेदनले जनाएको छ।

टानका प्रथम उपाध्यक्ष सुशीलराज पौडेल पनि नेपालको पदयात्रामा फेक रेस्क्यू बाधक बनेको बताउँछन्। उनका अनुसार राजधानीमा मात्र झन्डै १८ सय पदयात्री कम्पनी छन्। पोखरामा १ सय ८० कम्पनी छन्। राजधानीका केही कम्पनीको बदमासीको मार पोखराका कम्पनीले भोगेको उनले बताए। ‘हामीले बारम्बार माथिल्लो निकायमा सम्पर्क गरेर फेक रेस्क्यूमा संलग्नलाई कारबाही गर्न भनेका छौं,’ पौडेलले भने, ‘तर कतै सुनुवाइ भएको छैन।’ पौडेलका अनुसार फर्जी उद्धारमा संलग्न भएको प्रमाणित भएका टे«किङ कम्पनी, अस्पताल र हेलिकोप्टर सेवा प्रदायक कम्पनी पहुँचवालाका छन् । त्यसैले सरकारले ती कम्पनीलाई कारबाही गर्न नचाहेको उनले बताए।

अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले फर्जी उद्धारले गर्दा पर्यटनमा नकारात्मक सन्देश फैलिएको बताए । ‘नेपालमा बरु सबैलाई थाहा नहोला तर नेपाल आउन चाहेका विदेशीको कानमा यहाँ हुने फेक रेस्क्यूको सन्देश पुगिसकेको छ,’ भट्टराईले भने, ‘यसबाट नेपालकै बदनामी भएको छ। नेपालको पदयात्रामा जाँदा आइपर्ने जोखिमको बिमा हुँदैन भन्ने उनीहरुले बुझेका छन् ।’ सरकारले गलत गर्नेलाई कारबाही नगरेको खण्डमा पोखरेली व्यवसायी नै कडा रुपमा प्रस्तुत हुनुपर्ने अवस्था आउने उनले बताए।

टानका निवर्तमान अध्यक्ष दीपकराज अधिकारीले २०२० सम्म २० लाख विदेशी पर्यटक भिœयाउने लक्ष्यमा यो बाधक हुने बताए। ‘सरकारको लक्ष्य पूरा गर्ने हो भने नेपाल आउने विदेशीको सुरक्षाको ग्यारेन्टी हुनुपर्छ,’ उनले भने, ‘विदेशीलाई बिरामी बनाएर उद्धारको बहानामा लाखौं रकम लुटपाट गर्दा पनि सरकार कान नसुने झैं गरेको छ । यसले पदयात्रा क्षेत्रको बदनाम गरेको छ।’

अक्टोबरदेखि नेपालको पदयात्रा सिजन सुरु हुने व्यवसायीको भनाई छ। सिजनको मुखमा पदयात्रा क्षेत्रको बदनाम हुने गरी नकारात्मक सन्देश फैलिएको व्यवसायीले बताएका छन्।

प्रकाशित: २६ भाद्र २०७५ ०६:५५ मंगलबार

फेक_रेस्क्यू बिमा पर्यटक