अर्थ

‘कृषिमा महिलाको भूमिका उच्च’

काठमाडौं – कृषि तथा पशुपक्षी मन्त्री चक्रपाणि खनालले कृषि उत्पादनमा ग्रामीण क्षेत्रका महिलाको भूमिका उच्च रहेको बताएका छन् । युवाहरू विदेश जाने प्रवृत्ति बढेसँगै गाउँघरको खेतीपाती र कृषि क्षेत्र महिलाले नै धानेको उनको भनाइ छ।

वल्र्ड भिजन बहुउद्देश्यीय सहकारी संस्थाको सातौं वार्षिक साधारणसभामा बौल्दै मन्त्री खनालले सहकारीले ग्रामीण परिवेशमा महिलाको आयस्तर बढाउन मुख्य भूमिका खेलेको बताए। 

उनले अब कृषि सहकारी र बहुउद्देश्यीय सहकारीमार्फत युवा स्वरोजगार एवं महिलाको जीवनस्तर माथि उठाउन लगानीका क्षेत्र पहिचान गरी विशेष कार्यक्रम सञ्चालन गरिने बताए । त्यसका लागि कृषि मन्त्रालयले तयारी थालेको उनको भनाइ छ । ‘सामान्य मानिसको जीवन परिवर्तनमा सहकारीले मुख्य भूमिका छ,’ उनले भने, ‘विदेशमा रहेका ४० लाख युवालाई स्वदेश फर्काउन सरकारले काम गर्नुपर्छ।’ 

कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष चेतनाथ बजगाईंले वल्र्ड भिजन बहुउदेश्यीय सहकारीले ग्रामीण क्षेत्रका किसान एवं कृषि क्षेत्रको पहिचान गरी सहकारीका माध्यमद्वारा लगानी गर्दै आएको बताए । उनले आगामी दिनमा अझै कृषि एवं आयस्तर माथि उठाउने कार्यमा सहकारीले योगदान दिने जानकारी दिए । संस्थाको सेयर पुँजी एक करोड ३१ लाख रुपैयाँ छ । साधारणसभाले गत वर्षको मुनाफाबाट सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने प्रस्तावसमेत पारित गरेको छ।

 

प्रकाशित: २५ भाद्र २०७५ ०८:०२ सोमबार

कृषि महिला चक्रपाणि_खनाल