अर्थ

लघुउद्यमशील पुरस्कार सातै प्रदेशका एक–एक जनालाई

काठमाडौं – लघुउद्यमीहरुको मनोबल बढाउन निर्धन संस्थाद्वारा सञ्चालित लघुउद्यमशील पुरस्कार सातै प्रदेशका १–१ जनाले पाएका छन्।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले हालै उक्त पुरस्कार प्रदान गरेका थिए। प्रदेश नम्बर १ बाट तेह्रथुम, म्याङलुङकी ढाका कपडा उद्योगी श्रीमती चन्दा कुरुङवाङ, प्रदेश नम्बर २ बाट बारा, प्रसौनीकी भैंसीपालक, कृषि, टयाक्टर व्यवसायी श्रीमती सुमिन्त्रीदेवी पासवान, प्रदेश नम्बर ३ बाट रसुवा, कालिकास्थानकी ब्लक निर्माण उद्योगी श्रीमती बुट्टिमाया तामाङ, गण्डकी प्रदेशबाट स्याङ्जा, वालिङकी फर्निचर उद्योगी श्रीमती सीमा सारु पुरस्कृत भएका छन् । त्यसैगरी, प्रदेश नम्बर ५ बाट रुपन्देही, कोटिहवाकी गार्मेन्ट उद्योगी श्रीमती मोती थारु, कर्णाली प्रदेशबाट सुर्खेत, वीरेन्द्रनगरकी कुखुरापालक, फ्रेस हाउस र किराना पसल व्यवसायी श्रीमती हिरा भण्डारी र प्रदेश नम्बर ७ बाट कैलाली, फूलबारीकी केरा कृषक बबिताकुमारी चौधरी पुरस्कृत भए।

यस वर्षको डा. हरिहरदेव पन्त लघुउद्यमशील पुरस्कारको राशी जनही २० लाख रुपैयाँसहित सम्मानपत्र थियो।

लघुवित्तका प्रथम प्रवद्र्धक हरिहरदेव पन्तको स्मृतिमा डा. हरिहरदेव पन्त फाउन्डेसनले स्थापना गरेको डा. हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार नेपाल आर्थिक पत्रकार समाज (सेजन)का पूर्वअध्यक्ष गोकर्णराज अवस्थीले पाएका छन् । अवस्थीलाई कार्यक्रमका सभापति तथा नेपाल राष्ट्र बैंक पूर्वगभर्नर गणेशबहादुर थापाले नगद ३० हजार रुपैयाँ सहित सम्मान–पत्र प्रदान गरेका थिए।

आर्थिक क्षेत्रमा तथा ग्रामीण विकासमा योगदान पु-याउने विद्यार्थीको मनोबल बढाउन निर्धनले हरिहरदेव पन्त शैक्षिक उत्कृष्टता पुरस्कार पनि प्रदान गर्दै आएको छ । यस वर्षको उक्त पुरस्कार मौद्रिक अर्थशास्त्र विषयमा स्नातकोत्तर तहमा शैक्षिक सत्र २०७०/०७१ मा ७४ प्रतिशत अंक प्राप्त गरी प्रथम स्थान हासिल गरेका त्रिभुवन विश्वविद्यालयका रोशन कर्माचार्यलाई डा. हरिहरदेव पन्त शैक्षिक उत्कृष्टता पुरस्कार प्रदान गरिएको छ। उनलाई नगद ५० हजार र सम्मान–पत्र निर्धन संस्थाका अध्यक्ष  बिष्णुप्रसाद श्रेष्ठले प्रदान गरेका थिए । त्यसैगरी, त्रिभुवन विश्वविद्यालयबाट ग्रामीण विकास विषयमा स्नातकोत्तर तहमा शैक्षिक सत्र २०७०/०७१ मा छात्रातर्फ ६२.२ प्रतिशत अंक प्राप्त गरी प्रथम स्थान हासिल गर्न सफल बिशिका पराजुलीलाई ५० हजार पुरस्कार र सम्मान–पत्र निर्धन संस्थाका अध्यक्ष श्रेष्ठले प्रदान गरेको संस्थाको विज्ञप्तिमा उल्लेख छ।

निर्धन संस्था र डा. हरिहरदेव पन्त फाउन्डेसनको संयुक्त आयोजना भएको उक्त कार्यक्रम निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समिति अध्यक्ष गणेशबहादुर थापाको सभापतित्वमा भएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी थिए।

कार्यक्रममा डा. हरिहरदेव पन्त फाउन्डेसनका अध्यक्ष जनार्दनदेव पन्तले स्वागत मन्तव्य राख्दै निर्धनले सदैव नयाँ शैलीको कार्यक्रम सञ्चालन गर्ने गरेको जानकारी गराए।

प्रकाशित: २४ भाद्र २०७५ ०५:५२ आइतबार

लघुउद्यमी लघुउद्यमशील_पुरस्कार