अर्थ

ओली सरकार आएपछि पेट्रोलियम पदार्थको मूल्य बढेको बढ्यै

काठमाडौं– दुईतिहाई बहुमतसहित नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली सरकारमा आएसँगै पेट्रोलियम पदार्थ बढेको बढ्यै छ। फागुनमा सरकार बनाएका ओलीको कार्यकालको १ सय दिनभित्रै ५ पटक मूल्य वृद्धि भएपछि चर्काे विरोध भएको थियो। विरोध मात्र होइन प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भातृ संगठन नेविसंघले त सडक आन्दोलन नै गरेको थियो। त्यतिबेला सत्तारुढ दलका भातृ संगठन मूल्यवृद्धिको विरोध गर्न नहुने धारमा उभिएका थिए। चौतर्फी आलोचना भएपछि सरकारले मूल्य समायोजन गरेको थियो। तर बुधबार फेरि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।

यसपटक त पेट्रोल, डिजेल मट्टितेल मात्र होइन ग्यासको समेत मूल्य वृद्धि भएको छ। बुधबार राति १२ बजेदेखि लागु भएको नयाँ मूल्य अनुसार पेट्रोलमा १, मट्टितेल र डिजलमा ३÷३ तथा खाना पकाउने एलपी ग्यासको मूल्यमा २५ रुपैयाँ बढेको छ।

नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य १ सय १२ तथा डिजेल र मट्टितेलको मूल्य ९८ रुपैयाँ पुगेको छ। यस्तै एलपी ग्यासको मूल्य १४ सय पुगेको छ। निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको भन्दै समायोजन गरेको जनाएको छ। मूल्य बढाएपनि संस्था अझै घाटामा रहेको निगमको भनाई छ। 

प्रकाशित: २१ भाद्र २०७५ १४:३२ बिहीबार

अाेली_सरकार पेट्रोलियम_पदार्थ मूल्य_वृद्धि