अर्थ

रसुवागढी भन्सारमा सोमबारदेखि राजश्व संकलन सुरु हुने

रसुवा– रसुवागढी भन्सार कार्यालयमा सोमबारदेखि राजश्व सङ्कलन हुने भएको छ। बाढीपहिरोको कारण एक महिना ठप्प भएको नाकामा सवारी सञ्चालन सुरु भएको भएपनि व्यापारी आउने क्रम भर्खरै सुरु भएकाले राजश्व उठाउने कार्य ढिला भएको हो। 

‘सवारी साधन सञ्चालन सुरु भएको छ’, प्रमुख भन्सार अधिकृत गोपाल कोइरालाले भने, ‘तर व्यापारी आएर भन्सार गर्ने कार्य भएको छैन्।’ सवारी सञ्चालन सुरु हुने बितिक्कै राजश्व सङ्कलन सुरु नहुने उनको भनाइ छ। 

नाका सञ्चालनमा आएपछि बुधबार ६४ वटा कन्टेनर चीनको केरूङ गएका छन् भने ३४ वटा कन्टेनर नेपाल भित्रिएका छन्। सडक सुचारु भएसँगै नाकामा सवारीको चाप बढेको शसस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म रसुवाका प्रहरी नायव उपरीक्षक मेखराज जोशीले बताए। 

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा मंगलबारदेखि सवारी साधन सञ्चालन सुरु भएको हो। पहिलो दिन केही सवारी चीन प्रवेश गरेका थिए। सवारी सञ्चालन सुरु भएपछि चीनको केरूङबाट नेपाल आएका व्यापारी तथा व्यवसायी फर्कन थालेका छन्। 

तीज र दशैका लागि ल्याउन लागिएका सामग्री चीनको केरुङमा राखिएको छ। त्यहाँ रहेको सामग्री निरन्तर आउने रसुवागढी भन्सार कार्यालयले जनाएको छ। सडक अवरुद्ध भएपछि करिव एक महिना राजश्व सङ्कलन प्रभावित बनेको थियो। 

रसुवागढी नाकालाई चीनले २०७४ भदौ १४ गते अन्तर्राष्ट्रिय नाका घोषणा गरिसकेको छ। चीनबाट तयारी कपडा, स्याउ, लेडिज सेण्डल, रबर, प्लाष्टिकका जुत्ता चप्पल, हाते झोला, छालाको जुत्ता, मोटरको ब्याट्री, युपीएस, प्लाष्टिकका सामग्रीहरू आयात हुने गरेको छ। 

नेपालबाट चीनतर्फ धातुको मूर्ति, काठका सामग्री, अम्रिसोको कुचो, बाँसको मुडा, मेहन्दी, दन्तमन्जन, श्रृंगारका सामान, चाउचाउ, पास्ता, जुस, जाम, चकलेट, उनी गलैंचा, कार्पेट, चुइगम, हेयर आयल, हेयर क्रिम लगायतका मुख्य वस्तुहरु निकासी भइरहेको छ। 

२०७१ सालदेखि औपचारिक रुपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक २ सय ५० भन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेका छन्। चीनले अन्तर्राष्ट्रिय नाकाको रुपमा घोषणा गरेसँगै सीमामा व्यापारी, व्यवसायी र सवारीको चाप बढ्दै गएको छ। 

रसुवागढी नाकाबाट चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दूरी पार गर्नुपर्छ।

प्रकाशित: २१ भाद्र २०७५ १०:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App