अर्थ

कृषिमा व्यवसायीकरण गर्न ‘एक वडा, १० युवा’ कार्यक्रम लागू

सुर्खेत - पञ्चपुरी नगरपालिकाले युवाहरुलाई कृषि कार्यमा आकर्षित गर्न ‘एक वडा, १० युवा’ कार्यक्रम लागू गरेको छ। जस अन्तर्गत प्रत्येक वडाबाट चालू आर्थिक वर्षमा १० जना युवालाई उदाहरणीय कृषक बनाउने योजना नगरपालिकाको छ।

पञ्चपुरी नगरपालिकामा ११ वडा छन्। प्रत्येक वडाबाट १०–१० जना युवाहरु छनोट गरेर उनीहरुलाई व्यवसायिक कृषिकर्ममा लगाइने मेयर उपेन्द्रबहादुर थापाले जानकारी दिए। ‘पञ्चपुरी नगरपालिका कृषिका लागि उर्वर भूमि भएपनि यहाँका युवाहरुमा कृषिप्रति आकर्षण छैन्’ मेयर थापाले भने, ‘युवाहरुलाई कृषिमा आकर्षित गर्नका लागि पहिलो चरणमा प्रत्येक वडाबाट १०–१० जना युवाहरु छनोट गरेर उदाहरणीय कृषिक बनाउने योजना ल्याएका हौं।’नगरपालिकाले वडाहरुबाट छनोट भएका ११० जना युवाहरुलाई आवश्यक तालिम, सीप र अनुदान दिएर कृषि कार्यमा लगाउने छ। उनीहरुले अर्को आर्थिक वर्षबाट गाउँका अन्य युवाहरुलाई तालिम र सीप सिकाउने छन्।

यहाँका अधिकांस युवाहरु रोजगारीका लागि भारत जाने गरेका छन्। भारतमा पनि न्यून ज्यालामा काम गर्ने युवाहरुलाई आफ्नै ठाउँमा स्वरोजगार बनाउन पहिलो चरणमा एक वडा, १० युवा कार्यक्रम ल्याइएको उनले बताए। नगरपालिकाले ११ वटै वडामा छुट्टाछुट्टै कृषिको पकेट क्षेत्र घोषणा गर्दैछ। ‘पानी लाग्ने ठाउँमा तरकारी, पहाडी क्षेत्रमा फलफूल र पशुपालनको पकेट क्षेत्र घोषण गर्दैछौं, सोही अनुसार युवाहरुलाई तालिम, सीप र अनुदान प्रदान गछौं’ मेयर थापाले भने, ‘११० युवामार्फत अन्यलाई पनि कृषिकर्ममा लगाउने लक्ष्य नगरपालिकाले लिएको छ।’

 

प्रकाशित: १८ भाद्र २०७५ ०९:४९ सोमबार

पञ्चपुरी_नगरपालिका कृषि एक_वडा_१०_युवा