अर्थ

लगानी सम्मेलन : कृषि, पर्यटन र जडिबुटी प्राथमिकतामा

जुम्ला– आगामी भदौ २९ गते हुन लागेको जुम्ला लगानी सम्मेलनमा तीन वटा क्षेत्रमा लगानी गर्न आह्वान गरिने भएको छ। यहाँको कृषि, पर्यटन र जडिबुटीको क्षेत्रमा लगानी गर्न लगानीकर्तालाई उत्साहित गरिने भएको हो। आर्थिक समृद्धि र प्राकृतिक स्रोत साधानको भरपुर सदुपयोग गर्न लागि तीन वटा क्षेत्रमा लगानी गर्न अपिल गरिने चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवालले बताईन।

चन्दननाथ नगरपालिकाका नगर प्रमुख कान्तिका सेजुवालले पत्रकार सम्मेलनको आयोजना गर्दै लगानीकर्तालाई सहज वातावारणमा लगानी गर्न बाटो खुला गर्ने बताईन। उनका अनुसार सम्मेलनमा कृषि, पर्यटन र जडिबुटीको क्षेत्रमा विषय विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने छन्।  उनले भन्नि, ‘लगानी गर्ने आधारको बारेमा नगरपालिकाले स्पष्ट पार्ने छ, त्यसपछि लगानी गर्नेहरुका लागि वातावारण सहज हुने छ, सम्मेलन पछि ढुक्क भएर लगानीकर्ताले लगानी गर्न पाउनेछन्। 

सम्मेलनमा अर्थमन्त्री, खतिवडा अर्थ मन्त्रालयका सचिव, राष्ट्रिय योजना आयोगका सदस्य मीनबहादुर शाही, विभिन्न देशका राजदुत, उद्योगी, व्यवसायी सबैको सहभागिता हुने भएको छ। समग्र जुम्ला सहित कर्णाली प्रदेशको आर्थिक उन्नतीका लागि लगानी गर्ने उद्देश्यले जुम्लामा चन्दननाथ नगरपालिकाले पहिलो पटक सम्मेलनको तयारी थालेको हो। ‘यो सम्मेलन मार्फत लगानीकर्ताको वेसलाइन सर्भे हुनुका साथै जुम्लामा रहेका प्रचुर पर्यटकीय सम्भावनाका स्थलहरुलाई विश्व सामु चिनाउने एक संयन्त्र भएको मेयर सेजुवालको भनाइ छ।

संघीय र प्रदेश सरकारले जुम्लालाई समान दृष्टिकोणले हेर्न सक्ने वातावरणको सिर्जना हुने अपेक्षा समेत राखेको नगरपालिकाले जनाएको छ। जुम्लामा सम्भावना बोकेका पर्यटकीय गन्तव्य स्थल र थरिथरीका जडिबुटीको पहिचानको प्रचार प्रसारले जुम्लाको आर्थिक र सम्वृद्धिमा टेवा पुग्ने भएको छ। लगानी सम्मेलनका माध्यमबाट पर्यटकिय गन्तव्यको पहिचान गर्ने र यहाँ उत्पादित औषधीजन्य जडिवुटीको प्रशोधन र बजारीकरणमा सघाउ पुग्ने भएको छ। ‘विकास सामथ्र्यको उजागार’ भन्ने नाराका साथ भदौ २९ गते चन्दननाथ नगरपालिकाले कर्णाली प्राविधिक शिक्षालयको हलमा लगानी सम्मेलन गर्ने भएको छ।

प्रकाशित: १८ भाद्र २०७५ ०४:३२ सोमबार

लगानी_सम्मेलन जुम्ला प्राथमिकता