अर्थ

बगैचामै स्याउको मूल्य प्रतिकेजी ६०, किसान उत्साहित

जुम्ला – जुम्लाको अर्गानिक स्याउ अहिले बोटमै ६० रुपैयाँ केजीमा विक्री भइरहेको छ। पहिले सदरमुकाम खलंगा बजारसम्म ल्याउदा २० देखि २५ रुपैयाँमा विक्री गर्न बाध्य स्याउ किसान अहिले बोटमै ६० रुपैयाँ प्रतिकेजीमा विक्री गर्न थालेका हुन।

अहिले जिल्ला देखि जिल्ला बाहिरका स्याउ व्यापारीले किसानको बगैचामै गएर स्याउ किन्ने गरेका छन्। यो पटक फल्ने स्याउको क्षेत्रफल बढेको भएपनि उत्पादनका हिसावले निकै कम फलेको होे। अहिले किसानले स्याउ बेच्नकै लागि बजार धाउनु परेको छैन्। यो समयमा विमानस्थल र सदरमुकाम खलंगाका विभिन्न स्थानमा डोकोमा स्याउ बेच्न आउनेको घुइचो लाग्थ्यो। तर यो समयमा बगैचामै स्याउ बेच्न किसानलाई भ्याई नभ्याई छ।

बोटमै भने बमोजिमको मुल्यमा स्याउ बेच्न पाएपछि दुख गरेर बजारसम्म पुर्याउनुपर्ने बाध्यता हटेको चन्दननाथ नगरपालिका ३ का हरेराम भण्डारीले बताए। उनले भने, ‘व्यापारी दैनिक स्याउको लागि बगैचामा पुग्छन, कसैले नगद दिएर स्याउ स्टोरमा राखिदिन भन्छन, त कसैले बगैचामै पुगेर स्याउ उठाएर लैजान्छन। 

स्थानीय किसान कालीबहादुर थापाले भने, ‘अहिलेसम्म बोटमै प्रति किलो ६० रुपैयाँ मुल्य पाउदा निकै खुसी छु। कोल्डस्टोरमा राखेर बेमौसममा स्याउ महंगोमा विक्री गर्ने योजना त छ तर लामो समयसम्म सुरक्षित रुपमा राख्न सकिदैन समस्या छ।’ छिमेकी किसानको स्याउ बोटमै ६० रुपैयाँमा विक्री भइरहदा आफूले पनि दिगोसम्म राख्न नसकेको अनुभव सुनाए।  

जुम्लाको इतिहासमै बोटमा ६० रुपैयाँ केजीमा स्याउ किसानले बेचेको यो पहिलो पटक हो। गत वर्ष प्रतिकेजी ५० रुपैयाँमा स्याउको किनबेच भइरहेको थियो। यसअघि जिल्ला कृषि विकास कार्यालयले ग्रेड विभाजन गरेर स्याउको मूल्य निर्धारण गर्दै आएको थियो। यो पटक किसानले आफ्नो उत्पादनको आफै मूल्य निर्धारण गरेका हुन। प्रत्येक स्थानीय तहले स्याउमा कर लगाएपछि किसानले महंगोमा स्याउ विक्री गर्न थालेका हुन। 

गत वर्षमा स्याउको मूल्य निर्धारण समितिले एक ग्रेड स्याउको ३५, बी ग्रेडको ३० र सी ग्रेडको २५ रुपैयाँ मूल्य निर्धारण हुँदै आएको थियो। यहाँ उत्पादित आधा भन्दा धेरै स्याउ नेपालका ठूला शहरसम्म पुग्ने गरेको छ। जिल्ला समन्वय समिति जुम्लाले यहाँका स्थानीय तहसँग समन्वय गरेर भदौ पहिलो साता अघि स्याउ नटिप्न सुझाव दिएको थियो भने भदौ दोस्रो साता अघि स्याउ जिल्ला बाहिर निर्यात गर्न नपाइने गरी परिपत्र गरेको थियो। 

प्रकाशित: १७ भाद्र २०७५ १०:५२ आइतबार

स्याउकाे_मूल्य_उच्च जुम्ला किसान_उत्साहित