अर्थ

रुपन्देहीका ठूला आयोजना निर्माणको गति सुस्त

निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलकाे खाका ।

रुपन्देही - १७ वर्षमा पूरा गर्ने लक्ष्य सहित बनेको लुम्बिनी गुरुयोजना चार दशक वित्दा समेत पूरा भएको छैन। सन् १९७८ मा विश्वकै प्रख्यात जापानका वास्तुविद् प्रोफेसर केञ्जो टांगे नेतृत्वको टिमले ६ वर्ष लगाएर लुम्विनीको गुरुयोजना तयार पारेका हो। सन् १९९५ मा गुरुयोजनाको काम सक्ने लक्ष्य राखिएको थियो। तर, निर्माण सक्ने लक्ष्य नाघेको २३ बर्ष वित्दा समेत काम भने अधुरै छ।

लुम्बिनी गुरुयोजना, अन्तर्राष्ट्रिय विमानस्थल, वुटवल बेलहिया व्यापारिक मार्ग, अन्तराष्ट्रिय सभाहल र बेल्बास बेथरी सडक सम्झौता अविधमा सम्पन्न नभएका योजनामा पर्छन। 

अन्तर्राष्ट्रिय पर्यटकीय स्थल लुम्बिनीको गूरुयोजना नेपाल सरकारकै महत्वको योजना हो। तर, यसको निर्माणमा बजेट अभाव, लुम्बिनी विकास कोषका पदाधिकारीहरुको लापरवाहीले गर्दा पूरा हुन सकेको छैन। लुम्बिनी विकास कोषका अनुसार अहिलेसम्म गुरुयोजनाको ७० प्रतिशत मात्रै काम सम्पन्न भएको छ। कोषका उपाध्यक्ष भिक्षु मैत्रयले अब भने कामको गति अघि बढ्ने बताए। ‘एक हप्ताभित्रमा हामी कन्सलटेन्ट नियुक्त गर्छौ, त्यसपछि बाँकी कामलाई प्याकेजमा ग्लोबल टेन्डर गरेर अन्तराष्ट्रिय कम्पनीलाई दिने योजना छ’ उनले भने। उनले अबको ३ बर्षभित्र जसरी पनि गुरुयोजनाको काम सम्पन्न गर्ने जिकिर गरे। बाँकी कामका लागि ६ अर्ब बजेट लाग्ने अनुमान छ। 

लुम्बिनी गुरुयोजना मात्रै होईन। रुपन्देहीमा सञ्चालित राष्ट्रिय गौरवका र ठूला आयोजना निर्माणमा ढिलाई भइरहेको छ। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बुटवल–बेलहिया ६ लेन सडक, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, बेलवास–बेथरी नमूना सडक निर्धातिर समयमा सम्पन्न नभएका ठूला आयोजना हुन।

राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पनि समयमा सम्पन्न हुन नसकेपछि एक बर्ष म्याद थप भएको छ। सरकारले  चिनियाँ ठेकेदार कम्पनी नर्थवेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सनलाई कुल ६ अर्ब २२ करोड ५१ लाख २० हजार २ सय २७ रुपैयाँमा ठेक्का दिएको थियो। तर, चिनियाँ कम्पनीले भने समयमा काम गर्न नसकेपछि आयोजनाले एक बर्ष म्याद थप गरेर अहिले निर्माण भइरहेको छ। सन् २०१७ मा सम्पन्न हुने गरि  शुरु गरिएको विमानस्थल निर्माण नसकिएपछि एक बर्षका लागि म्याद थप भएको हो। नेपाल नागरिक उड्डयन प्राधिकरणले समयका काम सम्पन्न गर्न नसक्ने ठेकेदार कम्पनीलाई मूल्य अभिबृद्धि कर तिर्ने गरि अहिले काम भइहरेको छ। अहिलेसम्म ६० प्रतिशत काम सम्पन्न भएको भन्दै अबको एक बर्षमा अन्तर्राष्ट्रिय उडान हुने आयोजनाले जनाएको छ।एसियाली विकास बैंकको लगानीमा निर्माणाधीन विमानस्थलमा एडिबीको ४० दशमलव ५ प्रतिशत ऋण तथा १८ प्रतिशत अनुदान छ। यस्तै ओपेक फण्ड फर इन्टरनेसनल डेमलपमेन्टको ३० दशमलव ५ प्रतिशत र थप ११ प्रतिशत ऋण लगानी  छ। 

यस्तै तीन बर्षमा सक्ने योजनाका साथ शुरु गरिएको बेलहिया बुटवल ६ लेन सडक ७ बर्ष पूरा हुँदासम्म पनि पूरा हुन सकेको छैन। नेपाली लगानी र नेपालकै इञ्जिनियरिङ्ग डिजाईनमा निर्माण भएकाले यो सडकलाई नेपालकै नमूना सडकको रुपमा हेरिएको छ।अहिलेसम्म निर्माण पूरा नहुँदा मणिग्रामदेखि भैरहवासम्मको यात्रा सकसपूर्ण बनेको छ। आर्थिक बर्ष २०६८/६९ सालदेखि निर्माण शुरु भएको यो सडकको १२ किलोमिटर सडक मात्रै कालोपत्रे भएको छ। करिव १२ किलोमिटर सडक निर्माण हुन अझै बाँकी छ। 

बुटवलमा निर्माणाधिन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माणले पनि गति लिन सकेको छैन। बुटवल रामनगरमा निर्माणाधिन सम्मेलन केन्द्रमा सभा हलको काम तीन पटक म्याद थप गर्दा समेत पूरा हुन सकेन। ३० महिनामा निर्माण पूरा गर्ने गरी २०७१ साल माघ १५ गते निर्माण कम्पनी रविना समानन्तर चन्द्रसूर्य जेबी कम्पनीले बुटवल सभाहलको ठेक्का सम्झौता गरेको थियो। तर निर्धारित समयमा काम नसकेपछि आयोजनाले पटक–पटक विभिन्न कारण देखाई म्याद थप गरिरहेको छ। निर्माण सम्पन्न गर्नुपर्ने समय पूरा भएपनि अहिले सम्म जम्मा ६५ प्रतिशत मात्रै भएको छ।

यसैगरि नमूना सडकका रुपमा हेरिएको बेलबास–बेथरी सडक पनि अलपत्र परेको छ। २०७३ सालबाट १ अर्ब ४८ करोड ९९ लाखको लागतमा निर्माण सम्झौता गरिएको सडक खण्डको कामले गति लिन सकेको छैन। बेल्बासदेखि बेथरी सडकमा केही ठाउँमा काम भएपनि त्यो पूरा नहुँदा यात्रु सकसपूर्ण यात्रा गर्न बाध्य भएका छन्। 

प्रकाशित: १५ भाद्र २०७५ १३:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App