अर्थ

इतिहासकै कमजोर बन्याे नेपाली मुद्रा

काठमाडौ– नेपाली मुद्रा कमजोर हुने क्रम जारी छ। नेपाल राष्ट्रबैंकले बिहिबारका लागि १ अमेरिकी डलर बराबर ११३ रुपैयाँ २५ पैसा सटही दर निर्धारण गरेको छ। यो सटही दर इतिहासकै उच्च हो।

अमेरिकी अर्थतन्त्र बलियो बन्दै जाँदा त्यसकाे असर भारतीय मुद्रा हुँदै नेपाली मुद्रामा पनि परेको हो। राष्ट्रवैंक विदेशी विनिमय विभागका अनुसार यो दर हालसम्मकै उच्च दर हो भने एकैदिनमा नेपाली मुद्रा प्रति डलर १ रुपैयाँले कमजोर भएको हो। 

 विभागका निर्देशक भिष्मराज ढुँगानाका अनुसार डलरको माग विश्वव्यापीरुपमै बढेकाले भारतीय रुपैयाँ कमजोर बनेको हो।  
नेपाली मुद्राको विनिमयदर भारतीय मुद्रासँग स्थीर रहेकाले नेपाली मुद्रा डलरसँग कमजोर बन्दै गएको हो। भारतीय रुपैयाँ १०० बराबर नेपाली १६० रुपैयाँ स्थीर विनिमय दर छ।

नवउदीयमान अर्थतन्त्रभएका मुलुकसँग अमेरिकाको व्यापार टकराव, ल्याटिन अमेरिकी मुलुकसँगको व्यापारमा अमेरिकी आकर्षण र आफ्ना नागरिकलाई स्वदेशमै लगानी गर्न प्रोत्साहन गर्ने अमेरिकी नीतिका कारण तत्कालका लागि त्यहाको अथतन्त्र बलियो बन्दै गएको छ।

'यसले गर्दा विश्व बजारमै डलरको माग बढ्दै गएको देखिन्छ,'ढुंगानाले भने,‘अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिएको ‘अमेरिका पहिले’ भन्ने नीतिले डलर बलियो भएको हो।

रिर्जभ बैंक अफ इन्डिया(आरआईबी)ले आजका लागि १ डलर बरावर ७०.८२ भारु बिनिमयदर निर्धारण गरेको छ। यही दरअनुरुप नेपालले अन्तर्राष्ट्रिय मुद्रासँगको विनिमयदर निर्धारण गर्नुपर्ने भएकाले नेपाली मुद्रा कमजोर बन्न पुगेको हो।

भारतले गरेको एक आन्तरिक अनौपचारिक प्रक्षेपणअनुसार भारुको विनिमयदर आगामी ३ महिनामा अझै ३ रुपैयाँले कमजोर हुनसक्छ। यसअनुसार नेपाली मुद्रा अझै अवमूल्यन हुनसक्ने खतरा  छ।

भारतले मुद्रा अवमूल्यनको क्षति कम गर्न आन्तरिक उत्पादनमा बृद्धि गरी निर्यात प्रवर्दन गर्ने रणनीति तय गरेको छ। तर नेपाल मुद्राअवमुल्यनका असर कम गर्न कुनै रणनीति तय गरेको छैन।

नेपालले आर्थिक वर्ष २०७४/७५मा ११ खर्ब ६२ अर्ब रुपैयाँको ब्यापार घाटा ब्यहोरेको थियो। करिब १२ गुणा व्यापार घाटा बेहोरिरहेको नेपालको अर्थतन्त्रलाई मजबुद डलरको अझ धेरै असर पर्नेछ। आयातमूखी अर्थतन्त्र भएको नेपालले आयातको बढदो आयातनको असरका अतिरिक्त बलियो डलरका लागि थप भुक्तानी गर्नुपर्ने अवस्था आएको छ।

डलर मजुबुत हुँदा नेपाली अर्थतन्त्रमा रेमिट्यान्सबाट भने फाइदा हुन्छ। त्यस्तै नेपालले प्रत्यक्ष बैदेशिक लगानी(एफडीआई) बढाउने हो भने लाभ हुनेछ। डलर अवमूल्यनको असरलाई महशुस गरेर स्वदेशी उत्पादन प्रवर्दन गर्ने अभियान चलाउने अवसर पनि सरकार र सरोकारवालालाई छ।

 

प्रकाशित: १४ भाद्र २०७५ ०७:२६ बिहीबार

नेपाली_मुद्रा अमेरिकी_डलर कमजोर