अर्थ

बाजेको सेकुवा बन्द गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडाैं- सर्वोच्च अदालतले बाजेको सेकुवाका शाखाको सिलबन्दी र ब्राण्ड खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। 

न्यायाधीश सपना प्रधान मल्लको एकल इजलाशले बुधबार बाजेको सेकुवाका शाखाको सिलबन्दी र ब्राण्ड खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो। 

सिलबन्दी गर्ने सरकारको निर्णयविरुद्ध बाजेको सेकुवाका लगानीकर्ता चेतन भण्डारीको पत्नी नीतिमा भण्डारीले यही भदौ १० गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। सरकारले शङ्काको भरमा बाजेको सेकुवा शाखामा तालाबन्दी हुँदा सो निर्णय खारेज गर्न आदेशमा माग गरिएको थियो। 

आदेशमा नेपालको संविधानमै पेशा तथा व्यवसाय गर्न पाउने मौलिक हकको व्यवस्था गरिएको हुँदा सरकारले मौलिक हकविरुद्ध रोक लगाउन नमिल्ने देखिएको र बाजेको सेकुवा सिलबन्दी गर्ने निर्णयका आधार र कारणसमेत नदेखिएको उल्लेख छ। 

सरकारले सुन तस्कर गरेको पैसा लगानी गरेर बाजेको सेकुवा सञ्चालन गरेको शङ्कामा सिलबन्दी गर्ने निर्णय गरेको थियो। बाजेको सेकुवामा भण्डारीले चूँडामणि उप्रेती ‘गोरे’सँग मिलेर सुन तस्कर गरेर लगानी गरेको आरोप लागेको थियो। रासस

प्रकाशित: १३ भाद्र २०७५ १६:०० बुधबार

बाजेकाे_सेकुवा सुन_तस्करी सर्वाेच्च_अदालत