अर्थ

नेप्सेमा टिकेन सुधार

काठमाडाै अगिल्लो साता आषाजनक संकेत देखाएको शेयरको दोस्रो बजारको कारोबार यो साता नकारात्मक रहयो। यो साता नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक र कुल कारोबार रकम दुवै घटे।

अगिल्लो साताभन्दा कारोबार रकम १७.८४ प्रतिशतले घट्यो भने परिसूचक पनि आइतबारको भन्दा बिहिबार १७.७९ अंकले ओर्लेर ११ सय ७८.५० कायम भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

यो साता नेप्सेमा १८५ कम्पनीका ४४ लाख २१ हजार ९ सय ५० कित्ता सेयरहरु खरिद बिक्री हुँदा एक अर्ब १७ करोड ७५ लाख ७१ हजार रुपैयाँको कारोबार भयो जवकी अगिल्लो साता १ अर्ब ४३ करोड ३२ लाख ९४ हजार रुपैयाँको शेयर कारोबार भएको थियो।

यो साता समूहगत कारोबारमा सबैभन्दा धेरै क्षति जीवन बिमा समूहमा १७० अंकको गिरावट आएको छ भने निर्जीवन बिमा समूह ९०.६१ अंकले घटेको देखिन्छ। बढेको एममात्र व्यापार समूहको सूचक २.९५ अंकमात्रले बढेको छ। 

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ३.५४ अंकले घटेर २४८.९९ अंकमा आईपुगेको छ ।यस साता ६ करोड ६१ लाख ६० हजार रुपैयाँको २ लाख १३ हजार कित्ता शेयर कारोबार भएर एनएमबि बैंक अग्रस्थानमा रहेको छ।

नियमावलीको समस्याका कारण लामो समय सूचीकरण हुन नपाएकामा यो साता १२ विभिन्न कम्पनी प्राथमिक बोनस तथा हकप्रद शेयर सूचीकृत भए।

 

प्रकाशित: ९ भाद्र २०७५ ०८:५९ शनिबार

शेयर कारोबार