अर्थ

सामसङ ग्यालेक्सी नोट ९ सार्वजनिक

याँ दिल्ली - सामसङ कम्पनीले क्यामराको सुविधामा विशेष जोड दिँदै आफ्नो पछिल्लो उत्पादन ग्यालेक्सी नोट ९ लाई सार्वजनिक गरेको छ।

सामसङ इलेक्टोनिक्स, आइटी तथा मोबाइल कम्युनिकेसन्स डिभिजनका ग्लोबल अध्यक्ष तथा सिइओ डिजे कोहले भारतको नयाँ दिल्लीनजिक रहेको गुरुग्राममा ग्यालेक्सी नोट ९ को बुधबार औपचारिक रुपबाट सार्वजनिक गरे। यो दक्षिण एसियाली मुलुकका लागि हो । यसअघि यसको अमेरिकामा सार्वजनिक गरिएको थियो।

कार्यक्रममा अध्यक्ष डिजेले यो क्षेत्रमा ७० हजार सामसङका कर्मचारी रहेको जानकारी दिँदै यो मोबाइल कम्पनीको सबैभन्दा नविनतम उत्पादन भएको बताए। डिजेले यसमा समावेश गरिएको रिमोट कन्ट्रोल जडित नयाँ एस पेनले प्रिजेन्टेसन दिन, सेल्फी लिन लगायत काममा सजिलो बनाएको बताए । यो नयाँ फोन प्रयोग गर्दा कम्प्युटर चलाए जस्तै अनुभव हुने बताइएको छ।

उनले अब भारतबाट चाँडै सामसङका मोबाइल उत्पादन गरिने बताए । ‘प्रतिघन्टा चार हजार मोबाइल उत्पादन गर्दैछौं,’ उनले भने।

सामसङले उत्पादन गरेको नयाँ यो नोट ९ मा अहिलेसम्मकै उत्कृट क्यामेरा जडान गरिएको छ । यसमा डुअल पावरफुल क्यामरा छ । दुई गुनादेखि १० गुनासम्म जुम गराउन सकिने छ । तस्बिर लिँदा क्यामेरा हल्लिएको र आँखा झिम्किएको वा बन्द भएको, क्यामेराको लेन्समा केही लागेको र ब्याक लाइट नमिलेको भए संकेत दिने सुविधा राखिएको छ । यो मोबाइलमा ६.४ इन्चको स्क्रिन जडान गरिएको छ । यसलाई धुलो र पानीले असर नपर्ने गरी बनाइएको छ । यसको ब्याट्री जति चलाए पनि कम्तीमा एक दिनलाई पुग्ने दाबी गरिएको छ । यसमा ४००० एमएएच ब्याट्री राखिएको छ । यो चारवटा कलरमा उपलब्ध छ।

यो मोबाइल नेपालमा भदौ १५ देखि उपलब्ध हुने बताइएको छ । यसको मूल्य एक लाख नौ हजार नौ सय रुपैयाँ पर्नेछ । नेपालमा यो मोबाइल बेच्ने कम्पनीहरुले विभिन्न सुविधाको प्याकेज पनि ल्याएका छन् । एनसेल नेटवर्कले १८ हजार एमबी डाटा फ्री दिनेछ । यस्तै, शिखर इन्स्योरेन्समार्फत एक वर्षको टुटफुटको बिमा सुविधा उपलब्ध छ । पहिले बुक गर्ने ग्राहकलाई पनि विभिन्न सुविधा दिइएको छ । टर्किस वायुसेवाका टिकटमा १० र १५ प्रतिशत छुट, विभिन्न होटलमा छुट, विदेशी ब्रान्डका पलसमा पनि छुट सुविधा दिइएको छ । महिला वा पुरुषका लागि फेसियल गर्दा र फुल बडी चेकअप गर्दा पनि विभिन्न छुट सुविधा दिइएको छ । पहिले बुकिड गर्ने ग्राहकमध्ये लक्की ड्रमार्फत एकजनालाई टर्किस वायुसेवाको डेस्टिनेसनमा फ्री राउन्ड टिकेट दिइनेछ । यस्तै दोस्रो हुने ग्राहकलाई पनि हिमालयन फ्रन्ट वा वाटर फ्रन्ट रिसोर्टमा दुई रातको बसाइ सुविधा दिइएको छ।  
 

प्रकाशित: ८ भाद्र २०७५ ०४:२० शुक्रबार

सामसङ ग्यालेक्सी_नोट_९