अर्थ

एमजी मोटर्सको जिएस र जेडएस कार नेपाल भित्रियो

काठमाडौं – पारामाउन्ट मोटर्सले बेलायती कार उत्पादक कम्पनी एमजी (मोरिस ग्यारेज) मोटर्सका उत्पादन जिएस र जेडएस नेपाली बजारमा ल्याएको छ । पारामाउन्ट मोटर्स एमजीको नेपालस्थित आधिकारिक बिक्रेता हो।  

सेडानको विकल्प हुनसक्ने जिएस र जेडएस मोडलका कम्प्याक्ट प्रिमिएम एसयुभी विश्वबजारमा अतिनै मनपराइएका मोडल हुन् । जसको उपस्थितिले अटोमाबाइलको नयाँ युगमा प्रवेश गराउने कम्पनीको भनाइ छ। 

‘अन्तर्राष्ट्रिय मोटर ब्रान्डको बर्चश्व रहेको नेपाली बजारमा एमजीको उपस्थितिले अझै गाडी पारखीलाई उत्साहित बनाएको छ,’ पारामाउन्ट मोटर्सका जनरल मेनेजर सचिन अर्यालले भने, ‘यसले उत्कृष्ट इन्जिनियरिङ, स्टाइल, सेफ्टी र आरामदायी विशेषतालाई बढावा दिनेछ।’

नक्सालमा नयाँ सोरुम
यसैबीच कम्पनीले काठमाडौंको नक्सालमा अत्याधुनिक सोरुम सञ्चालनमा ल्याएको छ । मंगलबार एक समारोहबीच नेपालका लागि बेलायती राजदूत रिचर्ड मोरिसले सोरुमको उद्घाटन गरे। 

‘स्टेट अफ आर्ट’ सुविधासहितको सोरुम एमजी मोटर्सको अन्तर्राष्ट्रिय कन्सेप्टमा आधारित अत्याधुनिक तरिकाले निर्माण गरिएको छ । सोरुममा उपभोक्ताले उच्च कोटीको सेवा प्रप्त गर्नुका साथै, ब्रान्ड, उत्पादन र सेवाको विषयमा ज्ञान हाँसिल गर्न सहज हुने कम्पनीले जनाएको छ।

प्रकाशित: ६ भाद्र २०७५ ०३:२६ बुधबार

मोरिस_ग्यारेज नेपाली_बजार