अर्थ

उड्डयन प्राधिकरणको बजेट ४५ अर्ब १७ करोड

काठमाडौं - नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आर्थिक वर्ष २०७५/७६ का लागि कूल रु ४५ अर्ब १७ करोड ५६ लाख ९५ हजार ५५३ बजेट विनियोजन गरेको छ। 

क्यानले अाइतवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको बजेट, नीति तथा कार्यक्रम अनुसार चालू आवमा रु पाँच अर्ब ९६ करोड ८३ लाख आम्दानी गर्ने लक्ष्य लिएको छ। विमानस्थल शुल्कबाट रु दुई अर्ब ३४ करोड सात लाख आम्दानी गर्ने योजना छ।

क्यानको स्वीकृत बजेटमध्ये पूँजीगतर्फ रु ३४ अर्ब २५ करोड र कार्यालय सञ्चालनतर्फ रु तीन अर्ब ८६ करोड रहेको छ। चालू आवको बजेट स्रोतअन्तर्गत प्राधिकरणको रु २४ अर्ब ३२ करोड ५७ लाख र सरकारबाट ऋण अनुदान र शेयर लगानी समेत गरी रु २० अर्ब ८५ करोड रहेको छ। यसमध्ये रु सात अर्ब ५२ करोड ३१ लाख शेयर लगानीमा, रु ११ अर्ब ८२ करोड ६९ लाख ऋण र एक अर्ब ५० करोड अनुदानमा आउने अपेक्षा लिएको क्यानले जनाएको छ। 

सात विमानस्थल नाफामा 
क्यानले सञ्चालन गरेका विमानस्थलमध्ये त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले गत आवको सञ्चालन नाफा रु पाँच अर्ब ८१ करोड छ। यो सहित सात विमानस्थल मात्र नाफामा छन् बाँकी सबै घाटामा चलिरहेका छन्। पोखराले रु तीन करोड ६५ लाख कमाएको छ। लगानी गरेको हिसाबले सबै घाटामा भए पनि बजेट विनियोजन र लगानीको आधारमा हेर्दा सात वटा विमानस्थल मात्रै नाफामा छन्। सबैभन्दा बढी जनकपुर रु एक करोड ८० लाख घाटामा गएको छ।

क्यानले सबैभन्दा बढी खर्च जग्गा खरीद बिक्रीमै गरेको छ। गत आवमा रु १४ अर्ब १८ करोड ५४ लाख ४२ हजार २१२ खर्च भएको छ। 

गौतमबुद्ध विमानस्थलमा नौ अर्ब खर्च
क्यानको बजेट खर्चको हिसाबले आव २०७४/०७५ को असार मसान्त सम्ममा सबैभन्दा बढी गौतमबुद्ध विमानस्थल सुदृढीकरण आयोजनामा रु नौ अर्ब बढी खर्च भएको छ। जसमा रु आठ अर्ब ९५ करोड जग्गा अधिग्रहणमा खर्च भएको छ। 

डेढ अर्ब बढी राजश्व 
क्यानले गत आवमा लाभांश बापत रु एक अर्ब ६३ करोड ५६ लाख सरकारलाई राजश्व तिरेको छ। ब्याज भुक्तानीमा रु २२ करोड ७६ लाख र सावा भुक्तानीमा रु ३० करोड ८३ लाख, आय करमा रु ५३ करोड र मूल्यअभिवृद्धि करमा रु ५४ करोड तिरेको छ।

पत्रकार सम्मेलनमा क्यानका महानिर्देशक सञ्जीव गौतमले विमानस्थलहरुकाे स्तरोन्नति, निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल तथा हवाई प्रविधि तथा गुणस्तरीय जनशक्ति उत्पादनमा विशेष ध्यान दिइएको उल्लेख गरे। रासस 

प्रकाशित: ३ भाद्र २०७५ १५:५८ आइतबार

नेपाल_नागरिक_उड्डयन_प्राधिकरण बजेट