अर्थ

भैंसी बेच्दा पनि कर !

फाइल फाेटाे

डोल्पा - हिमाली जिल्ला डोल्पाका स्थानीय सरकारले जनताको आयस्रोत नहेरी विभिन्न शीर्षकमा चर्को कर लगाएका छन्। डोल्पाका आठवटै स्थानीय तहले विभिन्न शीर्षकमा चर्को कर लगाएका हुन्।

मध्य डोल्पामा पर्ने त्रिपुरासुन्दरी नगरपालिकाले विभिन्न शीर्षकमा ४५ प्रकारका कर लगाएको छ। उक्त नगरपालिकाले पशुबस्तु बिक्री गर्दासमेत कर लगाएको छ । किसानले भैंसी बेचेवापत एक हजार र खसी बेचेवापत एक सय ५० रुपैयाँ कर नगरपालिकालाई तिर्नुपर्ने भएको छ।

गाउँगाउँमा स्थानीय सरकार घरआँगननमा सिंहदरबार भनेर विकास र रोजगारीको ग्यारेन्टी भनिएको संघीयतामा विभिन्न बहानामा चर्को कर लगाएर गरिबलाई झनै गरिब बनाउने नीति आएको भन्दै डोल्पाली जनता रुष्ट छन्।

मासु व्यवसायीले मासु बेचेबापत एक हजार रुपैयाँ तिर्नुपर्ने छ । नगरपालिका क्षेत्रमा फिल्म छायांकन गरेमा प्रतिफिल्म एक हजार तिर्नुपर्ने छ । करको विषयमा सूचना माग्दा ठूलीभेरी नगरपालिकाका निमित्त कार्यकारी केशव सुनारले कर सम्बन्धी कुनै पनि सूचना दिन मानेनन्।

स्थानीय सरकारले पहिलाको तुलनामा करमा दोब्बर रुपैयाँ वृद्धि गरेकामा जनता आक्रोसित भएका छन्। उपल्लो डोल्पाका डोल्पो बुद्ध, शे–फोक्सुन्डो, छार्काताङसोङ र काइकेगाउँपालिका लगायत पर्यटकीय महŒवका गाउँपालिकामा पनि चर्को कर लगाइएको पाइएको छ।

तल्लो डोल्पाका जगदुल्ला र मुड्केचुला गाउँपालिकाले पनि पहिलाको तुलनामा विभिन्न शीर्षकमा कर निर्धारण गरेका छन्।

प्रकाशित: १ भाद्र २०७५ ०६:४५ शुक्रबार

भैैसी कर स्थानीय सरकार