अर्थ

नेपाल युवा परिषद सम्मेलन २०१८ सम्पन्न

काठमाडौं – युएनडिपीको सहयोगमा नेपाल युवा परिषदले तीनदिने राष्ट्रिय युवा भेला यही अगस्ट १२ देखि १४ गतेसम्म आयोजना गरेको जनाएको छ। अन्तर्राष्ट्रिय विश्व युवा दिवसको सन्दर्भमा आयोजना गरिएको कार्यक्रमको थिम ‘सेफ स्पेस फर युथ’ थियो । युवाको लागि सुरक्षित र राम्रो प्ल्याटफर्म निर्माण गर्ने र त्यसले युवालाई विविधताले भरिएको प्ल्याटफर्ममा आफ्नो तर्क राख्ने तथा मुख्य विषयमा छलफल गर्ने गरिएको थियो।

दुई सय चारजना सहभागी रहेको उक्त कार्यक्रममा ७७ वटै जिल्लाबाट एक पुरुष, एक महिलाको दरले सहभागिता थियो। यसका अलावा अन्य ५० युवाहरु सातै प्रदेशवाट अपाङ, दलित तथा पिछडा वर्गबाट समावेश थिए।

कार्यक्रमको उद्घाटन सहरी विकासमन्त्री महमद इस्तियाक राइले गरेका थिए। उद्घाटन सत्रमा विकास साझेदार संस्थाहरु, नागरिक समाजका अगुवा तथा मिडियाको सहभागिता रहेको थियो।

राष्ट्रिय युवा भेला २०१८ को मुख्य उद्देश्य कृषि क्षेत्रको अवस्थाबारे परीक्षण गर्नु, नेपालमा पर्यटन र आइटीको विकास, युवालाई आर्थिक विकासमा सहभागी गराउनु र स्थानीय स्तरमा रोजगारी सिर्जना गर्न युवालाई नेतृत्वमा कसरी स्थापित गर्न सकिन्छ भन्नेमा नयाँ आइडिया दिनु थियो । युवालाई संघीय, प्रदेश तथा स्थानीय विकासको योजना तर्जुमा गर्ने तथा नीति निर्माणमा सहभागी गराई विकासको लक्ष्य प्राप्त गर्न दिगो विकासका कार्य सञ्चालन गर्न सहयोगी भूमिका खेल्ने बनाउनु हो। यस कार्यक्रममा कोकाकोला एक्लै फन्डिङ पार्टनरको रुपमा जोडिएको थियो।

प्रकाशित: १ भाद्र २०७५ ०३:३३ शुक्रबार