अर्थ

सात बैंकको निक्षेप खर्बमाथि

काठमाडौं – गत आर्थिक वर्षमा सात वाणिज्य बैंकले खर्बभन्दा बढी निक्षेप संकलन गरेका छन्। सञ्चालनमा रहेका २८ वाणिज्य बैंकमा हालसम्म गत वर्ष २०७४/०७५ को वित्तीय विवरण प्रकाशित गरेका २७ बैंकमध्ये सबैभन्दा बढी निक्षेप संकलन एनआइसी एसियाले गरेको छ। उक्त बैंकले एक खर्ब ५१ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ।

त्यस्तै, दोस्रो स्थानमा नेपाल इन्भेस्टमेन्ट बैंक रहेको छ। उक्त बैंकले एक खर्ब ४० अर्ब रुपैयाँ, तेस्रो स्थानमा रहेको नबिल बैंकले एक खर्ब ३६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ।

यसैगरी, एभरेस्ट बैंकको एक खर्ब १५ अर्ब, ग्लोबल आइएमई बैंकको एक खर्ब सात अर्ब रुपैयाँ, कृषि विकास बैैंकको एक खर्ब ६ अर्ब रुपैयाँ र सिद्धार्थ बैंकको एक खर्ब दुई अर्ब रुपैयाँ निक्षेप पुगेको छ।

यी सात बैंकमध्ये तीन बैंकले मात्र एक खर्ब भन्दामाथि लगानी गरेका छन् । एक खर्बभन्दा बढी लगानी गर्ने बैंकमा एनआइसी एसिया बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक र नबिल बैंक रहेका छन्।

निक्षेप तथा कर्जा लगानी दुवैमा सबैभन्दा अगाडि एनआइसी एसिया बैंक नै छ। उसले एक खर्ब २१ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । त्यस्तै, नेपाल इन्भेस्टमेन्ट बैंकको एक खर्ब २० अर्ब रुपैयाँ र नबिल बैंकको एक खर्ब १३ अर्ब रुपैयाँ लगानी गरेको छ।

२७ वटा वाणिज्य बैंकहरुले कुल २३ खर्ब चार अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । उनीहरुले १९ खर्ब ९२ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्।

प्रकाशित: १ भाद्र २०७५ ०२:४५ शुक्रबार

वाणिज्य_बैंक निक्षेप_संकलन