अर्थ

निर्माण सामग्री परीक्षण ठेकेदारकै ल्याबमा

किसानको खेतमा पानी नपुग्दै क्षतविक्षत भएको सिक्टाको मूल नहर। तस्बिर : रुद्र/नागरिक

ढकेरी (बाँके) - सिक्टा सिँचाइको मूल नहरमा प्रयोग गरिएका निर्माण सामग्री र कामको परीक्षण ठेकेदार कम्पनी सिटिसिई कालिका कन्स्ट्रक्सनकै ल्याबमा परीक्षण गरिएको तथ्य खुलेको छ। कालिका आफैंले बनाएको मूल नहर र त्यसमा प्रयोग गरिएका निर्माण सामग्री आफ्नै नियन्त्रणमा रहेको ल्याबमा परीक्षण गराउने मौका पाएका कारण सिक्टाको मूल नहर गुणस्तरहीन भएको स्थानीयको भनाइ छ।

सिक्टाको ४५ किलोमिटर लामो मूल नहरमध्ये कालिकाले तीन चरणमा (सन् २००९–२०१५ सम्म) ४२ किलोमिटर मूल नहर बनाएको हो। मूल नहर बनाउँदा आवश्यक पर्ने सबै निर्माण सामग्रीको परीक्षण कालिकाले आफ्नै ल्याबमा गराएको थियो। निर्माण सामग्री परीक्षण गराएबापत कालिकाले आयोजनासँग भने अतिरिक्त रकम लिएको स्रोतले जानकारी दिएको छ।

आर्थिक वर्ष २०६१/६२ देखि नै सिक्टा सिँचाइ आयोजनामा खटिएका प्रमुखले अनुगमन गर्ने निकायसँग छुट्टै ल्याब राख्नुपर्ने आवश्यकता नठान्दा कालिकाले वर्षौंदेखि त्यसको फाइदा लिइरहेको स्थानीय बताउँछन्। सिक्टा सिँचाइका सिनियर डिभिजनल इन्जिनियर प्रकाश कार्की ठेकेदारले बनाएका सडकको परीक्षण गर्न सडक विभागमा ल्याबको व्यवस्था हुने गरेजस्तै सिँचाइमा पनि ल्याब आवश्यक रहेको बताउँछन्। सिक्टा सिँचाइको आफ्नै ल्याब नहुँदा कालिकाले मूल नहरमा प्रयोग गरेका निर्माण सामग्रीको गुणस्तर उसकै ल्याबमा जाँच गरिएको उनले जानकारी दिए।

आयोजना स्रोतका अनुसार मूल नहरको काम थाल्दाताका कालिकाले निर्माण सामग्री र कामको ल्याब परीक्षण गराउँदा केही गम्भीरता देखाए पनि पछिल्ला दिनमा भने मनोमानी गरेको थियो । ठूला आयोजनामा गुणस्तरीय कामका लागि सिमेन्ट, ढुंगा, गिट्टी, बालुवा, माटोलगायत निर्माण सामग्रीको परीक्षण सरकारी ल्याबबाट गरिनुपर्ने ठानिन्छ। आयोजना कार्यालयको ल्याब राख्ने हैसियत नभए ठेकेदारको ल्याब आयोजनाको नियन्त्रणमा रहनुपर्ने हुन्छ। ‘तर, सिक्टामा आयोजनाले न ल्याब खरिद गर्न सक्यो। न कालिकाको ल्याबलाई नियन्त्रणमै राख्न सक्यो,’ स्रोतले भन्यो, ‘सिक्टामा कालिकालाई दिइएको अथाह उन्मुक्तिले नै नहरको यो अवस्था आएको हो।’

कालिकाले निर्माण गरेको सिक्टाको मूल नहरबाट किसानको खेतमा पानी नपुग्दै पटकपटक भत्कने गरेको छ। ५० क्युमेक्स पानी चढाउने गरी बनाइएको मूल नहरमा ४/५ क्युमेक्स पानी पठाउँदा ठाउँठाउँमा भत्केर हैरानी भइरहेको छ। स्थानीयले गुणस्तरहीन निर्माण सामग्री प्रयोग तथा लापरबाहीपूर्ण तरिकाले काम गरिँदा मूल नहर कमसल बनेको बताउँदै आएका छन्।

कमसल मूल नहर बन्नुमा ठेकेदार र आयोजनाका कर्मचारीबीच मिलेमतो रहेको स्थानीयको दाबी छ। ३५ किलोमिटर मूल नहर बनेको राप्तीसोनारी गाउँपालिकाकी उपाध्यक्ष धनीकुमारी खत्री २४ किलोमिटर मूल नहर जीर्ण भइसकेको बताउँछिन्। ‘निर्माण गर्दा नै गुणस्तरहीन सामान प्रयोग नगर्न भनेका थियौं,’ उनले भनिन्, ‘त्यतिबेला ठेकेदार र आयोजनाका कर्मचारीले हाम्रा कुरा सुनेनन् । अहिले सबैलाई समस्या भयो।’

क्षमताभन्दा निकै कम पानी छोड्दासमेत मूल नहर भत्कन थालेपछि पूरै नहरमै समस्या हुनसक्ने स्थानीय बताउँछन्। ‘एक बोरा सिमेन्टमा ४/५ बोरा बालुवा मिसाउनुपर्नेमा १४/१५ बोरा बालुवा मिसाएको समेत देखेका थियौं,’ मूल नहर नजिकै घर भएकी ओभरीकी शोभा ओलीले भनिन्, ‘गुणस्तर जाँच गर्ने ल्याबले के परीक्षण ग¥यो अचम्ममा छौं।’ उनले मूल नहरमा छड पनि निकै कम प्रयोग भएको बताइन्।

स्थानीयका अुनसार कालिकाले कमिसन खाएर पेटीमा ठेक्का दिएकाले निर्माणकार्य झनै गुणस्तरहीन भएको हो। राप्रपाका नेता तथा पूर्वमन्त्री प्रेमबहादुर भण्डारी कालिकाले लिएको काम चौथो पेटी ठेक्कामा समेत पुगेको बताए।

आयोजनाका निर्देशकहरूले ठेकेदारबाट कमिसन पाउने लोभले ल्याब बनाउन चासो नदेखाएको बताइन्छ। सिक्टा सिँचाइमा आयोजनाका पूर्वप्रमुख तथा सिँचाइ विभागका महानिर्देशक सरोज पण्डित निर्माण सामग्रीको गुणस्तर परीक्षण ठेकेदार र आयोजनाका कर्मचारीले संयुक्त रूपमा गरिएका कारण कमसल निर्माण सामग्री प्रयोग नभएको दाबी गर्छन्। सिक्टाले आफ्नै ल्याब बनाउन सक्ने हैसियत राख्ने भए पनि मूल नहर बनाउन ठूलो ठेक्का सम्झौता (आइसिबी) भएका कारण कालिकाले आफैं ल्याब तयार पारेको उनले बताए।

सिक्टामा मूल नहर बनाउँदा कालिकाले आफ्नै क्याम्पभित्र ल्याब राखेको थियो। आयोजना स्रोतले कालिकाले औपचारिकता निर्वाह गर्नमात्र आयोजनाका इन्जिनियरलाई ल्याब परीक्षण गरेर देखाउने गरेको र अन्य समयमा आफूखुसी परीक्षण गथ्र्यो। कालिकामार्फत पेटी ठेक्का पाएका एक ठेकेदारले ल्याब परीक्षणबिना निर्माण सामग्री प्रयोग गरेको प्रत्यक्षदर्शी बताउँछन्। ‘नहरमा काम हुँदा प्रायः ल्याब परीक्षण गरिँदैनथ्यो,’ ती पेटी ठेकेदारले भने, ‘आफूले जे जान्यौं, त्यसरी नै काम गरेका हौं।’

आयोजनामा कार्यरत एक इन्जिनियरका अनुसार मूल नहरको काम हुँदा कालिकाको ल्याबमा छड परीक्षण गर्ने उपकरण थिएन। ‘राष्ट्रिय गौरवको यति ठूलो आयोजनाले आफ्नै ल्याबबाट निर्माण सामग्री परीक्षण गर्नुपथ्र्यो’, ती इन्जिनियरले भने, ‘अहिले सिक्टाको नहरमा जति समस्या आएको छ, मुख्य कारण गुणस्तरयुक्त निर्माण सामग्री प्रयोग हुन नसक्नु हो।’

राप्तीसोनारी गाउँपालिका–९ ढकेरीका वडाअध्यक्ष महावीर ओलीले ल्याब परीक्षण गर्दा आयोजना कार्यालयले जिम्मेवारीपूर्वक नहेर्दाको परिणामस्वरूप अहिले मूल नहरमा समस्या आएको बताए। ‘ल्याब परीक्षण गर्दा आयोजना कार्यालयले जिम्मेवारीपूर्वक हेरेन। त्यतिबेला राम्ररी हेरेको भए अहिले नहर चर्किने र भत्किने समस्या आउने थिएन’, ओलीले भने। आउँदो दुई वर्षभित्र काम सम्पन्न गरी बाँकेको ४३ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउने लक्ष्य लिइएको उक्त आयोजनामा हालसम्म १४ अर्ब ७० करोड रुपैयाँ खर्च भइसकेको छ।

परीक्षणका क्रममा पटकपटक भत्कन थालेपछि दोषीमाथि कारबाही गर्न स्थानीयले माग गरिरहेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहसचिवको संयोजकत्वमा छानबिन समिति गठन गरेकाले दोषीलाई कारबाही हुने स्थानीयको अपेक्षा छ। ‘यति ठूलो आयोजनामा गरिएको भ्रष्टाचारमा दोषीमाथि कारबाही गर्न सकिएन भने नेपालमा भ्रष्टाचार रोक्ने कुरा कसैले नगरे हुन्छ,’ स्थानीय रामु ओलीले भने। सिक्टामा भएको अनियमितता छानबिनका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले समेत सहसचिव सुशीलचन्द्र तिवारीको संयोजकत्वमा छानबिन टोली गठन गरेको छ।

प्रकाशित: १ भाद्र २०७५ ०५:३९ शुक्रबार

सिक्टा सिँचाइ मूल_नहर अनियमितता