अर्थ

नेपाली मुद्रा अझै खस्किने

काठमाडौ–नेपाली मुद्रा पछिल्ला दिनमा अमेरिकी डलरको तुलनामा कमजोर भइरहेको छ। नेपाल राष्ट्र बैंकले बुधबारका लागि १ डलर बराबर ११२ रुपैयाँ १४ पैसा बिक्रीदर रहने गरी विनिमय दर निर्धारण गरेको छ। गत वर्ष असार मसान्तमा यो दर १०२ रुपैयाँ २४ पैसामात्र थियो।

नेपाली मुद्रा अवमूल्यन हुनुमा नेपालको अर्थतन्त्र अाफै कारक भने होइन। तर मुद्रा अवमूुल्यनको क्षति भने भोग्ने देखिन्छ। डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर हुँदा त्यसको असर नेपालले पनि भोग्नु परेको हो। नेपाली मुद्रा र भारतीय मुद्राबीच स्थिर विनिमयदर (फिक्स्ड पेग) प्रणाली कार्यान्वयनमा छ। हाल भारु १०० को विनिमय दर नेरु १६० रुपैयाँ छ।डलरको तुलनामा भारु कमजोर हुँदै जाँदा नेपाली मुद्रा पनि कमजोर हुँदै गएको हो।

अमेरिकाले आफ्नो अर्थतन्त्र बलियो बनाउन चालेका कदमको असर स्वरुप भारतीय मुद्रा कमजोर भएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गतसाता इरानसँग कारोबार गर्ने कुनै पनि राष्ट्रसँग आफ्नो राष्ट्रले कारोबार नगर्ने चेतावनी दिएका थिए। भारतले इरानबाट पेट्रोलियम पदार्थ आयात गर्ने गरेको छ।

भारतमा विदेशी लगानी नीति उदार खालको छ। त्यहाँ पोर्टफोलियो इन्भेष्टमेन्टको अवसर पनि विदेशी लगानीकर्तालाई उपलब्ध छ। यसरी भारतमा लगानी गरिरहेका लगानीकर्ता भने भारतीय अर्थतन्त्र पनि ट्रम्प नीतिका कारण प्रभावित हुने डरले स्वदेश फर्कने क्रम चलेको देखिन्छ। खास गरी अमेरिकाले संस्थागत आम्दानी कर (कर्पोरेट इन्कम ट्याक्स)लाई २० प्रतिशतमा झार्ने निर्णयले स्वदेश फकर्ने अमेरिकी लगानीकर्ताको चाहनालाई मलजल गरेको थियो। पछ्रिल्लो समय अमेरिकी केन्द्रीय बैंकले ब्याजदर बढाइदिँदा पनि विदेशमा रहेका लगानीकर्ता अमेरिका फर्कने अवस्था बनेको हो।
बुधबार प्रति डलर भारु विनिमयदर १७०.३१ रुपियाँ छ। भारतले पछिल्लो समय गरेको एक सर्वेक्षण अनुसार आगामी पुससम्ममा भारतीय मुद्रा अझै कमजोर भएर १७३ सम्म पुग्नसक्छ। यसआधारमा नेपाली मुद्रा अझै अवमूल्यन हुने खतरा छ।

नेपाल राष्ट्र बैंकका अनुसन्धान विभाग प्रमूख नरबहादुर थापाका अनुसार अमेरिका र नवउदीयमान अर्थतन्त्र भएका मुलुकहरुबीच भइरहेको व्यापार युद्धको अवस्थाले अमेरिकी अर्थतन्त्र तत्कालका लागि बलियो बन्दै गएको छ। ‘चीन, रुस इरानजस्ता मुलुकबाट हुने आयातलाई उच्च भन्सारदर लगाएर नियन्त्रण गर्ने र स्वदेशमै उत्पादन र रोजगारी सृजना गर्ने अमेरिकाको रणनीति देखिन्छ,’ थापा भन्छन्, ‘व्यापार युद्दका कारण त्यस्ता देशमा रहेका लगानीकर्ता आफ्नै देश(अमेरिका) फर्कन थालेका छन्।’

नवउदीयमान र शक्तिशाली बन्न खोजेको भारतको अर्थतन्त्र अहिले आफ्नो मुद्रा अवमूल्यनको फाइदा निर्यात बढाएर र स्वदेशी उत्पादन बढाएर लिने रणनीति लिएको थापा बताउँछन्। भारतसँग तत्कालका लागि रहेको उपयुक्त विकल्प पनि यहि हो। आफ्नो कुनै भूमिका नरहे पनि नेपाली अर्थतन्त्रले भने बलियो बन्दै गरेको डलरको मार खेप्नुपर्ने देखिन्छ। भारतसँगको स्थिर विनिमयदरकै कारण नेपालले क्षति भोग्नुपर्ने देखिएको हो।

नेपालले आर्थिक वर्ष २०७४÷७५मा ११ खर्ब ६२ अर्ब रुपैयाँको ब्यापार घाटा बेहोरेको छ। करिब १२ गुणा व्यापार घाटा बेहोरिरहेको नेपालको अर्थतन्त्रलाई यसले अझै शिथिल बनाउन सक्ने देखिन्छ। विदेशबाट आयात गर्नुपर्दा अब नेपालले बढी खर्च गर्नुपर्ने हुन्छ। यसले सोझै बजार मुल्यमा असर गर्नेछ। खासगरी पेट्रोलियम पदार्थ आयातमा पनि नेपालले मुल्य चुकाउने छ। विदेशबाट कच्चापदार्थ आयात गर्दा पनि नेपाली उद्योगले थप रकम खर्चनु पर्ने देखिन्छ। उता तेस्रो मुलुकबाट आउने सवारी साधन मोबाइल इलेक्ट्रोनिक सामानको पनि मूल्य बढ्नेछ। राज्यले विभिन्न दातृ निकायबाट लिएको ऋण भुक्तान डलरमा गर्नुपर्दा नेपाललाई आफ्नो मुद्रा अवमूल्यनको क्षति बेहोर्नु पर्ने देखिन्छ। डलरमा आउने विप्रेषण (रेमिट्यान्स)ले भने नेपाललाई केही फाइदा हुनसक्छ।

प्रकाशित: ३० श्रावण २०७५ १३:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App