अर्थ

जनता बैंकको अन्तर्राष्ट्रिय रेमिट्यान्स सेवा

काठमाडौं – जनता बैंक नेपाल लिमिटेडले अन्तर्राष्ट्रिय रेमिट्यान्स सेवा सञ्चालनमा ल्याएको छ। ‘जनता रेमिट’मार्फत मेचीदेखि महाकालीसम्मका जनतालाई सहज आन्तरिक रेमिट्यान्स सेवा पु-याउँदै आएकोमा अब विदेशमा रहेका ग्राहकले समेत सहजै जनता रेमिटबाट रेमिट्यान्स सेवा उपयोग गर्न सक्ने बैंकको विज्ञप्तिमा उल्लेख छ।

बेक्स मनी बहराइनएक्सप्रेस एक्सचेन्ज, बहराइन र जनता बैंकबीच हालै भएको सम्झौता अनुसार अब बहराइनमा रहेका नेपालीले जनता रेमिटमार्फत सुलभ रुपमा आफ्नो आम्दानी सिधै जनता बैंकमा रहेको खातामा पठाउन सक्ने जारी विज्ञप्तिमा उल्लेख छ। खाताबाट कारोबार गर्न बेक्स मनी बहराइनमा रहेको कुनै पनि शाखामा सम्पर्क गरी जनता बैंकमा खाता खोल्न र चेक बुक तथा एटिएम कार्ड प्राप्त गरी करोबार गर्न सकिने बताइएको छ।

बहराइनबाट जनता रेमिटमार्फत पठाएको रकम देशभर रहेका जनता बैंकको एक सय २१ शाखाको अतिरिक्त करिब १६ हजारको संख्यामा छरिएका सम्सारा, आइपे, बुम, जिएमई र सेवा रेमिटबाट भुक्तानी लिन सकिनेछ । जनता रेमिट सेवा निकट भविष्यमै भारत, मलेसिया, जापान, कुवेत, कतार, ओमान र युएईबाट समेत सुरु गरिने विज्ञप्तिमा उल्लेख छ। जनता बैंकको देशभरीमा एक सय २१ शाखा, ४० शाखारहित बैंकिङ, दुई सीमित बैंकिङ एकाइ, दुई एक्सटेन्सन काउन्टर र ७० एटिएमबाट सेवा दिइरहेको छ।

प्रकाशित: २५ श्रावण २०७५ ०४:२८ शुक्रबार