अर्थ

साउनभित्र ३२ घरमा बायोग्यास

श्रीकृष्ण गौशालामा निर्माण गरिएको बायोग्यास प्लान्ट वितरणका लागि निर्माण गरिएको कम्प्रेसर मेसिन, ग्यास जम्मा गर्ने बेलुन लगायत ।तस्बिरः चुमन बस्नेत/नागरिक

विराटनगर - विराटनगरस्थित जतुवाका ३२ घरमा पाइपबाट बायोग्यास वितरणको तयारी गरिएको छ । विराटनगर–१४ जतुवास्थित  श्रीकृष्ण गौशालामा निर्माण गरिएको बायोग्यास प्लान्टबाट उत्पादित ग्यास पहिलोचरणमा ती घरमा वितरण गर्न लागिएको हो।

श्रीकृष्ण गौशालाका प्रबन्धक सन्तोष यादवले बायोग्यास प्लान्ट निर्माणको काम अन्तिमचरणमा पुगेको जानकारी दिए । साउन अन्तिमसम्ममा ३२ घरमा पाइपबाटै ग्यास पुर्याइने उनले बताए । यादवका अनुसार बायोग्यास निर्माणको ९८ प्रतिशत काम सम्पन्न भइसकेको छ । पहिलोचरणमा ग्यास वितरण गरिने घरमा पाइप, रेगुलेटर र मिटर जडान गरिसकिएको छ । ग्यास वितरण गरिने पाइप लिकेज र ग्यासको प्रेसर पुग्नेनपुग्ने परीक्षणसमेत  भइसकेको छ । पाइपबाट ग्यास वितरणका लागि नेपाल र भारतका प्राविधिकले धमाधम काम गरिरहेका छन् । बायोग्यास प्लान्ट निर्माण र पाइपलाइन जडानका लागि भारत पञ्जावका गुरविन्द सिंह र नेपाल ऊर्जा विकास कम्पनीका प्राविधिक हरिकृष्ण श्रेष्ठले काम गरिरहेका छन्।

विराटनगर–१४ जतुवास्थित श्रीकृष्ण गौशालामा निर्माण गरिएको बायोग्यास प्लान्टबाट उत्पादित ग्यास पहिलोचरणमा ३२ घरमा वितरण गर्न लागिएको छ ।

नमूनाका रुपमा निर्माण गरिएको मुलुककै पहिलो पाइपलाइनबाट ग्यास वितरण गर्ने यो योजना परम्परागतरुपमा निर्माण गरिएका बायोग्यासभन्दा फरक रहेको छ । यो नेपालमा बनेका अन्य प्लान्टभन्दा आधुनिक, व्यावहारिक र व्यावसायिक भएको प्राविधिक बताउँछन् । पाइपलाइनबाट ग्यास वितरण गर्दा उपभोक्ताले घरमा जडान गरिएको मिटरका आधारमा महसुल तिर्नुपर्नेछ।

व्यक्तिगतरुपमा घरमा बायोग्यास जडान गर्ने उपभोक्ताले ग्यासको प्रेसर कम भएको र जाडो याममा ग्यास न्यून उत्पादन हुने गरेको गुनासो गर्दै आएका छन् । ग्यास प्लान्ट र चुल्होसम्मको दूरी लामो भएको अवस्थामा पनि ग्यासको प्रेसर न्यून हुने समस्या देखिने गरेको छ । तर, जतुवामा निर्माण गरिएको प्लान्टमा उपभोक्ताले यी समस्या बेहोर्नु नपर्ने बताइएको छ।

यो योजनामा  ग्यासको प्रेसर अटोमेटिक कम्प्रेसर मेसिनबाट नियन्त्रण हुने व्यवस्था गरिएको छ । जसका कारण पाइपबाट वितरण गरिने  ग्यासको प्रेसर सधैं एकनासको हुन्छ । साथै, जाँडोयामका लागि ग्यास भण्डारण गर्न  ठूलो आकारको बेलुन राखिएको छ । ग्यास प्लान्टबाट उत्पादन भएको ग्यास बेलुनमा गएर जम्मा हुन्छ । जाँडोयाममा पनि गर्मीमा जस्तै प्रशस्त ग्यास उत्पादन गर्नका लागि बायोग्यास प्लान्टमा हिटर जडान गरिएको छ । हिटरले जाँडोयाममा ग्यासको प्लान्टलाई तताउने र गर्मीमा जस्तै पर्याप्त ग्यास उत्पादन हुने प्राविधिक हरिकृष्ण श्रेष्ठले बताए।

दोस्रोचरणमा विस्तार गरेर एक सय घरमा ग्यास पु¥याउने योजना रहेको छ । प्लान्ट निर्माणका लागि  एक करोड २५ लाख रुपैया“ खर्च भएको जिल्ला समन्वय समिति मोरङका ऊर्जा शाखा प्रमुख ज्ञानेन्द्र सिंहले जानकारी दिए । जसमा विश्व बैंकको ८५ लाख अनुदान, विराटनगर महानगरपालिका, जिसस मोरङ र सरकारसमेतको ४० लाख रुपैया“ लगानी रहेको उनले बताए।

उनका अनुसार जतुवामा रहेको श्रीकृष्ण गौशालाबाट निकालिएको बायोग्याँस एक किलोमिटर आसपासका क्षेत्रमा पाइपलाइनमार्फत स्थानीयका घर–घरमा वितरण गर्ने तयारी गरिएको छ । ३३ वर्षअघि ‘गाईको वृद्धाश्रम’का रूपमा सुरु गरिएको गौशालामा अहिले दुई सय सातवटा गाई छन् । यहा“का गाईबाट दैनिक करिब दुई हजार किलो गोबर निस्कन्छ । त्यही गोबरबाट बायोग्यास उत्पादन गर्न लागिएको हो । ग्यासको मूल्य भने हालसम्म निर्धारण भइनसकेको गौशालाका प्रबन्धक यादवले बताए।

‘पाइपबाट वितरण गरिने बायोग्यास एलपी ग्यासभन्दा सस्तो हुनेछ,’ उनले भने । गौशालाले ग्यास बिक्रीबाट वार्षिक १० देखि १२ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको छ । बायोग्यासबाट निस्कने गोबर कम्पोस्ट मल बनाउन प्रयोग गर्ने योजना रहेको यादवले बताए । ‘यहा“ उत्पादन हुने गोबरबाट विगतमा पनि कम्पोस्ट मल उत्पादन गरेर प्रतिकिलो १२ रुपैयाँले बिक्री गर्दै आएका थियौं,’ उनले भने, ‘मल उत्पादनलाई निरन्तरता दिन  बायोग्यास प्लान्टस“गै  कम्पोस्ट च्याम्बर निर्माण गरिएको छ ।’

 

प्रकाशित: २३ श्रावण २०७५ ०२:०५ बुधबार

# साउनभित्र बायोग्यास #