अर्थ

बढ्यो बैंकहरुको नाफा

काठमाडौं - गत वर्षभर वाणिज्य बैंकहरुले लगानीयोग्य पुँजी (तरलता) को अभाव झेल्दै आएका दजनौं समाचार प्रकाशित गरिए । लगानी गर्न नपाएका भनिएका बैंकहरुको यही वर्ष नाफा भने बढेको देखिएको छ।

बैंकरहरुका अनुसार पुरानो ऋण असुली, ब्याज आम्दानी र विदेशी मुद्रा कारोबारलगायत कारणले नाफा बढेको हो । गत आर्थिक वर्ष ०७४÷७५ को सोमबारसम्म अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिसकेका ६ वाणिज्य बैंकले नाफा बढाएका छन् । अघिल्लो आवमा भन्दा गत आवमा बैंकको नाफा बढेको हो।

२८ वाणिज्य बैंकमध्ये ६ वटा (सिद्धार्थ, एभरेस्ट, एनआइसी एसिया, सिटिजन्स, ग्लोबल आइएमइ र नेपाल बैंक)ले गत आवकोे अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् ।वित्तीय विवरण सार्वजनिक गरेका बैंकमध्ये सबैभन्दा बढी नाफा नेपाल बैंकको देखिएको छ । यसले तीन अर्ब ४० करोड रुपैयाँ खुद नाफा कमाएको छ ।दोस्रो धेरै नाफा गरेको एभरेस्टले दुई अर्ब ७८ करोड रुपैयाँ कमाएको छ । अघिल्लो वर्षको सोही अवधिमा एभरेस्टले गत आवमा भन्दा निकै कम नाफा गरेको थियो।

तेस्रो बढी नाफा गर्नेमा ग्लोबल आइएमई बैंक छ । यसले सार्वजनिक गरेको गत आवको अपरिष्कृत वित्तीय विवरणमा दुई अर्ब १६ करोड रुपैयाँ नाफा गरेको उल्लेख छ ।गत आवको वित्तीय विवरण अनुसार चौथो बढी नाफा कमाउनेमा सिद्धार्थ बैंक छ । सिद्धार्थको नाफा एक अर्ब ८५ करोड रुपैयाँ छ ।पाँचौं बढी नाफा कमाउने एनआइसी एसिया बैंकले गत आवमा एक अर्ब ४९ करोड नाफा गरेको छ । यसैगरी, सिटिजन्स बैंकले एक अर्ब २७ करोड नाफा गरेको छ।

अघिल्लो आवमा तरलता अभाव झेलेका कारण सोचेजति नाफा गर्न नसकिएको ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौडेलले सोमबार नागरिकलाई बताए । ‘व्यवसाय विस्तार हुन नसक्दा नाफा धेरै बढ्न सकेन,’ उनले भने, ‘लगानीयोग्य पुँजी सहज भइदिएको भए बैंकहरुको नाफा योभन्दा पनि बढी राम्रो आउँथ्यो ।’
वर्षको अन्त्यमा सरकारी खर्च बढेपछि तरलता सहज भएको पनि प्रमुख कार्यकारी अधिकृत पौडेलले बताए । ‘चालु आवमा त्यस्तो अवरोध नआए अझै नाफा बढ्ने छ,’ उनले भने ।कर्जाको ब्याज बढेकाले बैंकको नाफा बढेको एक बैंकरले बताए । ‘कर्जाको ब्याजदर, पुरानो ऋण असुली लगायत कारणले बैंकको नाफा बढेको हो,’ उनले भने।

हालसम्म अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्ने ६ बैंकले अर्बभन्दा बढी नाफा गरेका छन्

गत आवमा बैंकहरुले राम्रै नाफा कमाएका छन् । उनीहरुको नाफामा खास संकुचन देखिएको छैन ।बैंकहरुको चुक्ता पुँजी बढेकाले पनि नाफा बढ्नु स्वाभाविक भएको बैंकर्स बताउँछन् । ‘पुँजी बढेको बेला बैंकले दिने प्रतिफल नघटाउन पनि नाफा बढाउनु पर्छ,’ नाम नलेखिदिन आग्रह गरेका ती बैंकरले भने । गत आवमा लगानीको वातावरणमा सुधार आएको र कर्जाको माग पनि बढेकाले नाफा बढेको बैंकरको भनाइ छ ।गत आवमा बैंकमा लगानीयोग्य पुँजीमा संकुचन आए पनि नाफामा ठूलो वृद्धि आएको एक बैंकरले बताए । ‘ब्याज आम्दानी र व्यापारको आकार बढेकोले बैंकको नाफा बढेको हो,’ उनको भनाइ थियो।

 बाँकी २२ वाणिज्य बैंक वित्तीय विवरण सार्वजनिक गर्ने तयारीमा छन् । बैंक लगायत पब्लिक लिमिटेड कम्पनीले आव सकिएको १५ दिनभित्र सो वर्षको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिसक्नुपर्ने कानुनी प्रावधान छ । तर, राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई अन्तर्राष्ट्रिय स्तरमा प्रचलनमा रहेको नयाँ लेखा प्रणाली नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड (एनएफआरएस) अनुसार वित्तीय विवरण सार्वजनिक गर्न निर्देशन दिएको थियो । उक्त मापदण्ड अनुसार वित्तीय विवरण सार्वजनिक गर्न समय लाग्ने गरेकाले थप १५ दिनको सुविधा दिएको छ।

पहिल्लो समय बैंकहरुले निक्षेप र लगानी दुवै बढाएका छन् । औसतमा हेर्दा अघिल्लो आवमा भन्दा गत आवमा बैंकहरुको खुद ब्याज आम्दानी बढेको देखिन्छ । कर्जाको विस्तार पनि बढी देखिन्छ । कर्जासँगै निक्षेप पनि बढेकाले आउँदा दिनमा बैंकहरुको नाफा अझ बढ्न सक्ने संकेत देखिएको बैंकर बताउँछन् ।अघिल्लो आवको तुलनामा लगानीको वातावरणमा सुधार हुँदै गएकाले बैंकको नाफा आगामी दिनमा अझै बढ्ने अपेक्षा बैंकरहरुले गरेका छन् । नेपाल राष्ट्र बैंकले चालु आवको आर्थिक वृद्धिदर सन्तोषजनक हुने संकेत गरेको छ । राष्ट्र बैंकले पनि चालु आवको आर्थिक वृद्धिदर सुधार हुन सक्ने संकेत देखिएको जनाएको छ ।

प्रकाशित: २३ श्रावण २०७५ ०१:३३ बुधबार

# बढ्यो बैंक नाफा #