अर्थ

किसानको बगैंचामै पुगेर चिनियाँ वैज्ञानिकले सल्लाह दिए

गोलान्जोर–४, तीनकन्यामा जुनारको फल हेर्दै चिनियाँ कीट वैज्ञानिक डा. जेसन जिनपिङ डू ।    तस्बिरः मधुसुधन/नागरिक

बनेपा – व्यावसायिक जुनार खेतीमा प्रमुख समस्या बनेको चाइनिज सिट्रस फ्लाई–ब्याक्ट्रोसेरा मिन्याक्स (फल कुहाउने औंसा पार्ने झिँगा) लाई फैलन नदिन सिन्धुलीमा भइरहेको प्रयासको चिनियाँ वैज्ञानिकले प्रशंसा गरेका छन्।

‘हामीले मिन्याक्सलाई रोक्न सन् २०११ र २०१२ मा चीनका चोङकिङ, हुनान र हुवे प्रान्तमा अपनाएको एरियावाइड कन्ट्रोल प्रोग्राम (एडब्लुसिपी) सिफारिस गरेका थियौं,’ बेइजिङ इकोम्यान बायोटेक प्रालिका संस्थापक अध्यक्ष एवं कीट वैज्ञानिक जेसन जिनपिङले भने, ‘फिल्डमै पुगेर हेर्दा र किसानसँगको अन्तरक्रियामा सोही विधि अपनाएको पाएँ।’

आफूहरुले उत्पादन विकास र उत्पादन गरेको ग्रेट फ्रुट फ्लाई बेट (जिएफएफबी) लाई पानीमा मिलाएर १० हप्तासम्म बोटमा निरन्तर स्प्रे गर्दा राम्रो नतिजा पाएको उनले बताए । गोलान्जोर–४, तीनकन्याका जुनार धनी किसान तथा जिएफएफबी स्प्रेमा १० हप्तासम्म संलग्न कामदार र प्राविधिकसँगको अन्तरक्रियामा उनले आगामी केही वर्षसम्म यो विधिलाई निरन्तरता दिनुपर्ने सुझाव दिए। 

‘नेपालको जुनार बगैंचा चीनको जस्तो ठूला–ठूला र धेरै क्षेत्रफलमा फैलिएको नहुने रहेछ । भौगोलिक जटिलताले गर्दा एकैपटकमा सबै क्षेत्रमा जिएफएफबी स्प्रे गर्न सम्भव पनि देखिन्न । आगामी वर्ष अन्यत्र बगैंचाहरुमा पनि क्रमशः स्प्रे गर्दै जानु उपयुक्त हुन्छ,’ जिनपिङले सुझाए।

ब्याक्ट्रोसेरा मिन्याक्स झिँगाले जुनारमा वर्षैपिच्छे क्षति बढाउँदा किसानमा निराशा बढ्न थालेपछि उनीहरुलाई जुनार खेतीमा टिकाई राख्न प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (जुनार सुपरजोन एकाइ)ले एडब्लुसिपी कार्यक्रम थालेको हो । यसका लागि वरिष्ठ प्लान्ट क्वारेन्टाइन अधिकृत एवं प्लान्ट डाक्टर देवराज अधिकारी र विषादी आयातकर्ता कर्मा समूहको विशेष योगदान रहेको सुपरजोन प्रमुख ललनकुमार सिंहले जानकारी दिए, ‘उहाँहरुको सक्रियता र पहलमा बेइजिङ इकोम्यान बायोटेक कम्पनीको ग्रीन पेष्ट म्यानेजमेन्ट विधिबाट चाइनिज सिट्रस फ्लाई (ब्याक्ट्रोसेरा मिन्याक्स प्रजातिको झिँगा)नियन्त्रणमा आउन थालेको हो । चिनियाँ वैज्ञानिकलाई समेत तीनकन्यामै बोलाएर हालको अवस्था देखाउँदा झिँगाको नियन्त्रणका वैकल्पिक उपायहरुसमेत किसानले सिक्ने मौका पाएका छन्,’ उनले थपे।

सुपरजोनले यस वर्ष गोलान्जोर गाउँपालिका–४ का तल्लो आलेगाउँ, माथ्लो आलेगाउँ, माझ कुभिण्डे, ठकुरी गाउँ, सिम्ले, किराँते, तमौरे र रानीखोलाका दुई सय ३१ किसानका एक हजार तीन सय रोपनी क्षेत्रफलका बगैंचामा जिएफएफबी स्प्रे गराएको हो । यी बगैंचा हजारदेखि १४ सय ३५ मिटरसम्मको उचाइमा छन।

‘हामीले १७ हजार एक सय ७८ फल्दै रहेकासहित ३२ हजार आठ सय ९१ वटा जुनार बोटलाई लक्षित गरी जिएफएफबी स्प्रे गरेका हौं । लगातार पाँच हजार सात सय २७ स्पटमा हरेक हप्ता गर्दै १० हप्तासम्म स्प्रे गर्याैं,’ सिन्धुलीको जुनार प्रवद्र्धनमा चार दशक बिताएका कृषि प्राविधिक जाहानबहादुर कार्कीले जानकारी दिए।

चार वर्षयता सिन्धुलीका जुनार किसानले मिन्याक्सको समस्याले बोटबाटै फल झर्ने र पाकेको फलभित्रसमेत औंसा हुने समस्या झेल्दै आएका थिए । जुनार खेतीमा अग्रणी तीनकन्याका आठ क्षेत्रको जुनारमा गत वर्ष मिन्याक्सले ३९ देखि ७३ प्रतिशतसम्मको क्षति पुर्याएको थियो । ‘जुनार पाक्ने क्रममै फल झरेर बँगैचा नै सखाप हुँदै आएको थियो।

यस्तै, पाकेका जुनार बेच्न लैजाने क्रममा फलभित्र औंसा देखेपछि उपभोक्ताले खानै छाडेका थिए । यसले हामीलाई धेरै चिन्तित तुल्याएको थियो । सुपरजोनको अग्रसरतामा चीनबाटै जिएफएफबी झिकाएर ठिक समयमा स्प्रे गर्न पाइएकाले यसपटक जुनार जोगिने आशा पलाएको छ । जुनारमा मात्रै नभई यसपटक काँक्रो, फर्सीमा लाग्ने झिँगा पनि आएको छैन । विगतमा यो सिजनमै जुनार झर्ने समस्या हुन्थ्यो । अहिले झरेको छैन,’ सुपरजोन सञ्चालक समितिका उप–संयोजक लोकबहादुर आलेले भने।

आफ्नो र छिमेकीको बगैंचामा हप्तैपिच्छे जिएफएफबी स्प्रे गर्ने समूहमा रहेका यमबहादुर सिंजालीले जुनार लगाएको २० वर्ष भयो । पछिल्ला तीन वर्षमा एक गेडा पनि जुनार टिप्न नपाएको गुनासो गरे । ‘बर्सेनि झिँगाले जुनार झार्न थालेपछि वर्षौंदेखिको खेतीलाई अहिले आएर नजानेको जस्तै भएको थियो । तर, १० हप्तासम्मको स्प्रेपछिको अवस्था हेर्दा यसपटक जुनार जोगिने आस पलाएको छ । सुपरजोनले यसरी मद्दत नगरेको भए यो वर्ष बोट नै काट्ने सुरमा थिएँ,’ सिंजालीले भने।

जुनार खेतीमा आउने अन्य समस्याहरुको दाँजोमा मिन्याक्सको समस्या जटिल देखिँदा सिन्धुलीमा जुनार प्रशोधन केन्द्र स्थापनासँगै जुसलगायत उत्पादन विविधीकरणमा हौसिएका लगानीकर्तासमेत फर्केको केन्द्रीय जुनार संघका अध्यक्ष दीपक कोइरालाको भनाइ छ।

‘उद्योगका लागि आवश्यक जुनार नै नरहने अवस्था देखेपछि लगानी गर्नमा को तयार हुन्थ्यो । अब ढिलै भए पनि सुपरजोन र अन्य सहयोगीको प्रयासबाट अब सिन्धुलीको जुनारको प्रमुख समस्या मिन्याक्स छिट्टै समाधान हुनेमा आशावादी भएका छौं,’ उनले थपे।

सिन्धुलीको जुनार जोगाउन जिएफएफबीमात्रै खरीद गरेर नपुग्ने यसको आयातकर्ता कर्मा समूहका सिइओ सुरेश गुरुङको भनाइ छ । ‘मिन्याक्सको उड्ने क्षमता र संक्रमित फलफूलको ओसार–पसारले फल कुहाउने औंशालाई फैलाउनमा मद्दत गरिरहेको पाइएको छ । त्यसैले धेरै या थोरै जुनारका बोट हुने सबै किसानहरुलाई क्रमशः एरियावाइड कन्ट्रोल प्रोग्राम (एडब्लुसिपी) मा सहभागी बनाउँदै लैजानु पर्छ । अहिले एक क्षेत्रमा नियन्त्रणमा आएको मिन्याक्स अन्यत्रबाट फेरि फर्कन सक्छ,’ उनले सचेत गराए ।

चिनियाँ वैज्ञानिक डा. जिनपिङका अनुसार चीनमा गरिएको अध्ययनबाट ब्याक्ट्रोसेरा मिन्याक्स ६० किलोमिटरसम्म उडेर यताउता पुगेको भेटिएबाट यसको नियन्त्रणका लागि एडब्लुसिपीमा जोड दिइएको उनको भनाइ छ।

यसपटक नमूना (पाइलटिङ) का रुपमा तीनकन्यामा सम्पन्न एडब्लुसिपीमा जिएफएफबी खरिदको कूल लागत २० लाख रुपैयाँमध्ये सुपर जोनले १० लाख र कर्मा समूहले १० लाख रुपैंया व्यहोरेका छन् । साप्ताहिक रुपमा जिएफएफबी छर्कने कामदारको ज्याला र खाजा सुपरजोनले उपलब्ध गराएको छ भने कर्माले बेट छर्कने स्प्रेयर र सुरक्षात्मक पहिरन (मास्क, ग्लोब्स र एप्रोन)हरु  उपलब्ध गराएको छ। 

प्रकाशित: २० श्रावण २०७५ ०५:५२ आइतबार

किसानको बगैंचामै पुगेर चिनियाँ वैज्ञानिकले सल्लाह दिए