अर्थ

पर्यटनमन्त्रीको योजना : पाँच वर्षभित्र वायुसेवा निगमसँग २१ जहाज

सिंहदरवारमा आयोजित अन्तरक्रिया। तस्बिर : सुजन श्रेष्ठ

काठमाडौं – संकृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको क्षमता अझै विस्तार गर्ने योजना बनाएको छ। पाँच वर्षभित्र निगमले ६ वटा अन्तर्राष्ट्रिय र १५ वटा आन्तरिक उडान भर्ने जहाज पुर्‍याउने मन्त्रालयले जनाएको हो। 

सन् २०२० लाई नेपाल पर्यटन वर्षको रुपमा मनाउने घोषणा गरिसकिएकामा त्यसका लक्ष्य प्राप्तिका लागि अपनाउनु पर्ने कार्यदिशा तय गर्न पर्यटन मन्त्रालयले बिहीबार प्रदेश, संघ र अन्य सरोकारवाला निकायसँग अन्तरक्रिया गरेको छ। छलफलमा मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायले ‘नेपालमा पर्यटन क्षेत्रको विकासको पाँच बर्षे कार्यदिशा सार्वजनिक गर्दै अन्तर्राष्ट्रिय उडान भर्न निगमको आफ्नै १० वटा र आन्तरिक उडानका लागि १५ जहाज पुर्‍याउने बताएका हुन्। 

नेपाल वायु सेवा निगमसँग हाल १३ जहाज छन्। जसमा ५ जहाजले अन्तर्राष्ट्रिय र ८ साना जहाज आन्तरिक उडान भर्दै आएका छन्। जहाज थपेर नेपालको अन्तर्राष्ट्रिय हवाई व्यापारको ६० प्रतिशत हिस्सा ग्रहण गर्ने लक्ष्य मन्त्रालयको छ। त्यस्तै आन्तरिक उडानबाट दुर्गम तथा ग्रामीण क्षेत्रका जनतालाई सहुलियत दरमा नियमित सेवा प्रदान गर्ने मन्त्रालयको गृहकार्य छ।

 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान क्षमता र जहाज पार्किङ क्षमता दोब्बर बनाउने पनि उपाध्यायले जनाए। पाँच वर्षे कार्यदिशामा मन्त्रालयले पर्यटन विकासका लागि सातै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको एक÷एक वटा विमानस्थल निर्माण गरिसक्ने, प्रयोगमा नआएका देशभरका विभानस्थलमा ‘एयर स्पोर्टर्स एक्टिभिटीजहरु’ गर्ने जनाएको छ। 

वार्षिक २० लाख पर्यटक भित्र्याउने लक्ष्य 

नेपाल भ्रमण वर्ष २०२०लाई सफल बनाउन कम्तीमा २० लाख पर्यटक भित्र्याउन लक्ष्य सरकारले राखेको हो। नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले यो लक्ष्य पूरा गराउने गरी नेपालको पर्यटन सुरक्षित, स्तरीय, आकर्षक र किफायती गन्तव्यको रुपमा अन्तर्राष्ट्रियस्तरमा पहिचान स्थापित गरिनुपर्ने औल्याए।

कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले चीनियाँ पर्यटक आगमन विस्तार गर्नुपर्नेमा जोड दिएका थिए। उनले १० वर्षमा ५० लाख पर्यटक भित्र्याउने र त्यसमध्ये चीनबाट ४० प्रतिशत पर्यटक भित्र्याउने आफूहरुको लक्ष्य रहेको बताए। उनका अनुसार भारतबाट २० प्रतिशत र बाँकी अन्य मुलुकबाट पर्यटक आउनेछन्। भारत र चीन आउने पर्यटक नेपाल भित्र्याउने सके अन्य मुलुकको ३० प्रतिशतको लक्ष्यलाई भेटाउन सकिने उनको भनाई थियो।  ‘हवाई पूर्वाधार विस्तार गरी दैनिक उडान सँख्या १सय पुर्याउनुपर्ने हुन्छ,’ खतिवडाले भने, ‘रेलमार्गबाट पनि वार्षिक १०–२० लाख पर्यटक भित्र्याउने सम्भावना छ।’
 छलफलमा उद्योगमन्त्री मातृका यादवले पर्यटकको सुरक्षा र सेवा गुणस्तरीयतामा  जोड दिएका थिए। ‘नयाँ बजार सिर्जना गर्नुपर्छ। जनकपुरजस्ता धार्मिकस्ललाई पर्यटकीय गन्तब्यका रुपमा विकास गर्नुपर्ने भनाई उनको थियो।  
पर्यटनमन्त्री रवीन्द्र अधिकारीले प्रदेश र स्थानीय तहसँग मिलेर नेपाल भ्रमण २०२० लाई सफल बनाइने बताए। उनले पयर्टन, सांस्कृतिक क्षेत्रको विकासका लागि मन्त्रालय ५ वर्षे योजनासहित अघि बढेको जानकारी गराएका थिए।कार्यक्रममा सातै प्रदेशका पर्यटनमन्त्रीहरु पनि सहभागी थिए। 

 

 

प्रकाशित: १७ श्रावण २०७५ १०:३६ बिहीबार

पर्यटनमन्त्रीको योजना वर्षभित्र वायुसेवा निगमसँग २१ जहाज