अर्थ

राजस्व संकलनमा वृद्धि

बाजुरा - जिल्लामा गएको आर्थिक वर्षमा राजस्व संकलनमा ४८ दशमलव ५२ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७४/७५ मा राजस्व संकलनमा ४८ दशमलव ५२ प्रतिशतले वृद्धि भएको जिल्ला कोष तथा लेखा नियन्त्रण कार्यालयलले जानकारी दिएको छ। 

बाजुराबाट गएको आर्थिक वर्षमा ७ करोड ८० लाख ४३ हजार ९ सय ५२ रुपैया राजस्व संकलन भएको कोष नियन्त्रक विष्णु दत्त जोशीले जानकारी दिए। यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा साढे २ करोडले वढी हो।

मदिराकाे अनुमति लिने ग्राहक र व्यक्तिगत बेरुजु फर्छ्याैटबाट राजस्व बढेको कोष नियन्त्रक जोशीले बताएका छन्। जिल्ला समन्वय समितिमा रहेको व्यक्तिगत बेरुजु फर्छ्याैट भएको र कोष तथा लेखा नियन्त्रण कार्यालयलबाट पनि राम्रो राजस्व संकलन हुँदा उल्लेख्य मात्रामा राजस्व वृद्धि भएको जोशीको भनाई छ।

जिल्लाका ४१ वटा कार्यालय र विभिन्न क्षेत्रबाट संकलन गरिएको मध्ये सबैभन्दा बढी कोष तथा लेखा नियन्त्रण कार्यालयबाट राजस्व संकलन भएको छ। कोष तथा लेखा नियन्त्रण कार्यालयलबाट मात्र विभिन्न आयकर तथा मदिरा करबाट ४ करोड ५६ लाख ५५ हजार ५७ रुपैया संकलन भएको छ। यस्तै जिल्ला समन्वय समितिबाट १ करोड २४ लाख ११ हजार ४ सय ७२ रुपैया संकलन भएको छ भने जिल्ला शिक्षा विकास तथा समन्वय इकाईबाट ६५ लाख ९८ हजार ७ सय ९९ रुपैया संकलन भएको छ। जडिबुटी निर्यातबाट पनि यो वर्ष बढी राजस्व संकलन भएको छ।

न्यून राजस्व संकलन हुने जिल्लाको सूचीमा रहेको बाजुरामा यो वर्ष सन्तोषजनक राजस्व संकलन गरिएको जिल्ला समन्वय समिति प्रमुख नरेन्द्र कुमार रोकायाले बताए।

प्रकाशित: १४ श्रावण २०७५ ०९:३४ सोमबार

राजस्व संकलनमा वृद्धि