अर्थ

अझै लोकप्रिय ‘पानीघट्ट’

रुविभ्याली गाउँपालिकाको तिप्लिङमा पानीघट्ट चलाउँदै महिला । तस्बिरः सरिता/नागरिक

धादिङ - प्रविधिको विकाससँगै आधुनिक घट्ट प्रयोगमा आएपनि परम्परागत पानीघट्टको लोकप्रियता घटेको छैन ।बिजुलीबत्ती पुगेका जिल्लाका अधिकांश स्थानमा पानीबाट चल्ने घट्ट विस्थापित भएका छन्।

तर, बिजुली नपुगेका ठाउँमा अझै परम्परागत पानीघट्ट लोकप्रिय छन् । रुविभ्याली गाउँपालिकास्थित तिप्लिङकी सर्जुमाया तामाङ घट्ट चलाएर गुजारा चलाउने गर्छिन् । ‘हाम्रो जस्तो बिजुलीबत्ती नपुगेको ठाउँमा यसको प्रचलन उत्तिकै लोकप्रिय छ,’ तामाङले भनिन्, ‘दिनभर मकै, कोदोलगायतको अन्न पिस्ने गर्छु । यसले नै जीविका धानिरहेको छ ।’ परापूर्वकालदेखि नै घट्टबाट पिसेको अन्नले दैनिक भान्सा पाक्ने गरेको तामाङ बताउँछिन्।

जिल्लाका अधिकांश ठाउँमा बिजुलीबत्ती, मोटर बाटोको सुविधा पुगेको छैन । पुगेका ठाउँमा पनि दैनिक जीवनको लागि अति आवश्यक पर्ने कुटानीपिसानीका आधुनिक मिल छैन । यसले गर्दा अझै पनि पानीघट्टमा नै आश्रित हुनुपरेको छ । स्थानीयले गाउँमा उत्पादन भएका अन्नबाली पिस्नको लागि खोला किनारमा पानीघट्ट बनाएर गुजारा चलाउँदै आएका छन् । दिनभरि लगाएर घट्टमा पालो पर्खेर फापर, गहुँ, मकै पिस्ने गरेको स्थानीयवासीको भनाइ छ ।
सहरबजारमा विद्युतीय सामानको प्रयोग बढ्दो छ । धान, चिउरा, पिठो पिस्न वा तेल पेल्न विद्युतीय मोटर जडित मिलको प्रयोग हुन्छ । ग्रामीण क्षेत्रका स्थानीयले भने पानीघट्टकै प्रयोग गरिरहेका छन् । ‘घट्टमा पिसेको पिठो आधुनिक मिलमा पिँधेको भन्दा खानमा स्वादिष्ट हुन्छ,’ तामाङले भनिन्, ‘त्यसैले यहाँका स्थानीयले समय लगाएरै भएपनि मकै, गहुँ, कोदो लगायतका अन्न घट्टमा नै पिस्ने गरेका छन् ।’ हरेकजसो गाउँमा एउटा पानीघट्ट रहेका छन्।  
दक्षिणी धादिङको बेनिघाट रोराङ गाउँपालिकास्थित चिम्बाङका बिर्खे चेपाङले वर्षौंदेखि पानीघट्ट चलाएरै आफ्नो जीविका धानिरहेका छन् । आर्थिकरूपमा विपन्न चेपाङ दम्पत्तिले पानीघट्ट सञ्चालन गरी परिवारका लागि साँझ बिहानको खाना जुटाउँदै आएका छन् । ‘अन्न पिसानी गर्दा पिस्न आउनले केही हिस्सा दिन्छन्,’ चेपाङले भने, ‘त्यही हिस्साले साँझ बिहानको छाक टार्दै आएका छौं ।’ घट्टमा पिसानीका लागि आउनेहरूले दिने पिठोेले चार महिना गुजारा चल्ने गरेको र बाँकी खानाका लागि पाखो बारीमा लगाइएको अन्नले धान्ने गरेको चेपाङ बताउँछन् । घट्ट चलाउने व्यक्तिलाई घटेरो भन्ने गरिन्छ । अन्न पिसेवापत घटेरोले त्यही अन्नबाट ज्याला निकालेर बिहान बेलुकाको छाक टार्ने गर्दछन् । त्यहाँ रहेका पानीघट्टमा कोदो, फापर, गहुँ, चामल, मकैलगायतका अन्न पिस्नको लागि आसपासका बस्तीदेखि मानिसहरु आउने गरेका छन् । धादिङको दक्षिणी क्षेत्रमा करिब ३० वटाभन्दा धेरै यस्ता पानीघट्ट छन्।

नेपाली जीवनशैलीमा आदिम कालदेखि स्थान पाएको पानीघट्ट चलाउन न बिजुली चाहिन्छ न त खर्चिलो भयो भनेर डराउनुपर्छ । पानीको फोहोराबाट यसलाई चलाउन सकिन्छ । खोलाको एउटा कुनाबाट कुलो खनेर पानी ल्याइन्छ । अलि अग्लो स्थानमा पुगेपछि काठको डुँड बनाएर पानी डुँडबाट खसालिन्छ । अनि तल काठकै भमरा (पानीले चल्ने मेसिन) जडान हुन्छ । भमराको माथिल्लोपट्टि मानीमा ठूलो ढुंगा कुँदेर बनाइएको गोलो घट्ट जोडिएको हुन्छ । पोथी घट्टलाई माटोमा टाँसेर राखिएको हुन्छ भने भाले घट्टलाई घुम्न मिल्ने बनाएर राखिएको हुन्छ । घट्टमाथि डोरीले चारतिर बाँधेर सोली झुन्ड्याइने गरेको चेपाङ बताउँछन्।

जब माथि डुँडबाट खसालेको पानीको दबाबले भमरा घुम्छ अनि घट्ट चल्न थाल्छ । सोलीको तल्लो भागमा काठको चरा (चरा आकारको काठ) जोडिएको हुन्छ जुन चराले घट्टलाई पनि छोएको हुन्छ । घट्ट घुम्दा त्यही चरा घट्टमाथि उफ्रन्छ । त्यसैको कम्पनले सोलीभित्र भएको अन्न घट्टको प्वालमा खस्छ र अन्न पिस्न थाल्छ । ‘पानीघट्टमा अन्न पिस्न इन्धन र बिजुलीको भर पर्नु पर्दैन,’ चेपाङले भने, ‘ऊर्जा र स्थानीयको समयसमेत बचत भएकाले अहिलेको आधुनिक युगमा पनि पानीघट्टको प्रयोगमा कमी आएको छैन ।’ घट्ट चलाउन न बिजुली चाहिन्छ न त खर्चिलो नै हुन्छ । स–साना खोलाको पानी कुलोमा ल्याइ करिब १० फिटको उचाइबाट फोहोरा गरी यसलाई चलाउन सकिन्छ ।

 

    

 

प्रकाशित: १४ श्रावण २०७५ ०१:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App