अर्थ

चुरा - पाेते बजारमा साउने राैनक

काठमाडौं - साउन  जारी रहेको र हिन्दु महिलाको पर्व तिज नजिकिँदै गएकोले काठमाडौं, इन्द्रचोकको पोते बजारमा निकै चहलपहल छ । सतुंगलबाट आएकी दुर्गा ज्ञवाली पोते बजारमा नौगेडी बनाउँदै गरेकी भेटिइन् । साउनदेखि तिज र दसैंसम्म लगाउन नौगेडी किन्न लागेको उनी बताउँछिन्।

१६ वर्षदेखि काठमाडौं बसिरहेकी उनी सधैं साउने सोमबारमा बुहारीसँगै ब्रत बसेर हरियो पहिरन लगाउँछिन् । ‘पहिलापहिला भर्खरका युवतीले लगाउने भए पनि अहिले अधबैंसेभन्दा बढी उमेरकाले समेत साउनमा हरियो लगाउन थालेका छन्,’ ज्ञवाली भन्छिन् । उनको घरमा सानी नातिनीले समेत हरियो चुरा लगाएकी छन्।

सुदूरपश्चिमबाट छोराछोरी भेट्न काठमाडौं आएकी ४७ वर्षीया पुष्पा नेपाली यही मौका छोपेर तिज र साउनको लागि नौगेडी बनाउन आएकी थिइन् । ‘पुरानो संस्कृति र रितीरिवाज बिर्सन हुँदैन । त्यसैले, आफूले जाने–बुझेदेखि नै तिजमा पनि निराहर ब्रत बस्ने गरेकी छु । साउनमा हरियो लुगा, चुरा, पोते मेहेन्दी लगाउँछु,’ उनले भनिन्।
पोखराकी प्रमिला थापा पनि इन्द्रचोकमा भेटिइन् । उनी त्यहाँ तिलहरीको लागि पोते तयार गराउँदै थिइन् । उनले साउन र तिजमा विदेश बसेका आफन्तलाई हरियो पोते उपहार पठाउने गरेको पनि सुनाइन् । ‘मलाई बच्चा बेलादेखि नै साउन र तिज एकदमै मनपर्छ,’ हरियो चुरा र मेहेन्दीमा सजिएकी उनले भनिन्, ‘रहरसँगै संस्कृति पछ्याएको पनि हो।’

धुम्बाराहीकी कुसुम पोखरेललाई साउन आउनेबित्तिकै रमाइलो लाग्न थाल्छ । चारैतिर हरियाली हुने भएकाले मौसम पनि रमाइलो हुने साउनको १ गते नै उनले हातमा मेहेन्दी र नाडीमा हरियो–पहेंलो चुरा लगाएकी थिइन् । उनी पनि इन्द्रचोकको पोते बजारमा तिलहरी बनाउँदै थिइन् । ‘विवाह भएको भर्खर दुई वर्ष भयो । पहिला दाजुभाइको लागि भनेर लगाउँथे, अहिले श्रीमान्, परिवार र दाजुभाइको लागि ब्रत बस्ने र मेहेन्दी लगाउने गर्छु,’ उनी बताउँछिन्।

युवा पुस्ताले धान्दै छन् पारिवारिक व्यवसाय
दुई वर्ष साउदी अरब बसेर नेपाल फर्किएका मुद्दिन मियाँ आफ्नो पुख्र्यौली व्यापारमा फर्के । एक आइसक्रिम कम्पनीमा काम गरिरहेका उनले घर–परिवारबाट टाढा भएर अरुको देशमा काम गर्नुभन्दा पुर्खाले चलाएको पोते व्यापारमा सघाउने निर्णय गरे।

पहिलेदेखि नै उनलाई यही काममा रुचि थियो । साथीभाइ, परिवारबाट टाढा खाडी मुलुकमा केही रमाइलो थिएन । ‘मन लागेर नै यो काम गरेको हो । यहाँ १२ महिनै पोतेको राम्रो व्यापार हुन्छ । तिज आउन लाग्दा व्यापार झन् बढ्छ । त्यस्तै, विवाहको लगनभन्दा महिना दिनअघि नै पोते तिलहरी बनाउने काम धेरै बढ्छ,’ मियाँ भन्छन् ।बागबजारमा घर भएका उनलाई कलेजमा अन्य विषय पढे पनि सानैदेखि पोेते व्यापारले नै आकर्षित गरेको थियो । अहिले उनी पारिवारिक व्यवासाय अघि बढाइरहेका छन् । सिजनको बेलामा दैनिक सात हजारसम्म कमाई हुने उनी बताउँछन्।

इन्द्रचोकको पोते बजारका सबैभन्दा पाका व्यापारी ७५ वर्षका सानोभाइ मुस्लिमले पछिल्लो २० वर्षमा काठमाडौंका मान्छे र जीवनशैलीमा धेरै परिवर्तन देखेका छन् । स्वयम्भु घर भएका उनको दुई छोरा र एक छोरीका गरी सात नातिनातिना छन् । अहिले उनलाई नातिले समेत व्यापारमा सघाइरहेका छन् । काठमाडौं बस्ने मानिसको जनसंख्या बढेसँगै नयाँनयाँ डिजाइनका पोते र तिलहरी लगाउनेको जमात बढेको उनी बताउँछन्।

साजिद उद्दिन उनका नाति हुन् । पोते व्यवसायमा फर्किनुअघि उनले ६ वर्ष कतारमा सेल्सम्यानको काम गरे । पछि उनलाई पनि परिवारसँग बसेर काम गर्न मन लाग्यो । ‘मनको शान्ति त्यहाँ छैन । मान्छे बाध्यताले जाँदो रहेछ । अवधि पूरा गर्नेबित्तिकै म फिर्ता आएँ । अहिले नाति र हजुरबुबा एउटै पसलमा बसेर पोते बनाउने र बेच्ने गर्छौं,’ उनी भन्छन् । व्यवस्थापनमा १२ कक्षा पास गरेका उनलाई पारिवारिक व्यापारमा रमाएर घर पुग्दा मनमा शान्ति मिल्छ । सिजनमा निकै राम्रो व्यापार हुने बताउने उनी मिलेसम्म यही पेसा अघि बढाउने सोचमा छन्।

पुस्ताअनुसार पोतेमा रुचि फरकफरक हुने भएकाले अहिलेको पुस्ताले विवाहको लागि झुप्पा पोते कम प्रयोग गर्ने निरज शाक्य बताउँछन् । आफ्नो बुबाले सुरु गरेको यो व्यापार सम्हालिरहेका उनलाई यो व्यापारको काम सिक्ने एक वर्ष लाग्यो । असनका स्थायी बासिन्दा शाक्यले सानैदेखि यो व्यापार नजिकबाट नियाल्दै आए र यसैमा लागे । तर उनी यसबाट सन्तुष्ट भने छैनन् । ‘थुप्रै सपना र योजना भएकाले पनि होला,’ उनी भन्छन्।

पोतेको अर्थतन्त्र
सामान्य अवस्थामा दैनिक पाँचदेखि १० हजारसम्मको कारोबार हुने पोते बजारको एउटा पसलमा तिज र विवाहको मौसममा व्यापार तीन गुणाले बढ्छ । यस्ता सिजनमा इन्द्रचोकस्थित पोतेबजारका करिब ४० पसलबाट दैनिक ३० हजारभन्दा बढीको पोते बिक्री हुने व्यापारी मुस्लिम बताउँछन् । विशेष गरी विवाहको सिजनमा व्यापक रुपमा बढ्ने पोतेको व्यापार त्यसपछि तिजमा नै बढ्ने उनले सुनाए ।

उक्त पोते बजारमा भदौ १ गतेदेखि नै दैनिक हजारौंको संंख्यामा ग्राहक देखिरहेको व्यवसायीले बताए । तिजको समयमा महिलाले आफूले लगाउन मात्र नभई अरुलाई उपहार दिन पनि पोते किन्ने गरेकाले व्यापार बढेको मुस्लिमको अनुमान छ । आफ्नो पसलमा अचेल दैनिक दुई सयभन्दा बढी ग्राहक पोते वा पोतेका लहरा किन्न आइरहेको उनले बताए ।‘विवाहको मौसमबाहेक अन्य बेला खास व्यापार हुँदैन । साउन लागेसँगै तिज पर्व पनि सुरु हुने भएकाले पोतेको व्यापार उल्लेख्य रुपमा बढ्ने गरेको छ,’ उनले भने । काठमाडौंमा बस्ने महिलाले केही वर्षसम्म नौगेडी, तिलहरीका लागि पोते किन्थे । अचेल अहिले धेरैजसो महिला ‘जन्तर’का लागि रातो पोते खोज्दै आउने गरेको उनले बताए।

मेहेन्दीको मौसम
साउन महिनामा ब्रत बस्दै हरियो चुरा, हरियो पहिरन र मेहन्दी लगाउने चलन निकै बढेको छ । हरियो पोतेको बिक्रीसँगै साउनमा मेहन्दीको व्यापार पनि बढ्छ । भर्खरका किशोरीदेखि युवतीसम्म, वर्षभरि गृहस्थीमा ब्यस्त हुने गृहिणीदेखि बूढेसकालमा टहलिरहेका बृद्घासम्म, सबै साउनमा हरियो चुरा र मेहन्दीमा रंगिन चाहन्छन् ।

काठमाडौंका बाटाबाटामा ‘कोन’ बोकेर बस्ने र हिँडिरहेका बटुवालाई ‘मेहेन्दी लाउने ?’ भन्दै सोध्नेहरु प्रशस्त भेटिन्छन् । यीमध्ये केही भारतबाट त केही तराईबाट आएका छन् ।बुबासँग १५ वर्षअघि नेपाल आएका शनि कुमार सिजनमा मेहन्दी लाउने काम गर्छन् भने अरुबेला कपडाको व्यापार ।मेहन्दी लगाउने काम उनका लागि बाध्यता मात्र होइन, रुचि पनि हो । सिजनमा उनले दैनिक हजारदेखि १५ सय रुपैयाँ सम्म कमाउँछन्।

भारतबाटै आएका चन्दन कुमार पनि अरु बेला कपडा बेच्छन् । यो सिजनमा मेहन्दी लगाइदिने गर्छन् । आठ कक्षासम्म पढेर यो काममा लागेका चन्दन मेहेन्दी लाउन घरघरसम्म पुग्ने गरेका छन् ।साउनमा मेहन्दी लाउनेको भिड बढ्ने कारणले कतिपय भारतीय नागरिक बिहारबाट नेपालसम्म आउने गरेको उनी बताउँछन् । पैसा वा अरु केही बाध्यताले पढाइ छोडेर यो पेस अँगाली परिवारको सहारा बन्नुपरे पनि उनीहरु आफ्नो बाध्यताका बारेमा भने खुल्न चाहँदैनन् ।

प्रकाशित: १४ श्रावण २०७५ ०१:१६ सोमबार

चुरा - पाेते बजारमा साउने राैनक