अर्थ

स्थानीयलाई आगामी साता तामाकोसीको सेयर

काठमाडौं - दोलखामा निर्माणाधीन स्वदेशी लगानीको सबैभन्दा ठूलो माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले प्रभावित जिल्लावासीका लागि आगामी साताबाट सेयर खुलाउने भएको छ।

आयोजनाले स्थानीयका लागि आगामी १६ गते बुधबारदेखि जारी गर्न लागेको एक करोड पाँच लाख कित्ता सेयर दोलखावासीले राजधानी र स्थानीय तहबाटै भर्न पाउने व्यवस्था गर्न लागेको हो । सेयर आवेदन गर्न पाउने समय एक महिना तोकिएको छ।

बिहीबार राजधानीमा आयोजना र द्यितोपत्र बोर्डका अधिकारी, प्रभावित जिल्लाका सांसद, पूर्व र बहालवाला जनप्रतिनिधिसहितको बैठकले देशभर छरिएर रहेका जिल्लावासीले सरल रुपले आवेदन गर्न पाउने गरी सेयर भर्ने प्रक्रिया खुकुलो बनाएको हो ।यसअघि आवेदन गर्न जिल्लामै जानुपर्ने व्यवस्था गरिएको थियो । बिहीबारको बैठकले सेयर आवेदन राजधानीबाट समेत गर्न पाउने व्यवस्था गरेको छ । राजधानीमा सनराइज बैंकमार्फत सेयर भर्न पाइने निर्णय गरिएको बैठकमा सहभागी दोलखा १ का प्रदेश सभा सांसद बिशाल खड्काले जानकारी दिए।

उनका अनुसार राजधानीमा रहेका सनराइजका सबै शाखामार्फत जिल्लावासी भएको प्रमाण पुग्ने कागजातसहित आवेदन गर्न पाइनेछ । स्थानीयका लागि जारी गरिएको सेयर स्थानीय तहमै गएर भर्नुपर्ने भन्दै यसअघि धितोपत्र बोर्डले कडाइ गरेको थियो । तर निर्माणमा ठेकेदारको लापरबाहीका कारण दोलखा जाने सडक अस्तव्यस्त रहेकाले राजधानीबाटै सेयर भर्ने व्यवस्था गर्न माग हुँदै आएको थियो ।यस्तै बिहीबारको बैठकले विदेशमा रहेका सबै दोलखालीलाई समेत सेयर भर्नका निम्ति सुविधायुक्त  उपाय अपनाउने निर्णय गरेको छ । त्यसका लागि डिम्याट खाता रहेकाहरुले विदेशबाटै भर्न पाउने र डिम्याट नभएकाहरुको सेयर आवेदन जिल्लामा रहेका परिवारका सदस्यले प्रमाण पु¥याएर भर्न पाउने व्यवस्था गरिएको सांसद खड्काले जानकारी दिए।

यस्तै दोलखाका चरिकोट, सिंगटी, मैनापोखरी, जिरी, मागादेउराली, किर्नेटार लगायत स्थानमा रहेका बैंकका २१ वटा शाखामार्फत सेयर भर्न पाइनेछ । बैठकले बैंक नभएका वडाहरुमा प्रशासनको उपस्थितिमा संकलन केन्द्र राख्नका लागि समेत आयोजनालाई आग्रह गर्ने निर्णय गरेको छ । यस्तै अति विकट गाउँहरुमा सेयर संकलन गर्न स्वयंसेवक परिचालन गरिने आयोजनाले जनाएको छ ।बैठकमा सहभागी शैलुङ गाउँपालिकाका प्रमुख भरत दुलालका अनुसार सेयर हाल्नका निम्ति सर्वसाधारणलाई दाेधार नहोस भनेर आयोजनाले १६ गते स्थानीय तहका सबै जनप्रतिनिधि, सरोकारवाला र सञ्चारकर्मीलाई भर्ने प्रक्रियाबारे प्रशिक्षणसमेत दिनेछ।

सेयर भर्दा दोलखावासी भएको प्रमाण जुट्ने कागजात आवश्यक पर्छ । त्यसका लागि जिल्ला प्रशासनबाट जारी भएको नागरिकता, जिल्ला बाहिरबाट विवाह भएर आएको महिलाको हकमा जिल्ला प्रशासन कार्यालय दोलखाबाटै जारी भएको नागरिकता वा सो नभए विवाह दर्ताको प्रमाणपत्र, नाबालकको हकमा नाबालक परिचय पत्र, अन्यत्र जिल्लाबाट दोलखा बसाइ सरेर आउनेहरुका हकमा आयोजना निर्माणको सम्झौता मिति २०६४ सालअघि बसाइ सरेको कागजात पेस गर्नुपर्नेछ।

स्थानीयलाई सेयर भर्नका निम्ति तीन वर्गमा विभाजन गरिएको छ । तर सबै जिल्लावासीले हाललाई न्यूनत्तम तीन हजार रुपैयाँ बराबरको ३० कित्तादेखि अधिकत्तम ३० हजार रुपैयाँ बराबरको तीन सय कित्तासम्म सेयर हाल्न पाउनेछन् । अति प्रभावित, प्रभावित र सामान्य प्रभावित गरेर तीन वर्गमा विभाजन गरिए पनि उक्त विभाजन सेयर भरेपछि बाँडफाँट गर्ने प्रक्रियाका लागि मात्र लागू हुनेछ ।

प्रकाशित: ११ श्रावण २०७५ ०३:१९ शुक्रबार

स्थानीयलाई आगामी साता तामाकोसीको सेयर