अर्थ

निगमको दोस्रो वाइड बडी जहाज साउन ११ गते काठमाडौँ आइपुग्ने

निगमकाे पहिलाे वाइड बडी जहाज ।

काठमाडौं - राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को ‘मकालु’ नाम राखिएको वाइड बढी विमान यही साउन ११ गते काठमाडौँ आइपुग्ने भएको छ। अहिले फ्रान्समा परीक्षण उडानमा रहेको सो विमान साउन ११ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तयारी गरिएको निगमले जनाएको छ।

‘नाइन एन एएलजेट’ कलसाइनको उक्त विमान नेपाल भित्र्याउने सम्पूर्ण तयारी पूरा भएको निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले जानकारी दिए। “दोस्रो वाइड बडी विमान भित्र्याउनकालागि निगमको एक समूह शुक्रबारनै फ्रान्स गइसकेको छ । निगमका महाप्रबन्धक सहितको टोली भोलि आइतबार त्यसतर्फ जाने तयारीमा छ”, श्रेष्ठले भने।

वाइड बडी ए ३३०–२०० सिरिजको उक्त विमान निर्माता कम्पनी फ्रान्सको तुलुज शहरबाट उडान भरी काठमाडौँ आउनेछ। निगमको पहिलो वाइड बढी ‘अन्नपूर्ण’ नामको विमान गत असार १४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो।

निगमको पहिलो वाइड बडी विमानले आगामी साउन १८ देखि कतारको दोहामा व्यावसायिक उडान शुरु गर्दैछ । दोस्रो विमान पनि हाललाई पुरानै गन्तव्यमा उडाइनेछ । पछि क्रमशः नयाँ गन्तव्यमा उडान भर्ने निगमको तयारी छ । दोस्रो वाइड बढी आएपछि आवश्यक सबै प्रक्रिया पूरा गरी व्यावसायिक रुपमा उडान गर्ने तयारी निगमकाे छ।

निगमले नयाँ वाइड बडी विमानबाट दक्षिण कोरिया, जापान, अस्ट्रेलिया, लण्डनजस्ता गन्तव्यमा उडान गर्ने योजना बनाएको प्रवक्ता श्रेष्ठले बताउनुभयो । हाल निगमले अन्तर्राष्ट्रिय उडानका आठ गन्तव्य भारतको नयाँदिल्ली, बेङ्लोर र मुम्बई तथा हङ्कङ, मलेसिया, थाइल्याण्ड, दोहा र दुबईमा उडान भर्दै आएको छ । रासस

प्रकाशित: ५ श्रावण २०७५ ११:२७ शनिबार

निगमको दोस्रो वाइड बडी जहाज ११ गते काठमाडौँ आइपुग्ने