अर्थ

आइटी पार्कमा अमेरिकी कम्पनी

बनेपा - काठमाडौं विश्वविद्यालय (केयू) सँगको सहकार्यमा अमेरिकी कम्पनी फ्रस्ट एन्ड सुलिभान (एफ एन्ड एस)ले मुलुककै एक्लो सूचना प्रविधि (आइटी) पार्कमा ‘डिजिटल हब’ सञ्चालन गर्ने भएको छ।

अमेरिकाको क्यालिफोर्नियामा मुख्यालय रहेको उक्त कम्पनीले नेपाल सरकारले अघि सारेको ‘समृद्ध नेपाल : सुखी नेपाली’ अभियानलाई सहयोग पुर्याउन ‘डिजिटल नेपाल’ अभियानसमेत थालेको छ । यसैअन्तर्गत पार्कमा ‘डिजिटल हब’ सुरु गर्न कम्पनीले केयूसँग समझदारी पत्रमा हस्ताक्षर गरिसकेको जनाएको छ ।‘केयू, नेपाल सरकार र कम्पनी मिलेर काम गर्दैछौं । डिजिटल नेपाल बनाउन आगामी पाँच वर्षभित्र डिजिटल इन्ट्रेप्रेनरसिपमा आधारित उद्यमी र कम्पनीलाई लगानीसहित यहाँ भिœयाउने लक्ष्य छ,’ कम्पनीका नेपाल प्रबन्ध निर्देशक मंगेशलाल श्रेष्ठले भने।

यस क्रममा गुगल, माइक्रोसफ्ट जस्ता अनेकौं प्रसिद्ध आइटी कम्पनीलाई आमन्त्रण गरिने उनको भनाइ छ । ‘डिजिटल हबमा हामी तत्कालै रिसर्च र इनोभेसन सेन्टर सुरु गर्दैछौं । साथै डिजिटल नेपाल फ्रेमवर्कको तयारीमा समेत जुट्नेछौं । अबका हाम्रा अनुसन्धान र विकासका कामहरु डिजिटल हबबाटै हुन्छ,’ श्रेष्ठले भने । केयू र कम्पनी मिलेर डाटा सेन्टरसमेत सञ्चालन गर्नेछन् ।५७ वर्षअघि अमेरिकामा स्थापना भई हाल ४० देशमा काम गरिरहेको एफ एन्ड एससँग केयूको सहकार्य हुनु डिजिटल नेपाल निर्माणमा ठूलो फड्को भएको कम्प्युटर विभागका एसोसियट प्रोफेसर डा. पुरुषोत्तम खरेलले बताए।

‘डिजिटल हबमा डाटा सेन्टर रहने नै भयो । त्यसबाहेक हामी पहिलो चरणमा ३० जना आइटी इन्जिनियर सहभागी गराएर एग्रिटेक, मेडिटेक र एजुटेकमा रिसर्च र डेभेलपमेन्टका काम अघि बढाउँदैछौं । त्यसपछि क्रमशः डिजिटल हेल्थ, ट्रान्सपोर्ट, इनर्जी, टुरिजम, डिजिटल इन्क्लुजन फर फाइनान्स र स्मार्ट सिटिजनमा काम र अवसर उपलब्ध गराउँछौं । यसका लागि सयौं जनशक्ति आवश्यक पर्नेछ,’ खरेलले थपे।

एफ एन्ड एस नेपालले यस अगावै नेपाली युवा उद्यमी मञ्चसँगको सहकार्यमा नेपाललाई खुला दिसामुक्त बनाउन ‘केस च्यालेन्ज डिजिटल आइडिया’ आह्वान गरेको प्रबन्ध निर्देशक श्रेष्ठले जानकारी दिए । ‘असुरक्षित सरसफाइका व्यवहारलाई कसरी प्रविधिको मद्दतले समाधान गर्न सकिन्छ भन्नेमा आइडियाहरु खोजेका हौं । यस्तै दिगो विकास लक्ष्य हासिलमा नागरिकको सहभागिता कसरी बढाउने भन्ने आइडिया पनि खोजिरहेका छौं,’ उनले भने । बेस्ट आइडियालाई आगामी अगस्टमा अवार्ड दिने पनि उनले जानकारी दिए ।अघिल्लो वर्षदेखि आइटी पार्कमा केयूले केइभी टेक्नोलोजिज कम्पनी स्थापना गरेर केयूबाट कम्प्युटर साइन्सेज र इन्जिनियरिङ गरेका विद्यार्थीलाई ‘बिजनेस स्टार्ट अप’का लागि सहयोग गर्दै आएको छ।

‘केयूको बिजनेस इन्क्युबेसन सेन्टर मातहत यो कम्पनी स्थापना भएको हो । फ्रेस ग्राजुएटले एक वर्षसम्म यहाँ रहेर व्यवसाय सञ्चालनका सबै सीप सिक्छन् । उनीहरुलाई केयूले स्टार्ट अपका लागि आर्थिक सहयोग पनि गर्ने गरेको छ,’ खरेलले भने । केही दिनभित्रै थप दुइटा स्टार्ट अप कम्पनी पनि पार्कमा सुरु हुने उनको भनाइ छ।पार्ककै बिजनेस ब्लकमा रहेर केयुले आइओटी रिसर्च ल्याबमार्फत ‘स्मार्ट सिटी’का विभिन्न क्षेत्रमा अनुसन्धान र विकास गरिरहेको छ । स्विजरल्यान्डबाट केही दिनमै ३० वटा सुपर कम्प्युटरहरु केयूमा आइपुग्दै रहेको खरेलले जानकारी दिए । ती सबैलाई पार्ककै अनुसन्धान तथा विकास केन्द्रमा जडान गरिनेछन्।

यस्तै, कोरियाको एनएस डेभिल कम्पनी लिमिटेड र त्यहीँकै चाङवन नेसनल युनिभर्सिटीसँगको सहकार्यमा पार्ककै ब्लकमा यु–लर्निङ तालिम तथा कक्षा १ देखि ७ सम्मका सामुदायिक विद्यालयका अंग्रेजी, नेपाली, विज्ञान र गणितका सामग्री विकास भइरहेका छन् । यस्तै, राजभात युनिभर्सिटी थाइल्यान्डको सहयोगमा बाढी पूर्वसूचना प्रणाली विकास गरी कमला नदी सिन्धुलीमा जडान भइसकेको छ।

सूचना प्रविधि पार्क सञ्चालन कार्यविधि, २०७२ अनुसार सूचना प्रविधि विभागले केयूलाई पार्कको भुइँ तल्ला र पहिलो तल्लाका दुईवटा ब्लक उपलब्ध गराएको हो । विभागले केयूलाई १० वर्षका लागि पार्कमा काम गर्न सहमति प्रदान गरेको छ । वर्क स्टेसन लगायत अन्य पूर्वाधारका लागि केयूले ३५ लाख रुपैयाँ खर्च गरिसकेको छ । ‘डिजिटल हब सुरु भएपछि हामीलाई थप ब्लक र खाली जमिन आवश्यक हुन सक्छ । यसका लागि हामीले विभागलाई अनुरोध गरेका छौं,’ खरेलले भने।

पार्कको व्यावसायिक भवनका तीनवटा ब्लकका लागि केयू र दुईवटा निजी कम्पनीसँग विभागको सम्झौता भए पनि अझै दुइटा ब्लक खाली छ । सरकारले १५ वर्षअघि काठमाडौंवाट ३० किलोमिटर परेको बनेपा–पनौती सडकको धनेश्वर क्षेत्रमा पार्क बनाएको हो । करिब १२ हेक्टर (दुई सय ३४) रोपनीमा फैलिएको आइटी पार्कभित्र प्रशासनिक, व्यापारिक र आवासीय भवन निर्माण भइसकेका छन् । विद्युत्, टेलिफोन, भिस्याट, खानेपानी, अप्टिकल फाइबर केबुलले पार्क जोडिएको छ ।  

 

प्रकाशित: ४ श्रावण २०७५ ०१:४८ शुक्रबार

आइटी पार्कमा अमेरिकी कम्पनी