अर्थ

औद्योगिक क्षेत्र स्थापनाको काम तिब्र

औद्योगिक क्षेत्र स्थापना हुने भनिएको डुँडेझारी फाँट। तस्वीरः योगेश/नागरिक

टीकापुर – लम्कीचुहा नगरपालिका–३ डुँडेझारीमा निर्माण हुने औद्योगिक क्षेत्रको काम तिब्र गतिमा अघि बढेको छ। करिव एक÷डेढ महिना भित्रै घोषणा गर्ने गरी काम भइरहेको बताइएको छ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन वातावरण मन्त्रालयमा पेश गरेको छ। लिमिटेडका सूचना अधिकारी भोजराज बिनाडीले मन्त्रालयले अनुमोदन गर्ने बित्तिकै औद्योगिक क्षेत्र स्थापनाको प्रकृया अघि बढ्ने बताए। उनले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) समेत तयारीको अन्तिम चरणमा रहेको जानकारी दिए।

‘ईआईए रिपोर्ट मन्त्रालयमा बुझाइसकेका छौं। डीपीआर अन्तिम चरणमा छ’, उनले भने, ‘ईआईए र डीपीआर हुने बित्तिकै औद्योगिक क्षेत्र स्थापनाको काम सुरु हुन्छ।’

औद्योगिक क्षेत्र स्थापनाको वातावरणीय प्रभाव मूल्याङ्कन र विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने जिम्मा ग्रीड कन्सल्टेन्सीले पाएको छ। उसले स्थलगत अध्ययन गरेर दुवै प्रतिवेदन तयार पारेको छ।

लिमिटेडले ईआईए र डीपीआर सार्वजनिक नहुँदै औद्योगिक क्षेत्रका लागि उद्योगीहरुलाई आकर्षित गर्ने गरी आशय पत्र प्रकाशन गरिसकेको छ। उद्योगीले आशय पत्रको आधारमा आफूले स्थापना गर्न चाहेको उद्योगका बारेमा लिमिटेडमा प्रस्ताव पेश गर्नुपर्नेछ।

‘हाम्रो माग के छ र उद्योगीले कस्तो खालको उद्योग स्थापना गर्न चाहन्छन भन्ने बारेमा सहयोग पुगोस् भन्ने उद्देश्यले यस्तो आशय पत्र प्रकाशन गरिएको हो’ नेपालगञ्ज औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख कृष्ण पुनले भने’, ‘यसले उद्योग छनौटमा सहयोग पुग्नेछ।’ यस औद्योगिक क्षेत्रको वस्तुस्थितिका बारेमा अध्ययन गर्ने जिम्मा लिमिटेडले नेपालगञ्जस्थित कार्यालयलाई जिम्मा दिएको छ ।

औद्योगिक क्षेत्र स्थापनाका लागि ७५० हेक्टर जमिन सिमाङ्कन गरिएको छ। यो पश्चिम धोबेनी खोलादेखी पूर्व नेपाली सेनाको ब्यारेकसम्मको डुँडेझारी फाँटमा फैलिनेछ। औद्योगिक क्षेत्रको दक्षिणतर्फ पूर्वपश्चिम राजमार्ग र उत्तरतर्फ चुरे पहाड रहनेछ।

डुँडेझारी फाँटको अधिकांश क्षेत्रमा रुख काट्नु नपर्ने भएका कारण पनि औद्योगिक क्षेत्र स्थापनामा सहज भएको लम्कीचुहा उद्योग वाणिज्य संघका अध्यक्ष पदमराज चौलागाँईले बताए। उनले औद्योगिक क्षेत्र स्थापनाको काम अघि बढेपछि उत्साह थपिएको जानकारी दिए।

‘हामी व्यवशायीहरुमा निकै उत्साह थपिएको छ,’ उनले भने, ‘औद्योगिक क्षेत्र हाम्रा लागि गौरवको विषय हो। जो चाँडै पूरा हुने आशा गरेका छौं।’

यो ७ नम्बर प्रदेशको सबैभन्दा ठूलो औद्योगिक क्षेत्र हो। यसले ५ नम्बर प्रदेश र कर्णाली प्रदेशलाई समेत छोएको छ। सरकारले कैलालीको दक्षिण पूर्वी क्षेत्र खक्रौलास्थित सत्ती छोटी भन्सार कार्यालयलाई मुख्य भन्सारका रुपमा स्तरोन्नती गरेपछि औद्योगिक क्षेत्रलाई झन सहयोग पुग्ने देखिएको छ। यो स्थान खक्रौलाबाट करिव २० किलोमिटर टाढा छ।

कैलालीकै श्रीपुर र कञ्चनपुरको दैजीमा समेत सरकारले औद्योगिक क्षेत्र स्थापना गर्ने घोषणा गरेको थियो। ती दुई ठाउँमा औद्योगिक क्षेत्र निर्माणको काम सन्तोषजनक ढंगले अघि बढ्न सकेको छैन।

प्रकाशित: ३२ असार २०७५ ०४:५८ सोमबार

औद्योगिक क्षेत्र स्थापनाको काम तिब्र