अर्थ

सडक बिस्तार र  कृषि खेती ठुलीभेरीनगरको प्राथमिकतामा

डोल्पा – डोल्पाको ठुलीभेरी नगरपालिकाको दोस्रो नगरसभाले आन्तरिक सडक बिस्तार र व्यवसायिक प्राङ्गारिक कृषि खेतीलाई पहिलो प्राथमिकतामा राख्दै आर्थिक वर्ष ०७५–०७६ को बजेट नीति तथा कार्यक्रम पारित गरेको छ।

नगरपालिका प्रमुख गणेशबहादुर शाहीले आर्थिक वर्ष ०७५–०७६ को लागि चालू र पुँजिगत तर्फ गरेर २८ करोड ९१ लाख ८५ हजार बराबरको प्रस्तावित बजेट प्रस्तुत गरेका हुन्। 

प्रस्तुत बजेट तथा नीति कार्यक्रममा आर्थिक वर्ष ०७५–०७६ कृषि क्षेत्रमा समृद्धिको इतिहास रच्ने आधार वर्षको रुपमा रहने बताउँदै एक घर एक फलफूल बगैचा अभियानको थालनी गरिने बताइएको छ।

नगरभित्रका प्रत्येक युवालाई कृषितर्फ आकर्षित गराउन सहुलियत ऋणको व्यवस्था, कृषकको सुरक्षाको लागि पशुसेवा बिमा र फलफूल कृषक बिमाको व्यवस्था गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ।

शहरी विकास तथा भौतिक पूर्वाधार नीति अन्तर्गत पहिलो प्राथमिकतामा आन्तरिक सडकको बिस्तार तथा स्तरोन्नती र सबै वडालाई सडक सञ्जालले जोडिने कार्यक्रममा उल्लेख छ।

यसैगरी उच्च शिक्षा हासिल गरेका युवाहरूलाई कम्तिमा एक वर्ष विद्यालयमा पढाउन प्रोत्साहन गर्न डोल्पा शिक्षा फेलोसिप शुरु गरिने, प्राविधिक, पर्यटन शिक्षा सहितको नमुना स्थानीय पाठ्यक्रम तयार गरिने, नगरभित्र प्याराफिट सहितको जिल्लास्तरीय खेलकुद मैदान निमार्ण नगरको प्राथमिकतामा राखिएको छ। त्यस्तै भेरीनदिमा र्याप्टिङ सेवा सहितको पर्यटकीय मार्गको विकासलाई अगाडि बढाइने बताइएको छ।

प्रकाशित: २७ असार २०७५ १४:३४ बुधबार

सडक बिस्तार र  कृषि खेती ठुलीभेरीनगरको प्राथमिकतामा